• १ कात्तिक २०८१, बिहिबार

व्यावसायिक बाख्रा पालनमा जम्दै ढालबहादुर

blog

ढालबहादुर बुढाको बाख्रा फर्म । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, कात्तिक १ गते । कपिलवस्तु बाणगंगा नगरपालिका –९ का ढालबहादुर बुढाले रहरले सुरु गरेको बाख्रा पालन व्यवसायबाट अहिले लाखौं आम्दानी गर्न सफल हुनुभएको छ । 

करिब तीन दशकअघि बागलुङबाट बाणगंगा बसाइँ सरेका बुढाले सुरुमा चाडपर्वका लागि मासुका लागि २ वटा बाख्रा पाल्नु भएको थियो । तर, २०७४ सालमा साना किसान सहकारी संस्था, भलवाडले व्यावसायिक रूपमा बाख्रा पालन गर्न प्रस्ताव गरेपछि उहाँको रहर व्यवसायमा आकर्षित भएको थियो ।  

बुढाले सहकारीबाट २ लाख ऋण लिएर व्यवसाय सुरु गर्नुभयो । २०७५ सालमा फर्म दर्ता गर्दै २० लाख लगानी गर्नुभयो । ३८ वटा माउ र २ वटा उन्नत जातका बोका खरिद गर्नुभयो । साथै, उहाँले आधुनिक खोर पनि निर्माण गरी खरी र जमुनापारी जातका बाख्रा पाल्न सुरु गर्नुभयो । बुढाले वर्षमै ६ लाख रुपियाँसम्म बचत गरेको बताउनुभयो ।

यो सिजनमा १५० वटासम्म बाख्रा पालेका थिए । चाडपर्वमा बिक्री भइ अहिले माउ र पाठापाठी गरी ५० वटा रहेका छन् । बुढाले स्थानीय सरकार र पशुविज्ञ केन्द्रबाट खोर मर्मत ३ लाख ५० हजार दाना बनाउने मेसिन, र बाख्रा जोख्ने तराजु ५० प्रतिशत अनुदानमा खरिद गर्नुभयो । 

त्यस्तै, बाणगंगा नगरपालिका –१० की पदमा लामिछानेले पनि बाख्रा पालनबाट राम्रो आम्दानी गर्नुभएको  छ । ६ वर्षअघि २ वटा माउ बाख्राबाट सुरु गरेकी लामिछानेको बाख्रा अहिले ५५ वटा पुगेका छन् । उहाँले सहकारीबाट १० लाख रुपियाँ ऋण लिएर खोर निर्माण र उन्नत जातको बोका खरिद गर्नुभएको हो । 

‘श्रीमान् विदेशमा हुनुहुन्छ । बाख्रा चराउन घरका सदस्यले सहयोग गर्दैआएका छन् । ग्रामीण बस्तीमा भएको कारणले बाख्रा बिरामी हुँदा उपचार गर्न समस्या पर्ने गरेको छ’ उहाँले भन्नुभयो । कपिलवस्तुका ग्रामीण क्षेत्र विशेषगरी वन क्षेत्रनजिकका बस्तीमा बाख्रा पालन व्यवसायप्रति चासो बढ्दै गएको छ । 

अहिले जिल्लामा जिउँदो बोकाको मूल्य प्रतिकिलो ५५० रुपियाँ रहेको छ, जसले गर्दा बाख्रा पालन किसानका लागि आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ ।