• १४ वैशाख २०८१, शुक्रबार

लुम्बिनी भ्रमणका आयाम

blog

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ गते लुम्बिनीको भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका रूपमा मोदीको यो पहिलो लुम्बिनी भ्रमण हो । भारतकै अग्रसरतामा भएको प्रधानमन्त्री देउवाको भ्रमणको केही समयभित्रै मोदीको नेपाल आगमनलाई सकारात्मक सन्देशका रूपमा लिनुपर्छ । यसले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा भएका आपसी समझदारी कार्यान्वयन हुने विश्वास चुलिएकोे छ ।

विश्वका बुद्धधर्मावलम्बीको आस्था र विश्वासको केन्द्र मानिने लुम्बिनीलाई महत्त्व दिएर हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण अर्थपूर्ण छ । बुद्धजयन्तीका अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा प्रधानमन्त्रीद्वयले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसले विश्वमा शान्तिको सुखद सन्देश जाने आम विश्वास छ ।

लुम्बिनीलाई संसारसँग जोड्न र पर्यटक आकर्षणको केन्द्र बनाउन हामीले पनि विशेष पहल गर्न जरुरी छ । मोदीको लुम्बिनी भ्रमणको सन्देश विश्वभरि नै सम्प्रेषण हुन्छ । जसले गर्दा नेपाल र लुम्बिनीबारे अन्तर्राष्ट्रिय जगत्मै ख्याति हुनेछ । शान्तिभूमिमा दुई देशका प्रधानमन्त्रीबीच हुने वार्ताले विश्वलाई नयाँ सन्देश छाड्ने अपेक्षा गरिएको छ ।

मोदीको यसअघिको पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर भ्रमणले नेपालको धार्मिक पर्यटनमा योगदान पुगेको थियो । लुम्बिनीमा हुने यो भ्रमणले पर्यटनमा थप योगदान पु¥याउने छ । यतिबेला शान्ति खल्बलिएका कारण विश्वमा सबैको मन अशान्त छ । हरेक परिवार अशान्त छ । शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्मभूमिमा आकर्षण बढ्नु खुसीको कुरा हो ।

मोदीको लुम्बिनी भ्रमण गर्ने चाहना धेरै अगाडिको हो । म भारतमा राजदूत भएर बस्दादेखि नै उहाँले लुम्बिनी भ्रमणबारे विशेष चासो व्यक्त गर्नुभएको थियो । बुद्धजयन्तीकै अवसर पारेर भ्रमण तय गरिएकाले मोदीलाई विशेष धन्यवाद दिनुपर्छ ।

मोदीको लुम्बिनी भ्रमणले शान्तिको सन्देश त दिने नै छ, सँगसँगै नेपाल–भारतबीचका समस्याबारेमा केन्द्रित हुनुपर्छ । सीमा विवाद, पानीको बहुउपयोग, खानेपानी र सिँचाइ, बाढी नियन्त्रणका प्रयास, भूमिको जलसतहलाई नियन्त्रित गर्ने, नेपालबाट जाने नदी र बर्खामा उत्पन्न हुने प्रकोपबारे पनि दुवै देशका प्रधानमन्त्रीबीच छलफल हुनुपर्छ । दुवै मुलुकले बेहोर्दै आएका समस्याबारे गम्भीर बन्नुपर्छ ।

भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सीमा समस्याबारे आजसम्म केही कुरा बोल्नुभएको छैन । लुम्बिनी भ्रमणपछि यसबारे भारतको दृष्टिकोण सार्वजनिक गर्नुहुने आम विश्वास छ । सीमा समस्या, पानीको उपयोग, नेपाली किसानले बेहोर्दै आएको रासायनिक मलको अभावजस्ता विषय पेचिलो बन्दै गएका छन् । यसले द्विपक्षीय सम्बन्धमा समेत खलल पु-याएको छ । नेपाली सामानले भारतमा बजार पाउन नसक्नु अर्को दुःखद पक्ष छँदै छ ।

यसअघिको केपी ओली सरकारका पालामा हाम्रो सम्बन्धमा चिसोपना आएको थियो । त्यसलाई सपार्न प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा बनेपछि पहल थालिएको हो । गएको महिना मात्रै देउवाको भारत भ्रमणले विश्वासको वातावरण तयार गरेको छ । नेपाली जनताको मनोभावना मोदीले राम्रैगरी बुझ्नुभएको छ । भारतको प्रशासन यन्त्रको दबाबमा परेकै कारण उहाँले खुलेर बोल्न सक्नुभएको छैन । संसारमै उदीयमान राष्ट्रको परिचय बनाएको भारतले छिमेकीलाई नै सन्तुष्ट राख्न सकेन भन्ने सन्देश अब मोदीले परिवर्तन गर्न आवश्यक छ ।

नेपाललाई हेर्ने भारतीय प्रशासनको दृष्टिकोणमा परिवर्तन ल्याई मोदीले नेपालप्रतिको आफ्नो दृष्टिकोण लुम्बिनीबाटै सार्वजनिक गर्नुपर्छ । मोदीजस्तो दूरदर्शी प्रधानमन्त्रीको पालामा विगतदेखिका झिनामसिना समस्या समाधानमा पहल गरिएन भने भोलि समस्या ज्युँका त्युँ रहनेछन्, जसले दुई देशबीचको सम्बन्ध कहिल्यै सुध्रिने छैन ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । त्यहाँबाट नेपालले भारतमा जहाज उडाउने रुट खोजेको छ । भारतले यसबारे मौखिक रूपमा सहमति जनाए पनि निर्णय प्रक्रियामा मौन देखिन्छ । नेपालले मागेअनुसार रुट परमिट उपलब्ध गराउने हो भने त्यसले भारतलाई पनि फाइदा हुनेछ । यसका लागि भारत र नेपाल मिलेर बुद्ध सर्किट पूरा गर्नुपर्छ । यसले नेपाल र भारतका पर्यटकको लुम्बिनी भ्रमण बढ्नेछ । जसले दुवै देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सक्छ ।

नेपाल र भारतीबीच धेरै क्षेत्रमा बहुआयामिक सम्बन्ध रहँदै आएको छ । संस्कृति मिल्दोजुल्दो छ । इतिहास र भूगोलको सम्बन्ध छ । यो सम्बन्धमा दरार पैदा गराएर दुई देशबीचको सम्बन्ध खल्बलिन दिनु हुँदैन । हामीबीचका मनमुटावले दुवै देशका जनताले दुःख पाउनु हुँदैन । नेपाल–भारत सम्बन्धमा फेरि हिजोको जस्तो अवरोध आउन नदिन दुवै देशको नेतृत्व गम्भीर हुन ढिला भइसकेको छ । 

नेपालले पनि भारतसँग आफ्ना कुरा सिधा र प्रस्टसँग राख्न सक्नुपर्छ । भारतको चाहना के हो ? राजनीतिक, आर्थिक, जलस्रोत र सुरक्षा स्वार्थभित्र के–के पर्छन् ? नेपालको स्वाभिमानमा आँच नआउने र आफ्नो स्वार्थलाई ध्यानमा राखेर भारतले चाहेको जायज स्वार्थ पूरा गर्न हामी तयार रहेको खुलस्त भन्न सक्नुपर्छ । यसका लागि नेपाल–भारत दुवैतिरबाट प्रयास हुनुपर्छ ।

हामीले पनि भारतसँग खोजेको के हो ? सम्बन्धलाई युगसुहाउँदो, गतिशील र स्थायी बनाउन हामीले के गर्न आवश्यक छ भन्ने स्पष्ट हुनुप-यो । यसका लागि सर्वप्रथम हामीबीच बहस र छलफल हुनुपर्छ । भारतसँग उत्पन्न सीमा विवादमा हाम्रो भूमिका र दृष्टिकोण के हो ? वर्षा लागेसँगै उत्पन्न हुने डुबान समस्या कसरी समाधान गर्ने ? ईपीजी प्रतिवेदन नबुझ्नुका कारण के हो ? सम्बन्धलाई यथावत् राख्ने कि गतिशील बनाउने भन्नेबारेमा दुवै देश स्पष्ट हुनुपर्छ ।

मेरो दृष्टिमा नेपालमा तीनवटा भारतीय स्वार्थ देखिन्छन्– सुरक्षा, आर्थिक र जलस्रोत । त्यो स्वार्थ पूरा गर्न भारत बढी सजग छ । साथै अहिले परिवेश फेरिएको छ । नेपाल र भारतबीच अब पुरातनवादी सोच र सम्बन्धले मात्रै काम गर्ने अवस्था छैन । सानो नै भए पनि सार्वभौम मुलुक नेपालले आफ्नो अलग अस्तित्व खोज्नैपर्छ । त्यसलाई भारतले पनि सकारात्मक रूपले नै लिनुपर्छ । 

लुम्बिनी यात्राका क्रममा प्रधानमन्त्रीद्वयबीच साझेदारी, ऊर्जा व्यापार र कनेक्टिभिटीजस्ता विषयमा छलफल हुने अनुमान गरिएको छ । अब ससाना समस्यामा अल्झिने बेला छैन । सीमालगायत विद्यमान समस्या नयाँ होइनन् । यो मिलाउन नसक्नु हाम्रै कूटनीतिक असफलता मात्र नभई विश्वासमा आएको सङ्कटको उपज पनि हो ।

नेपाली चाहन्छन्, मोदीको भ्रमणले अब नेपाल र भारतबीच कुनै विवाद छैन भन्ने सन्देश प्रवाह होस् । यसका लागि नेपालले पनि कूटनीतिक चातुर्यता देखाउनुपर्छ । भारतले पनि उदार चरित्र प्रदर्शन गर्ने हो भने दुई देशबीचका सम्बन्धमा रहेको चिसोपन हटेर जानेछन् । अब पनि समस्या समाधानमा ढिलाइ गर्ने हो भने भोलि समस्या झनै भयावह भएर जानेछन् । त्यसका लागि भारतले उदारभाव व्यक्त गर्नैपर्छ, किनकि ऊ ठूलो राष्ट्र हो । 

सीमा, डुबान समस्या र बढ्दो व्यापार घाटा कम गराउन दुवै मुलुक गम्भीर हुनुपर्छ । यसका लागि परिपक्व कूटनीति चाहिन्छ । हामीले पनि भारतलाई घच्घच्याइरहनुपर्छ । बोलीले मात्र होइन, व्यवहारबाटै सम्बन्धमा दरार आउन नदिन सचेत गराउनुपर्छ । भारतले दुवै सरकारले विश्वास गरेका प्रतिनिधि सम्मिलित ईपीजी प्रतिवेदन नबुझेका कारण पनि संशय पैदा भएको छ, जुन उसको आफ्नै सक्रियतामा बनाइएको हो । 

हामीले भारतसँगको परराष्ट्र र सुरक्षा नीति पनि परिभाषित गर्न जरुरी छ । दुई देशबीचका संवाद र सहमतिलाई आचारसंहिता बनाएर लिपिबद्ध गर्नुपर्छ । दुई देशका प्रधानमन्त्री वा मन्त्री बसेर एकान्त वार्ता गर्ने तर वार्तामा भएका कुराकानीलाई मेमोरीमा नराख्दा पनि नेपालले दुःख पाउँदै आएको छ ।

भारतले जुन तहको भए पनि नेपाली प्रतिनिधि मण्डलसँगको कुराकानी लिपिबद्ध गर्छ तर हामी गर्दैनौँ । यसो गर्न सकेको भए भारतको पनि कूटनीतिक सफलता÷असफलताको परीक्षण गर्न सहज हुने थियो । यसले गर्दा दुई देशबीचका सहमति कार्यान्वयनमा सधैँ किचलो हुने गरेको छ । यो अपरिपक्व कूटनीतिको ज्वलन्त उदाहरण हो । सहमति भएको विषयमा पनि सहमत गराउन नसक्नु हाम्रो कूटनीतिक असफलता हो ।

नेपालले भारतसँग के चाहन्छ, उसको अपेक्षा के हो भन्ने कुरा स्पष्ट भएन । हामी आफ्नो कुरा राख्न डराउँछौँ । जहाँ समस्या छन्, त्यहाँ मात्र समाधान खोजौँ भन्ने प्रवृत्तिले न भारतलाई फाइदा हुन्छ न त नेपाललाई । दुई देशको समस्याको समाधान प्याकेज डिल गरेर खोज्नुपर्छ । बुद्ध जन्मथलो कपिलवस्तुको नागरिकका हैसियतबाट मेरो अपेक्षा छ– मोदीको लुम्बिनी भ्रमण नेपाल–भारत समस्या समाधानमा कोसेढुङ्गा साबित हुनेछ । 

Author

दीपकुमार उपाध्याय