• ३ कात्तिक २०८१, शनिबार

साफ महिला फुटबल च्याम्पियन्सिप

भुटानमाथि नेपालको दबदबा समाप्त

blog

काठमाडौँ, कात्तिक ३ गते ।  साफ महिला फुटबल च्याम्पियन्सिप २०२४ मा नेपाल घरेलु मैदानमा शुक्रबार भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।  यस नतिजासँगै महिला फुटबलमा नेपालले भुटानमाथि बनाउँदै आएको दबदबा गुमाएको छ ।

विगतमा भुटान नेपालका लागि ‘मिठो केक’ को रूपमा रहँदै आएको थियो । दशरथ रङ्गशालामै भएको पछिल्लो संस्करणमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । यसै गरी सन् २०१४ र २०१६ मा नेपालले भुटानलाई समान ८–० ले पराजित गरेको थियो । सन् २०१९ मा नेपालमै भएका साफ च्याम्पियन्सिपमा भुटानविरुद्ध नेपाल ३–० ले विजयी भएको थियो तर यो संस्करणमा भुटानले नेपालसँग अङ्क खोसेको छ । त्यसैले भुटानका लागि यो खेल ऐतिहासिक बन्यो ।

नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को अनुपस्थिति खड्कियो । सावित्रा आबद्ध फ्रान्सेली क्लब अभान्ट ग्वेगाम्पल समयमै रिलिज नगरेपछि नेपालले भुटानविरुद्ध आफ्ना प्रमुख स्ट्राइकरविरुद्ध नै खेल्नुपरेको हो । यद्यपि चालु एन्फा महिला लिगमा सर्वाधिक गोलकर्ता रश्मिकुमारी घिसिङ, पछिल्लो संस्करणमै भुटानविरुद्धको खेलबाटै 

अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गर्ने अमिसा कार्की र सविता राना मगरको अग्रपङ्क्तिबाट गोलको अपेक्षा थियो तर भुटानको दृढ डिफेन्स लाइन र गोलकिपर सङ्गीता मोन्गरको पर्खाललाई नेपाली खेलाडीले नाघ्न सकेनन् । प्रशिक्षक राजेन्द्र तामाङले गोलको खोजीमा उत्तरार्धमा युएईको अबुधाबी कन्ट्री क्लबमा आबद्ध रेखा पौडेललाई मैदान छिराउनुभयो तर रखो पनि अन्तिम लक्ष्य भेद्ने पक्षमा कमजोर साबित हुनुभयो ।

खेलको १३ औँ मिनेटमा रश्मिले गोलपोस्टनजिकबाट गरेको प्रहारलाई गोलकिपर सङ्गीताले रोक्नुभएको थियो । चार मिनेटपछि सविताको ‘थ्रु’ पासमा प्रिति राईले गोल गर्ने अवसर गुमाउनुभयो । खेलको २६ औँ मिनेटमा सरु लिम्बूले गोलपोस्ट नजिकबाट हतारमा प्रहार गर्दा बलले गोलपोस्टको दिशा लिन सकेन । खेलको ५२ औँ मिनेटमा रेखाको प्रहारलाई डिफेन्डर छोडेनले गोलरेखाबाट ‘क्लियर’ गर्नुभयो । सात मिनेटपछि रेखाले करिब नौ गजबाट खुला प्रहारमा गोल गर्न सक्नुभएन । यसबिच ५५ औँ मिनेटमा प्रितिले गोलकिपरसँगको ‘वन भर्सेज वन’ का अवसरमा गोल गर्न सक्नुभएन । यसै गरी इन्जुरी समयमा सविताले डिबक्सबाट प्रहार गोलपोस्टमा लागेर फर्केपछि नेपाललाई भाग्यको पनि साथ मिलेन ।

खेल अवधिभर भुटानले नेपालको गोलपोस्टमा एक पटक पनि निशाना बनाउन सकेन तर रणनीतिक फुटबलमा नेपालभन्दा भुटान अगाडि रह्यो । खेलको अन्तिम २० मिनेटमा भुटानले पटक पटक राम्रो मुभ बनाएर नेपाललाई तर्साएको थियो । सो खेलमा भुटानकी गोलकिपर सङ्गिता प्लेअर अफ दी म्याच घोषित हुनुभयो । उहाँले पहिलो पटक नेपालालाई बराबरीमा रोकन सफल भएकोमा खुसी बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशिक्षकले भनेको रणनीति सबैले मैदानमा राम्रोसँग कार्यान्वन गर्ने प्रयास गर्‍यो र नेपाली दर्शकलाई बेवास्ता गर्दै आफ्नो खेलमा मात्र ध्यान केन्द्रित गरेकाले पनि सकारात्मक नतिजा आएको हो । नेपालले अब आफ्नो दोस्रो खेल कात्तिक ५ गते माल्दिभ्सविरुद्ध खेल्ने छ । सोही दिन भुटानले श्रीलङ्काको सामना गर्ने छ ।

श्रीलङ्काको विजयी सुरुवात

साफ महिला फुटबल च्याम्पियन्सिप २०२४ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो । सो खेलमा श्रीलङ्काकी इमसा अनुराधिनीले गरेको गोल निर्णायक बन्यो । खेलको १७ औँ मिनेटमा पिएम परेराले दिएको क्रसमा डिबक्सभित्र बिनानिगरानीमा रहेकी अनुराधिनीले हेड गोल गर्नुभएको हो । गोलकर्ता इमसा नै प्लेअर अफ दी म्याच घोषित हुनुभयो । इमसाको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । साफ महिला च्याम्पियन्सिपमा श्रीलङ्काको पछिल्लो जित माल्दिभ्सविरुद्ध नै थियो । सन् २०१९ मा नेपालको विराटनगरमा भएको पाँचौँ संस्करणमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले हराएको थियो । पछिल्लो संस्करणमा यी दुवै टिमले गोल गर्न सकेका थिएनन् ।