• १२ वैशाख २०८१, बुधबार

भरतपुर महानगरमा मतगणना सुरु

blog

शालिग्राम नेपाल
चितवन, वैशाख ३१ गते ।
भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार मध्याह्नदेखि महानगरको वडा नम्बर १ को रामनगर मावि र आदिकवि भानु माविको केन्द्रबाट मतगणना सुरु भएको हो ।

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा तीन हजार २७७ मत खसेको छ । यहाँ पाँच हजार ७४ मतदाता सङ्ख्या थियो ।

भरतपुर महानगर प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)बाट विजय सुवेदी चुनावी मैदानमा हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा  एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

समग्र जिल्लामा ७४ दशमलब ०९ प्रतिशत मत खसेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार रत्ननगर नगरमा ३९ हजार ४११ मत खसेको छ । सो नगरमा कूल मतको  ७४ दशमलब ८६ प्रतिशत मत खसेको हो । यस  नगरमा ५२ हजार ६४२ जना मतदाता रहेका छन् । कालिका नगरमा भने दुई हजार ३५० मत अर्थात् ७८ दशमलब १५ प्रतिशत मत खसेको थियो ।

खैरहनी नगरमा ३२ हजार ३०० मत खसेको छ । यो कूल मतदाताको ७४ दशमलब २० प्रतिशत मत खसेको कार्कीले जानकारी दिनुभयो । सो पालिकामा ४३ हजार ५३१ मतदाता रहेका थिए ।

राप्ती नगरमा २९ हजार ७३७ मत अर्थात् ७३ दशमलब १५ प्रतिशत मत खसेको छ ।  यस पालिकामा ४० हजार ६४९ मतदाता रहेका छन् । माडी नगरमा २० हजार ४९६ मत खसेको छ । यस नगरपालिकामा कूल मतको ७२ दशमलब ३७ प्रतिशत मत खसेको हो । जहाँ २८ हजार ३२० मतदाता रहेका थिए । इच्छाकामना गाउँपालिकामा १२ हजार ९ मत खसेको छ । यो कूल मतदाताको ७६ दशमलब ८१ प्रतिशत मत हुन आउँछ  । जहाँ १५ हजार ६३४ मतदाता रहेका छन् ।

जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्रबाट मतदान भएको थियो । 

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा ७६ दशमलब ७१ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार  त्यतिबेला  भरतपुर महानगरपालिकामा ७५ दशमलब १२ प्रतिशत, राप्ती नगरपालिकामा ७७ दशमलब ३९ प्रतिशत, खैरहनी नगरपालिकामा ७५ दशमलब ३४ प्रतिशतमत खसेको थियो ।

यस्तै, रत्ननगर नगरपालिकामा ८० दशमलब ४१ प्रतिशत, कालिका नगरपालिकामा ८० दशमलब ७५ प्रतिशत, माडी नगरपालिकामा ७५ दशमलब ३० प्रतिशत र ईच्छाकामना गाउँपालिकामा ८० दशमलब २९ प्रतिशत मत खसेको थियो ।