• ११ वैशाख २०८१, मङ्गलबार

नेपाली भूमिबाट विस्तारित बुद्धको आलोक

blog

बौद्ध दर्शन संसारका सबै वस्तु अनित्य एवं क्षणिक छन् भन्ने निरिश्वरवादी, अनात्मवादी दर्शन हो । बुद्ध दर्शनले तत्कालीन समयमा भारतीय उपमहाद्वीपमा व्यापक हलचल पैदा ग-यो । वैदिक दर्शन, धर्म, संस्कृति र चिन्तनको बोलवाला भएको समाज र संस्कृतिमा वैदिक यज्ञ, कर्मकाण्ड, पुरोहितवाद, वर्णाश्रम व्यवस्थाजस्ता विचार, व्यवहार र चिन्तनले जरा गाडेको र ईश्वर नै सबथोक भनिएको बेला वैदिक संस्कृति र आदर्शलाई चुनौती दिँदै तत्कालीन सत्तालाई प्रहार गर्नु सामान्य विषय थिएन ।

ब्रह्म आत्मा सत्य हो भन्ने मान्यताको विरुद्धमा संसारका हरेक वस्तु क्षणिक र अनित्य हो भन्ने चिन्तनको सुरुवात भयो । आर्यवत क्षेत्रमा गौतम बुद्धको उदयपश्चात् परम्परागत कट्टर वैदिक सनातन धर्म र संस्कृतिमा भुइँचालो नै गयो । ईश्वरीय सत्ता र वेदको नित्यतालाई अस्वीकार गर्नु अत्यन्तै जोखिमको यात्रा तय गर्नु थियो । बुद्धले मोलेको त्यो जोखिम नै आज संसारभर बौद्ध धर्म विस्तारित बन्नुको कारण हो ।

तत्कालीन कठोर वैदिक सभ्यताविरुद्ध सिद्धार्थ गौतमको त्यो हिम्मत नहुँदो हो त आज वैदिक सत्तालाई चुनौती दिने थुप्रै भौतिकवादी दर्शनको यो रूपमा विकास हुन सक्थ्यो/सक्दैनथ्यो, यसै भन्न सकिन्न तर पूर्वीय दर्शनमा बुद्धले जुन असजिलो यात्रा रोजे, त्यसले अप्रश्नीय वैदिक धर्म र संस्कृतिमा प्रश्न गर्न सिकायो । निर्विकल्प र सर्वशक्तिमान भनिएको ईश्वरीय शक्तिमा प्रमाणको खोजी गर्न थालियो । थुप्रै जिज्ञासा र कौतुहलताको सिर्जना र विकास भयो । ईश्वर छ÷छैनन् प्रमाणित भएको छैन तर प्रश्नात्मक बनेपछि मात्रै धेरै कुराको खोज र जानकारी मिल्छ भन्ने थाहा हुन पुग्यो । कुनै पनि ग्रन्थ स्वतः प्रमाण हुँदैन भनेर ईश्वरीय सत्ता र शक्तिलाई चुनौती गर्दै नयाँ ज्ञानको खोजीमा लागेर सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरेका हुन् । 

बुद्धले समस्त जीवन र जगत्मा फगत दुःख मात्रै देखे । त्यसैले दुःखको रहस्य पत्ता लगाउन र यसबाट मुक्त बन्न संसारिक मोहबाट अलग भई सन्न्यासी जीवन रोजे । दुःख निरोध गर्न अनन्त सुखको खोजीमा जीवन समर्पण गर्दै दरबारको भौतिक सुख त्याग गरेर सांसारिक सुखको खोजीमा आफूलाई समर्पित गरे । जसको फलस्वरूप बुद्ध दर्शन जन्मियो । उनले चार आर्य सत्यमार्फत आफ्नो ज्ञान र दर्शनको प्रचार गरेको पाइन्छ । संसारमा दुःख छ । दुःखको कारण छ । दुःखलाई हटाउन सकिन्छ । दुःख हटाउने उपाय छन् । मानिसमा अविद्या (अज्ञानता) नामको दुःख छ । बुद्धले परम्पारित वैदिक दर्शनको माया, मोक्ष र कर्मजस्ता विषयलाई छोडेर दुःख निवारण गर्नु नै मानव हित र कल्याणको मार्ग भनेर परिभाषित गर्दै तदनुकूल आचरण गर्न सुझाए ।

निर्वाण प्राप्तिलाई नै बौद्ध दर्शनमा दुःख निरोधको अवस्था भनेर बुझिन्छ । प्राणी हिंसा मन, वचन र कर्मले गर्न नहुने कुरामा जोड दिएको हुनाले बुद्ध दर्शन अहिंसावादी दर्शन, शान्तिवादी दर्शन हो । बुद्ध दर्शनको मूलभूत मान्यता शान्तिको कामना र दुःख निरोध हो । जीवन क्षणिक छ । प्रत्यित्य समुत्पादका रूपमा जीवनलाई हेरिन्छ, जसले कुनै पनि वस्तु वा घटनाको उत्पत्ति अर्को कुनै वस्तु वा घटनाबाट हुन्छ भन्ने मान्यता राख्दछ । म, मेरो, आफू, आत्मा आदि भनेर अल्झिरहने वाद नै आत्मवाद हो । आत्मवादमा अलमलिइरहेसम्म मानिस दुःखको भुमरीबाट कहिल्यै मुक्त हुँदैन भनी बुद्ध अनात्मवादको कुरा गर्छन् ।

बुद्धले मनुष्यलाई पाँच स्कन्द रूप, वेदना, सङ्ज्ञा, संस्कार र विज्ञानको संयोग मानेका छन् । बुद्धका अनुसार चेतना मनुष्यको अस्तित्वमा निर्भर गर्दछ । त्यसकारण यसको नित्यता हुँदैन भन्दै अनित्यताको वकालत गरेका हुन् । बुद्ध ईश्वरमा विश्वास गर्दैनथे, त्यसैले उनको दर्शन निरिश्वरवाद हो । वैदिक ग्रन्थ स्वतः प्रमाण भन्ने अवधारणा र विश्वासलाई उनले अनिश्वरवादी भएका कारण नै खण्डन गर्दै अस्वीकार गरेका थिए । कुनै पनि वस्तु शाश्वत हुँदैन, प्रत्येक वस्तु प्रत्येक क्षण परिवर्तन भइरहेको हुन्छ । स्थिरता भ्रम मात्रै हो, त्यसैले जीवन प्रवाहमय छ । बुद्धवादले वर्तमान शरीरको अवधिमा मात्र सीमित गरेर नहेरी पूर्वकाल र भावी कालसँगसमेत जोडिएको एक प्रक्रियाका रूपमा हेरेको छ । जीवन कुनै आकस्मिक घटना होइन, वर्तमान जीवनमा पूर्वजन्म र पुनर्जन्मको पनि सम्बन्ध भएको स्वीकार गर्छ । 

बुद्ध दर्शन भौतिकवादी र द्वन्द्ववादी चिन्तनको प्रारम्भिक रूपमा रहेको देख्न सकिन्छ । त्यसैले बुद्धलाई तथागत सम्बोधन गरिन्छ । काम भोग, पुनर्जन्म, आत्माको नित्यत्वको दृष्टिसहित सम्पूर्ण आस्राव, तृष्णाबाट मुक्त बन्यो भने जीवनकालमा नै मान्छेले निर्वाण प्राप्त गर्दछ । निर्वाण शब्दद्वारा व्यक्त गर्न सकिने विषय नभएर बोध गरिने विषय मानिन्छ । तृष्णाको मलबाट जीवित प्रतीत्यसमुत्पन्नमा प्रवाहमान जीवनधाराको विच्छेद हुनासाथ निर्वाण हुन्छ । निर्वाणगत व्यक्ति विद्यमान शरीरमै रहेर कार्यरत भइरहन सक्छ । मृत्युपछि प्राप्त हुने निर्वाणलाई परिनिर्वाण भनिन्छ । वर्तमान विश्वको खोज जीवन हुँदै प्राप्त गर्ने निर्वाण हो । दुःख निवृत्ति हो हिंस्रक मनोवृत्तिको अन्त्य हो । शान्ति, भाइचारा, सहअस्तित्व र अहिंसाको माध्यमबाट मनुष्य चोलालाई सार्थक र परिणाममुखी तुल्याउनु हो ।

आत्मदमन र विलासिताको मध्यमार्ग हो– ‘सम्यक् पथ’, बुद्धको रोजाइमा सम्यक् पथ रह्यो । सिद्धार्थ गौतमलाई पूर्वानुस्मृति ज्ञान (पूर्वजन्मको कुरा थाहा पाउने ज्ञान) प्राप्त भएको मानिन्छ । छ वर्षसम्मको कठोर तपस्या र साधनापश्चात् ३५ वर्षको उमेरमा भारतको इलाहावादमा बोधी वृक्षको फेदमा बुद्धत्व प्राप्त गरेका हुन् । उनले सर्वप्रथम सारनाथमा आफ्ना पाँच जना मित्रलाई ‘धर्म चक्र प्रवर्तन’सम्बन्धी उपदेश दिएका थिए । त्यसै दिनबाट बौद्ध दर्शनको प्रारम्भ भएको मानिन्छ । 

आत्मा र आफू भन्ने धारणा अहङ्कार हो र यसले मानिसलाई म र मेरो भन्ने हानिकारक विचार जन्माउने हतियारका रूपमा बुद्धले परिभाषित गरेका छन् । राग, द्वेष, स्वार्थ, तृष्णा, घमण्ड, लोभ र लालचजस्ता नकारात्मक सोच तìव नै युद्ध र कलहका कारण हुन् । यिनको विसर्जन नै शान्तिको आगमन हो भनेर विश्वमा शान्तिको आह्वान गर्ने गौतम बुद्ध शान्तिका अग्रदूतको नामले सम्मानित छन् । 

बुद्धको चार आर्य सत्यमा दुःख हटाउने उपाय छन् । दुःख नाशका उपदेश र मार्ग नै मूलभूत दर्शन हो, जसलाई अष्टाङ्गिक मार्ग भनिन्छ । सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधिका मार्गबाट दुःख हटाउन सकिन्छ । राहुल सांस्कृत्यायनले बुद्धका अष्टाङ्गिक मार्गलाई प्रस्ट पार्न प्रज्ञा (ज्ञान), शील (आचार) र समाधि (योग)का सम्यक् अवलम्बनबाट दुःखको निरोध हुन्छ भनी बुद्धले भनेका छन् भन्ने धारणा व्यक्त गरेका छन् । 

संसार आज दुःखले आक्रान्त छ । हिंसाले व्यथित र भयभित छ । यस परिस्थितिमा बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति र सद्भावको मार्ग सबैका लागि उपयोगी देखिन्छ । सिद्धार्थ गौतम नेपालको कपिलवस्तु जिल्लामा ई.पू. ५६३ वर्षअघि अर्थात् २५६६ वर्षपहिले जन्मेर ८० वर्षको भौतिक जीवन व्यतीत गर्दै जीवन र जगत्का दुःख निरोधक यावत् उपाय सिकाएर ई.पू. ४८३ मा निर्वाण प्राप्त गरे । उनले नश्वर शरीर त्याग गरेको यतिका वर्षसम्म उनलाई विश्वले स्मरण गरिरहेको छ । जीवनपर्यन्त अर्थात् पृथ्वी रहुञ्जेल उनले दिएको दिव्य ज्ञान रहिरहनेछ । बुद्ध दर्शन नेपाललगायत भारत, चीन, श्रीलङ्का, भियतनाम, कोरिया, जापान, भुटान, कम्बोडिया, बर्मा, थाइल्यान्ड आदि देशमा फैलिएको छ र विश्वका अन्य देशमा पनि विस्तारित बन्दै छ ।

अस्वस्थ आणविक होडबाजी, विध्वंसात्मक अमानवीय प्रतिष्पर्धा र युद्धको चपेटामा रहेका युक्रेन र रसियाजस्ता देशलगायत विश्वमा बुद्धको शान्ति र अहिंसाको सन्देश अझ बुलन्द हुनुपर्ने देखिन्छ । अशान्तिको अँध्यारो सुरुङबाट मुक्त हुन, दुःखको भवसागरबाट पार पाउन बुद्धले आफ्नो जीवनमा ८४ हजार पटक जुन प्रवचन र शिक्षाको आलोक प्रदान गरे, त्यो सदैव सान्दर्भिक र प्रासङ्गिक छ । बुद्धले मान्छेको जात हुँदैन भने र मान्छे बराबरी हो भन्ने जुन समताको सन्देश दिए, सो आज पर्यन्त पालना भएको छैन । मान्छे जातको नाममा विभाजित छ, सानो र ठूलोको भ्रममा छ । छूत र अछूतमा विभक्त छ जसलाई तोड्नु बौद्धभूमि नेपालको आफ्नो पहिलो र अनिवार्य कर्तव्य हो । बुद्ध जन्मिएको नेपाललाई चिनाउन आवश्यक छ । बुद्ध दर्शनलाई मौलिक नेपाली दर्शनको दर्जा दिएर ब्रान्डिङ गर्नुपर्छ ।

बुद्ध दर्शनमा रहेका स्वतन्त्रता, मानवाधिकार, पेसागत हकहित, समानता र मानवीय मूल्य आधुनिक विश्वले स्वीकार गरेको तथ्य हो । विश्वमा यसको व्यापक प्रचारप्रसार गरी बुद्धको जन्मस्थलबारेको भ्रम चिर्नुपर्ने देखिएको छ । त्यसका लागि २०७० सालमा प्रधानमन्त्री स्व. सुशील कोइरालाले अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदा नेपालका साथै एसियाका भारत, बर्मा, श्रीलङ्का थाइल्यान्ड, हङकङ, मङ्गोलिया, भुटान र सिङ्गापुरलगायत देशलाई समेटेर बौद्ध 

परिपथको प्रस्ताव गरेको र त्यसलाई धेरै देशले समर्थन गरेको कुरा चर्चामा थियो । यी सबै विषय समेटेर नेपाललाई बौद्धमार्गीलगायत सबै शान्तिप्रिय मान्छेको तीर्थस्थलका रूपमा विकास गरी विश्वमा नेपाललाई बुद्धको नाम र विचारले चिनाउन भगीरथ प्रयत्न गर्ने अठोट सबै नेपाली र नीतिनिर्मातामा पलाओस् । बुद्ध जयन्ती २५६६ को अवसरमा विश्व शान्ति, भ्रातृत्व र अहिंसाका लागि सम्यक् प्रार्थना गरौँ । 



Author

सञ्जीव कार्की