• १२ चैत २०८२, बिहिबार

तीन जना लागुऔषध सेवनकर्ता पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, चैत १२ गते ।
सप्तरी प्रहरीले लागु औषध मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जना एकै वडावासी हुन् । उनीहरू उपर अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार बुधबार साँझ करिब ७ बजे खड्क नगरपालिका–१०, फूलबरियास्थित सुन्दर चौधरीको घरमा लागु औषध सेवन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गरिएको थियो । सो क्रममा चौधरीको घरबाट प्रहरीले डाइजेपाम ११ एम्पुल, फेनरगन १० एम्पुल र बुप्रेनोर्फिन १२ एम्पुलसहित विभिन्न आइफोन ११ प्रो, रेड्मी नोट १४ प्रो र रियलमी नोट ७० प्रो मोबाइल सेटहरू बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

घटनास्थलबाट ३० वर्षीय सुन्दर चौधरीसहित, वडा नं. १० बेल्हाका २२ वर्षीय शुभास चौधरी र २१ वर्षीय राजाबाबु चौधरीलाई लागु औषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ पुरीले बताउनुभयो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागु औषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको र अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।