• १५ चैत २०८०, बिहिबार

स्वास्थ्य भवन बनेपछि सेवा प्रवाह सहज

blog

भोटराज राई
उदयपुर, वैशाख ३१ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१३ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनेपछि सेवा प्रभावमा सहजता आएको छ ।

वडाध्यक्ष पशुपती चौधरीले नयाँ भवन बनेपछि सोही भवनबाट स्वास्थ्य सेवा सञ्चालन भएको बताउनुभयो । नगरपालिकाको आफ्नै बजेटमा स्वास्थ्य भवन बनेपछि सेवा प्रभाहमा सहजता आएको हो ।

नगरपालिकाले हरेक वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य भवन निर्माणमा जोड दिएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

वडा सचिव भिमा राईकाअनुसार भवन चर्पी, बाथरुमसहित चारकोठे पक्की निर्माण भएको छ । सो भवनमा छुट्टै स्वास्थ्य शाखाको सेवाहरु सञ्चालन भएका छन् । विरामी चेकजाँच, औषधि भण्डारण, वितरण तथा अन्य उपकरण व्यवस्थापन राम्रो भएको छ ।

आफ्नो भवन नहुँदा वडा कार्यालयकै कोठाबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको थियो । साँधुरो र सिमित कोठाबाट सेवा प्रवाह गर्नुपर्दा कर्मचारी र सेवाग्राहीलाई समस्या थियो । भवनको उद्घाटन प्रमुख बलदेव चौधरीले एक कार्यक्रमकाबीच गर्नुभयो । प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि भवन अपरिहार्य ठहर गरेर नगरपालिकाले निर्माण गरेको प्रमुख चौधरीले बताउनुभयो ।

पालिकाको भौगोलिक हिसावले ठूलो सो वडाबासीलाई नयाँ भवनबाट प्रभावकारी सेवा मिलेपछि खुशियाली छाएको छ । वडा कार्यालयबाटै कम्तिमा आधारभूत स्वास्थ्य सेवा दिँदै आएको नगरपालिकाले आगामी दिनमा थप प्रविधिमैत्री बनाउँदै जाने जनाएको छ ।

नगरपालिकाले भवन बनाइदिनुका साथै आवश्यकीय स्वास्थ्य सामग्री तथा औजारहरु उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख युगप्रभा चौधरीले बताउनुभयो । ल्यावसहितको सेवा सञ्चालनमा आएको समेत चौधरीले बताउनुभयो ।