• ३० असोज २०८१, बुधबार

दुई दलको सहकार्यले राजनीतिक स्थायित्व : मन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज ३० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई दलको सहकार्य भएको र मुलुकमा स्थायित्व कायम भएको बताउनुभएको छ । 

रेडियो नेपालद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।वर्तमान सरकार  पुँजीगत खर्च गर्ने हैसियतको रहेको उहाँले बताउनुभयो । ‘कुनै पनि ठेकेदारले काम गरेबापत पैसा पाएन भन्ने गुनासो यो सरकारले आउन दिँदैन’ मन्त्री गुरुङले भन्नुभयो, “विकासको कामले रफ्तार लिएको छ, सरकारले इमान्दारितापूर्वक काम गरिरहेको छ ।”

दुई दलको सहकार्यमा सरकार बनेपछि विकास खर्च तीव्ररूपले भइरहेको भन्दै मन्त्री गुरुङले सरकारको काममा सहयोग गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभयो । जनतामा फैलिरहेको निराशालाई अन्त्य गर्न सरकार सक्षम रहेको उहाँको भनाइ छ । रातारात परिवर्तनभन्दा पनि क्रमशः परिणाम आउने उहाँले बताउनुभयो । समाजको द्वन्द्व व्यवस्थापन गर्नका लागि पनि समानता आवश्यक रहेको बताउनुभयो । 

रेडियो नेपालले असोज ३० देखि दनुवार भाषाको समाचार प्रसारण सुरु गरेको छ । सो कार्यक्रमको उद्घाटन मन्त्री गुरुङले गर्नुभएको कार्यकारी निर्देशक अमरध्वज लामाले बताउनुभयो । भाषा संरक्षणको अभियान रेडियो नेपालले राम्रो गरिरहेको उहाँले चर्चा गर्नुभयो । 


सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले रेडियो नेपालले समावेशी कार्यक्रम र समाचार बुलेटिन प्रसारण शुभारम्भ गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । आजदेखि दनुवार भाषाको कार्यक्रमको शुभारम्भ मन्त्री गुरुङले गर्नुभएको र यसले विविधताको पक्षमा भूमिका खेल्ने बताउनुभयो । विभिन्न भाषिक कार्यक्रमले रेडियोप्रति पाठकको अपनत्व बोध गराउने विश्वास व्यक्त गर्नुभयो । 

गोरखापत्रले ४४ भाषाको पृष्ठ प्रकाशन गरिरहेको, नेपाल टेलिभिजनले ७ भाषाको समाचार बुलेटिन र १४ कार्यक्रम गरिरहेको सचिव अर्यालले बताउनुभयो । त्यसैगरी राससले पनि पछिल्लो समय नेवारी र मैथिली भाषाको बुलेटिन सुरु गरेको उहाँले बताउनुभयो । सरकारी सञ्चार माध्यमले सुरु गरेको भाषिक कार्यक्रमले सबै समुदायलाई सरकारी सञ्चारमाध्यमप्रति आत्मबोध गराउने उहाँले चर्चा गर्नुभयो । 

मन्त्रालयका सचिव अर्यालको सभापतित्वमा भएको कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले दनुवार भाषामा रेडियो नेपालबाट समाचार र कार्यक्रम आउनु खुसीको कुरा भएको बताउनुभयो ।