• ३ कात्तिक २०८१, शनिबार

‘नगरपालिका सामाजिक रूपान्तरणतिर उन्मुख छ’

blog

धनुषाको मध्यभागमा मिथिला बिहारी नगरपालिका पर्दछ । साबिकका तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी, अन्दुपट्टी, मिथिलेश्वर निकास, कजरा रमौल, भुतही पर्टेवा गाविस मिलेर बनेको यस नगरपालिकामा १० वटा वडा छन् । यहाँको प्रसिद्ध तीर्थस्थल मिथिला बिहारीकै नामबाट नगरपालिकाको नामकरण गरिएको छ । यहाँ विभिन्न जातजाति र किसानको बाहुल्य छ । स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई नगरप्रमुखमा निर्वाचित हुनुभएका राजेन्द्रप्रसाद यादवसँग गोरखापत्र दैनिकका ढल्केबर समाचारदाता विजयकुमार साहले गर्नुभएको कुराकानी :

यस वर्ष कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको काम अगाडि बढाइरहनुभएको छ ? 

चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको छु । सडक स्तरोन्नति, सरसफाइ, पर्यटन प्रवर्धनलगायत अरू विषयलाई पनि महìव दिएको छु । यसका साथै बाटो, खानेपानी र भौतिक पूर्वाधार निर्माणलगायत विकासको कामलाई सँगसँगै अगाडि बढाएको छु । हामीले कल्पना गरे अनुसार नगरपालिकाको बजेटले सबै विकास एकै पटक गर्न सम्भव छैन । त्यसका लागि प्रदेश र सङ्घीय सरकारको सहयोग चाहिन्छ । हामीले सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानीमा जनताको पहुँच वृद्धि गरेका छौँ । सबै वडालाई सडक सञ्जालसँग जोडेका छौँ । सिँचाइ योजना निर्माण, विद्यालयका भवन निर्माण भएका छन् । यस नगरपालिकालाई आर्थिक समृद्धि, सामाजिक रूपान्तरणतिर उन्मुख गराउन जोड दिएका छौँ । मौलिक कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदाको संरक्षण, व्यवसायको प्रवर्धन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । कृषि र पशुपालनलाई आधुनिकीकरण गर्दै किसानलाई व्यावसायिक बनाउने कामको थालनी भएको छ । नागरिकलाई स्थानीय सरकारको अनुभूति हुने गरी काम गरेका छौँ ।

शिक्षा क्षेत्रमा के के काम गर्नुभएको छ ?

यस पालिकामा १४ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये छ वटा मावि तहका थिए । यस वर्ष दुई वटा आधारभूत विद्यालयलाई मावि तहमा स्तरवृद्धि गरिएको छ । मावि तहको सङ्ख्या आठ पु-याएका छौँ । त्यसमध्ये तीन वटा विद्यालयमा यसै वर्षदेखि प्राविधिक शिक्षा सञ्चालन गरिएको छ । त्यसलगायत विद्यालयका भौतिक संरचना निर्माण, विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गरिएको छ । बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखेर हामीले पालिकाबाट गत आर्थिक वर्षमा तीन वटा विद्यालयमा पानी शुद्धीकरण गर्ने उपकरण जडान गरेका छौँ । बाँकी विद्यालयमा यस वर्ष व्यवस्थापन मिलाउँछौँ । स्वच्छ खानेपानी उपलब्ध गराउने हाम्रो नैतिक दायित्व हो ।  

छात्रवृत्ति नियमित वितरण नभएकोे र विद्यालयमा शिक्षक अभाव रहेको गुनासो सुनिन्छ नि ? 

छात्रवृत्ति वितरणमा समस्या थियो तर अहिले नियमित वितरण भइरहेको छ । केही दिनअघि मात्रै कजरा, रमौल र मिथिलेश्वर मौवाहीमा रहेका विद्यालयमा छात्रवृत्ति वितरण भएको छ । शिक्षक अभावको सन्दर्भमा भने विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको कमी छ । शिक्षकको अभाव पूर्ति गर्न पालिकाबाट तलब दिएर १४ जना शिक्षक भर्ना गरेका छौँ । यस वर्ष स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरेका छौँ । जहाँ विद्यार्थी सङ्ख्या बढी छ त्यहाँ शिक्षक कम छन्, जहाँ विद्यार्थी कम छ त्यहाँ शिक्षक बढी छन् । यसमा सुधार ल्याउन भर्खर नगर शिक्षा समिति गठन भएको छ । यस विषयमा शिक्षा समितिले अध्ययन र अनुगमन सुरु गरिरहेको छ । यसबाट केही हदसम्म शिक्षकको समस्यामा सुधार हुन्छ ।  

यहाँका जनता स्वास्थ्य सेवाबाट सन्तुष्ट छन् ? 

पक्कै सन्तुष्ट भएको हुनु पर्छ भन्ने हाम्रो विश्वास छ । हामी स्वास्थ्य सम्बन्धमा एकदमै संवेदनशील छौँ । पालिकाको १० वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । रोग पत्ता लगाउन प्रयोगशाला पनि सञ्चालनमा छ । त्यसै गरी एम्बुलेन्स सञ्चालनमा छ । एम्बुलेन्समा प्रसूति महिलालाई निःशुल्क सेवा दिइरहेका छौँ । आँखा उपचारको सेवा पनि पालिकाबाट दिइरहेका छौँ । तारापट्टी स्वास्थ्य केन्द्रमा यो सुविधा उपलब्ध छ । त्यसलगायत पालिकामा तीन वटा बर्थिङ सेन्टर स्थापना गर्ने योजना छ । त्यसमध्ये भुतही पटेर्वा र तारापट्टीमा गरी दुई ठाउँबाट सेवा दिन सुरु भइसकेको छ । अब ठेरामा बर्थिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको छ । सबैलाई पायक पर्ने तारापट्टीमा अल्ट्रासाउन्ड उपकरण पनि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । स्वास्थ्य चौकीमा औषधीको अभाव रहेको गुनासो सुन्नमा आएको छ । के भएको रहेछ त्यसको अनुगमन गरेर सुधार ल्याउँछौँ । 

सरसफाइ पनि त स्वास्थ्यसँग जोडिएको छ । बजार क्षेत्र धेरै फोहोर देखिन्छ नि ? 

वास्तवमा केही दिनपहिला तपाईंले भने जस्तो थियो । अब हामीले सरसफाइको काम सुरु गरिरहेका छौँ । ट्याक्टर, जेसिबी मेसिन र जनशक्ति परिचालन गरेर फोहोर व्यवस्थापनको काम भइरहेको छ । सबै वडामा सरसफाइको काम नियमित हुन्छ । केही दिनपछि तपाईंले यहाँ फोहोर देख्नुहुन्न । सफा र सुन्दर पालिका बनाउने लक्ष्य लिएका छौँ । त्यसमा स्थानीयको पनि सहयोग आवश्यक छ । 

यहाँको मिथिला बिहारी मन्दिर निकै प्रसिद्ध छ । धार्मिक पर्यटक भिœयाउन के काम गर्नुभयो ? 

मिथिला बिहारी मन्दिर हाम्रो धरोहर हो । १५ दिवसीय माध्यमिकी परिव्रmमा यसै स्थानबाट सुरु हुन्छ । मन्दिर दर्शन गर्न वार्षिक लाखौँ भक्तजन आउने गर्छन् । यसलाई व्यवस्थित तथा आकर्षित बनाउन लागिरहेका छौँ । धार्मिक पर्यटन भिœयाउन योजनास्वरूप काम भइरहेको छ । मन्दिर परिसर र वरपरका क्षेत्रलाई पर्यटनमैत्री बनाउन काम भइरहेको छ । बाहिरबाट आउने भक्तजनको बस्ने सुविधाका लागि दुईतले भवन निर्माण गरिएको छ । त्यसलगायत धार्मिक महìवका पर्शुराम तलाउको सौन्दर्यीकरण भएको छ । पर्यटकलाई आकर्षित गर्न तथा रमाइलोका लागि यो तलाउमा दुई वटा मोटरबोट राख्ने योजना छ । 

कृषि क्षेत्रको विकासलाई महìव दिनुभएको छ ?

अवश्य महìव दिएको छु । यहाँको जमिन खेतीका लागि योग्य छ । कृषि कर्म गर्ने किसानको सङ्ख्या बढ्दो छ । कृषि पेसालाई आधुनिकीकरण गर्दै कृषि उत्पादन वृद्धि गर्ने पालिकाको लक्ष्य छ । किसानलाई तालिम, बिउबिजन, कृषि उपकरणलगायतमा अनुदानको व्यवस्था मिलाएका छौँ । सिँचाइ सुविधाका लागि सानो ट्युबेल, इनार, डिप बोरिङको व्यवस्था मिलाएका छौँ । सिँचाइका लागि किसानका खेत खेतमा विद्युतीकरण गरिएको छ । म निर्वाचित भएर आएकै वर्षदेखि सम्पूर्ण किसानको सिँचाइ मिटरको विद्युत् महसुल पालिकाबाट तिरिदिने गरेका छौँ । किसानले विद्युत् बिल लिएर आउँछ, हामी भुक्तानी गर्न पैसा दिएर पठाउँछौँ तर अब किसानलाई बिल तिर्न आउन जान झन्झट नहोस् भनेर बुझाउने विद्युत् कार्यालयमा एकैचोटि भुक्तानी गरिदिने व्यवस्था मिलाउन लागेका छौँ । त्यसबाहेक किसानले छुट्टाछुट्टै विद्युत् मिटर राख्नु नपर्ने गरी ठाउँ ठाउँमा थोक कृषि मिटर जडान गर्न पहल भइरहेको छ ।