• १३ वैशाख २०८१, बिहिबार

सगरमाथा आरोहण : मृत्युदर कम गर्न अध्ययन

blog

मीनराज भण्डारी

काठमाडौँ, जेठ १ गते । सर्वाेच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ । सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्य हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको नमुना सङ्कलन गरी अध्ययन र अनुसन्धान गर्न थालेको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अध्ययनले अति उच्च उचाइको वातावरणले मानिसको शरीरमा पार्ने प्रभाव र उक्त प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे तथ्य सार्वजनिक गर्ने विश्वास गरिएको छ । 

सङ्कलित नमुनाको तिब्बतको ल्हासास्थित एक अनुसन्धान संस्थामा अध्ययन गरिनेछ । नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित सगरमाथा क्षेत्रको वातावरण विश्लेषणका लागि चिनियाँ वैज्ञानिक टोलीले सङ्कलन गरेका नौ सिलिन्डर बरफ र हिउँको नमुना ल्हासास्थित चाइनिज एकेडेमी अफ साइन्सेजमा अध्ययन गर्न थालिएको छ ।

फरक–फरक तीनवटा नमुना सगरमाथाको चुचुरोबाट सङ्कलन गरिएका हुन् भने बाँकी छ नमुना सात हजार २८ मिटरको उचाइबाट लिइएको चाइना मिडिया समूहले उल्लेख गरेको छ । हिमाल आरोहणको क्षेत्रमा संसारको सबैभन्दा उच्च भूभागबाट यसरी नमुना लिएर अध्ययन गर्न थालिएको पहिलो पटक हो ।

१३ सदस्यीय आरोहण दलले गत साता सगरमाथाको सफल आरोहण गरी ती नमुना सङ्कलन गरेको चिनियाँ सञ्चार संस्थाले जनाएको छ । सङ्कलित सबै नमुना तिब्बत पठारभूमि अनुसन्धान केन्द्रको आइस कोर बैङ्कमा भण्डार गरिएको छ । अध्ययन र अनुसन्धानका लागि सङ्कलित नमुनाले विभिन्न युगका प्रतिनिधिमूलक घटनाको अध्ययन गर्न सहज हुने बताइएको छ ।

सङ्कलित सबै नमुना पगालेर पानी बनाइने र त्यसमा रहेका रासायनिक तŒवको विश्लेषण गरिनेछ । सङ्कलित नमुनाको अध्ययनले सगरमाथाको हिममण्डलबारे जानकारी दिनुका साथै त्यहाँको वातावरणीय संरक्षणको अवस्थाको पनि पुनः मूूल्याङ्कन गर्न नयाँ अन्तरदृष्टि प्रदान गर्ने विश्वास गरिएको छ । अध्ययनबाट सगरमाथा क्षेत्रको फरक–फरक उचाइका विशेषताबारे जानकारी मिल्ने अपेक्षा गरिएको छ ।

चीनले सगरमाथाको नयाँ र बृहत् वैज्ञानिक अनुसन्धान सर्वेक्षणका लागि दुई साताअगाडि २७० जना विज्ञलाई विभिन्न १६ समूहमा त्यसतर्फ पठाएको थियो । छिङ्हाई–तिब्बत पठारभूमिमा सन् २०१७ मा सुरु गरिएको वैज्ञानिक अनुसन्धान सर्वेक्षणलाई निरन्तरता दिँदै दोस्रो चरणमा विभिन्न क्षेत्रका विज्ञसहितको टोली सगरमाथातर्फ पठाएको हो । 

कलेज अफ इन्भारोमेन्टल साइन्स एन्ड इन्जिनियरिङ अफ पेकिङ युनिभर्सिटीका प्रमुख जु तोङको नेतृत्वमा २७ जना अनुसन्धानको टोलीले सगरमाथाको पाँच हजार २००, पाँच हजार ८००, छ हजार ३५० र आठ हजार ८४८ मिटरमा आरोहीको विभिन्न नमुना सङ्कलन गरेको छ ।

अनुसन्धानका क्रममा उक्त टोलीले रगत, पिसाब, खकार, रक्तचाप, नाडीको गति र छाला तथा अनुहारमा आएको परिर्वतनबारे समेत अध्ययन तथा नमुना सङ्कलन गरेको हो ।यस अध्ययनले छोटो समयका लागि जाने वा अति उच्च हिमाली क्षेत्रमा जाने काम गर्नेलाई देखिने स्वास्थ्यको समस्यालाई समाधान गर्न सघाउने विश्वास गरिएको छ । 

चीनले गरिरहेको उक्त अध्ययनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने नेपाल माउन्टनियरिङ एसोसिएसनका महासचिव कुलबहादुर गुरुङको विश्वास छ । नेपालले समेत सुरक्षित आरोहणका लागि मौसममा आधारित अत्याधुनिक स्वचालित मौसम उपकरण हिमालमा राख्न आवश्यक रहेको जनाउनुहुँदै उहाँले यस्ता अध्ययनको नतिजाले विश्वव्यापी वातावरण संरक्षणलाई प्रवद्र्वन गर्न ठूलो महत्त्व हुने बताउनुभयो ।