• ११ पुस २०८१, बिहिबार

बोधिज्ञान र बुद्ध जयन्ती

blog

हालको कपिलवस्तु नेपाल र भारतको सीमा जोडिएको क्षेत्र हो । बेग्लै गणराज्यका रूपमा परिचित त्यसबेलाको कपिलवस्तु छिमेकी अरू राज्यभन्दा विकसित र प्रख्यात थियो । त्यहाँ गौतम गोत्र शाक्य कुल सूर्यवंशी क्षेत्रीहरूले शासन गर्दै आएका थिए । उनीहरूको राजधानी तिलौराकोट हाल नेपालतर्फ पर्छ । जहाँ उनीहरूको भव्य र विशाल दरबार थियो । जसको उत्खनन र संरक्षण नेपालले गरिरहेको छ । 

सिद्धार्थ कुमार अर्थात् गौतम बुद्धको समयमा त्यहाँका शासक शुद्धोधन थिए । उनका दुई रानी मायादेवी र प्रजापति गौतमी थिइन् । नातामा आफ्नै दिदीबहिनी उनीहरू नेपालकै देवदहका कोलीय वंशका थिए । सिद्धार्थ कुमारको जन्म शुद्धोदनका जेठी रानी मायादेवीका तर्फबाट इ.पु. ६२३ वैशाख पूर्णिमाको दिन लुम्बिनीमा भएको मानिएको छ ।

मायादेवी माइत जाने क्रममा लुम्बिनी वनको बाटो हुँदै आउँदा उनको जन्म भएको थियो । जुन अहिले नेपालमा नै पर्छ र यो विश्व सम्पदा सूचीमा पनि सूचीकृत भएको छ । बौद्ध ग्रन्थका अनुसार उनी जन्मेको सातौँ दिनमा आमा मायादेवी परलोक भएकी थिइन् र उनलाई हुर्काउने काम कान्छी आमा प्रजापति गौतमीले गरेकी थिइन् । 

तत्कालीन परम्पराअनुसार उनी जन्मेको पाँचौँ दिनमा विधिपूर्वक उनको नाम सिद्धार्थ नामकरण गरिएको थियो । ब्राह्मण र जोतिषीहरूले उनलाई पराकर्मी वा सिद्ध हुन सक्ने भविष्यवाणी गरेका थिए । उनको १६ वर्षको उमेरमा देवदहकी कन्या १६ वर्षीया यशोधरासँग विवाह गरिएको थियो । उनीहरूका २९ वर्षको उमेरमा एक छोरा राहुल जन्मेका थिए । त्यही वर्ष अर्थात् राउल जन्मेको सातौँ दिनका दिन सिद्धार्थले दरबारमा कसैलाई पत्तै नदिएर गृहत्याग गरेका थिए र उनी गया क्षेत्रमा पुगेका थिए । 

मानव जीवनमा हुने जन्म, मृत्यु, रोग, लोभ, तृष्णा आदिका विषयमा चिन्तित रहँदै त्यसको मुक्तिको मार्गमा भौँतारिएका सिद्धार्थले आफूले चढेर गएको घोडा कन्थक र सारथी छन्दकलाई बाटोबाटै कपिलवस्तु फर्काइदिएका थिए । उनले अनोमा नदीको किनारमा आफ्नो कपाल आफँैले काटी प्रवजित बनेका थिए । सुरुमा उनले साख्य दर्शन वैशेषिक दर्शनका पण्डितसँग ज्ञान र ध्यान प्राप्त गरेका थिए ।

उनलाई ती ज्ञान अपूर्ण लाग्यो र स्वयं आफँैले ज्ञान प्राप्त गर्न उनी उरुवेला जङ्गलतिर लागे । जहाँ उनले छ वर्षसम्म कठोर तपस्या गरे पनि आफूले चाहेको जस्तो ज्ञान प्राप्त हुन नसकेपछि त्यसलाई छोडिदिए र उरुवेला हालको बुद्धगयामा पुगेर पीपल वृक्षको फेदमा ध्यान मग्न भए । जहाँ उरुवेला गाउँकी सुजाता नामकी आइमाईले वृक्ष देवता ठानी क्षीर दान दिइन् र त्यही भोजन गरेपछि उनले वोधिज्ञान प्राप्त गरेर दुःखसँग जोडिएको चार आर्यसत्यलाई बुझेर बुद्ध बने ।

वैशाख पूर्णिमाको त्यस रात उनले पूर्वानुस्मृति ज्ञान, च्युत्योत्पति ज्ञान र आश्रवक्षय ज्ञान प्राप्त गरेका थिए । रातको तेस्रो पहरसम्ममा उनले बोधिज्ञान प्राप्त गरिसकेका थिए । त्यसैबेलादेखि उनी बसेको पीपलको रुखलाई बोधिवृक्ष भनियो । बुद्धले बोधिज्ञान प्राप्त गरेको सात हप्तासम्म बुद्धत्वमा आनन्दित भएर उनी त्यहीँ बसे । त्यसबेला तपस्सु र भल्लुक नामक दुई दाजुभाइले सत्तु र महको भोजन दान गरेका थिए ।

उनीहरू नै बुद्ध धर्मको शरणमा जाने प्रथम उपासक थिए । यतिखेर बुद्धको उमेर ३५ वर्ष भइसकेको थियो । त्यसपछि उनी वाराणसी हालको सारनाथतिर लागे । त्यसबेला उनको उपदेश सुन्न पाँच जना गृहत्यागी उपस्थित थिए र उनीहरू नै बुद्धका अनुयायी भिक्षु बनेका थिए । बुद्धले करिब ४५ वर्षसम्म भारत वर्षका विभिन्न स्थानमा उपदेश दिँदै बुद्ध धर्मलाई स्थापित गरी असी वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे । 

विभिन्न धर्मावलम्बीका लागि पूर्णिमाको दिनलाई धेरै पवित्र मान्ने शास्त्रीय परम्परा छ । विशेषगरी बौद्धहरूका लागि चन्द्रमासअनुसार वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धका महìवपूर्ण कार्यसँग सम्बन्धित भएकाले सर्वाधिक महìवका साथ लिइन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण यसै दिन भएको मानिन्छ । केही बौद्ध धर्मावलम्बी उनको र यशोधराको विवाह पनि यसै दिन भएको ठान्दछन् र बुद्ध कपिलवस्तु आउँदा छोरा राहुलले भिक्षका लस्करमा आफ्ना पिता को हुन् भनी आमासँग सोधनी गर्दा आमाले गाथा गाएको दिन पनि वैशाख पूर्णिमाकै दिन परेको थियो भन्ने गरिन्छ । 

हाल नेपाललगायत अधिकांश देशले संयुक्त राष्ट्रसङ्घले मान्यता दिएको मितिलाई नै आधार मानी राष्ट्रिय पर्वका रूपमा मनाउने र बिदासमेत दिने चलन छ । भारतमा यो औपचारिकता सन् १९५० तिर भएको थियो भने नेपालमा पनि सोही समयताका राजा त्रिभुवनले बौद्ध अनुयायीको जोडमा औपचारिकता दिलाएका थिए । यस दिन केही अन्य धर्मावलम्बी र जात जातिको वार्षिक देवाली पूजा हुने र बलि दिने प्रचलन पनि भएकाले राजा महेन्द्रले वि.सं. २०१२ को प्रजातन्त्र दिवसको दिन लुम्बिनी गएर बुद्ध जयन्तीको दिन काटमार एवं त्यस्ता वस्तुका बिक्री वितरण रोक्न आह्वान गरेका थिए र त्यसलाई पालना गर्दै आइएको थियो तर अहिले यो प्रचलन मिचिँदै गएको छ । 

बुद्ध जयन्तीका दिन बुद्ध जन्मस्थललगायत उनले ज्ञान प्राप्त गरेको, धर्मचक्र प्रवर्तन गरेको, महापरिनिर्वाण प्राप्त गरेका स्थानहरूमा सम्बन्धित पक्षद्वारा विभिन्न धार्मिक विधि र परम्पराअनुसार कार्यक्रम सम्पन्न गर्ने गरिन्छन् । बिहार, चैत्यलगायत विभिन्न बौद्ध तीर्थस्थलमा पूजापाठ र परिक्रमा गर्ने प्रचलन पनि चल्दै आएको छ । कतिपय स्थानमा बुद्धको मूर्ति वा प्रतिमालाई जात्राकै रूपमा मानी परिक्रमा गराउने प्रचलन पनि छ । नेपालको लुम्बिनी, स्वयम्भू, बौद्ध, नमोबुद्धलगायतका स्थानमा ठूलै मेला पनि लाग्दछ । काठमाडौँ उपत्यकामा नेवार समुदायले यस दिनलाई स्वयाँः पुन्ही अर्थात् पुष्प पूर्णिमा भनी पनि मान्दछन् । 

धार्मिक रूपमा यस दिन त्रिरत्न अर्थात् बुद्ध, धर्म र संघको शरणमा जानु, बौद्धगण वा भिक्षु भिक्षुणीलाई दान दिनु, दुःखी गरिबलाई खाद्य पदार्थ र वस्त्र दान गर्नु पनि उत्तम मानिन्छ । पञ्चशील, अष्टाङ्ग मार्गलगायतका महìवपूर्ण बुद्ध शिक्षामा समर्पित हुन प्रयत्न गर्नु अर्को महìवपूर्ण पक्ष मानिन्छ । बुद्ध जयन्तीका दिन बौद्धस्थल, बिहार, चैत्यमा र उपासक–उपासिकाहरूले आफ्नो घरमा पञ्च रङको ध्वजा फहराउने वा फेर्ने पनि गर्दछन् । आकाश, वायु, पानी, पृथ्वी र अग्निको प्रतीकका रूपमा निलो, सेतो, पहेँलो, कलेजी र रातो रङको बुद्ध ध्वजालाई पञ्च तìवको प्रतीकका रूपमा मानी शरीर वा वस्तुको निर्माण यसैबाट बन्दछ र अन्त्यमा यसैमा विलीन हुन्छ भन्ने मानिन्छ । 

भारतलगायतका सनातनीहरूले वैदिक धर्म संस्कृतिअनुसार सत्य विनायकको व्रत बस्ने र धर्मराजको पूजा पनि गर्दछन् । बौद्ध र सनातन धर्ममा केही सम्प्रदायमा अवतारवादको मान्यता सर्वसमर्थित छ । सनातन धर्मका महाभारत, गीता र केही पुराणमा बुद्धको प्रसङ्ग पनि छन् र बुद्धको प्रसङ्ग विष्णुको अवतारसँग पनि जोडिएका छन् । त्यसैले विष्णु भगवान्को विशेष दिनका रूपमा पनि यस दिनलाई मान्ने, मनाउने बुद्ध जयन्तीमा सहभागी हुने चलन पनि छ ।

विशेषगरी सिद्धार्थले ज्ञान प्रप्त गरेको बोधगयामा यस दिन बौद्ध र हिन्दु दुवै पवित्र तीर्थस्थल मानी पुग्दछन् तर बौद्ध ग्रन्थमा भने बुद्धलाई विष्णुको अवतारका रूपमा मानेको देखिँदैन । नेपालमा भने सनातन र बौद्धका कतिपय धार्मिक र सांस्कृतिक समन्वयको प्रचलन परम्परादेखि नै चल्दै आएकाले बुद्ध जयन्ती राष्ट्रिय रूपमा सबैको उत्तिकै सहभागितासाथ मनाउने गरेको देखिन्छ । 




Author

डा. उद्धव पुरी