• २४ असोज २०८१, बिहिबार

यात्रुवहाक फोर्स गाडी सल्यानमा दुर्घटना : १६ जना घाइते

blog

दुर्घटना भएको फोर्स गाडी ।

राजु लामिछाने

रुकुम पश्चिम, असोज २४ गते । नेपालगन्जबाट रुकुम पश्चिम आउँदै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका ३ गुरेलीखोलामा दुर्घटना हुँदा घाइते भएका मध्य तीन जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । 

उपचारका लागि चौरजहारी अस्पताल ल्याइएका मध्य तीन जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको हो । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको लु २ ख ५००२ नम्बरको फोर्स गाडी आज बिहान देवस्थल चौरजहारी भित्री सडक खण्डको गुरेलीखोलामा दुर्घटना परेको हो । 

इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार गाडीमा सवार २० जना यात्रु मध्य १७ जना घाइते भएका थिए । घाइते मध्य १६ जनालाई उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पठाइएकाे थियो भने एक जनालाई प्राथमिक उपचार पश्चात् घर जानुभएको थियो । 

अस्पतालमा पठाइएका मध्य तीन जनालाई रिफर गरिएको अस्पतालले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएका चौरजहारी नगरपालिका १ निवासी ३३ वर्षीय त्रिलोचन गिरी, सल्यानको कुमाख गाउँपालिका ३ निवासी २२ वर्षीय सन्तोष राना र सोही स्थानकी ३२ वर्षीया गीता बुढा लाई रिफर गरिएको हो । उहाँहरूको खुट्टा र निधारमा गम्भीर चोट रहेको बताइएको छ । 

प्रहरी निरीक्षक खड्काका अनुसार अन्य घाइते हुनेहरूमा सल्यानको कुमाख गाउँपालिका ३ निवासी ५५ वर्षीय वसन्त भारती, सोही स्थानकी ६० वर्षीया बसन्ता भारती, २२ वर्षीय पारस भारती, २३ वर्षीया सम्झना भारती, १५ वर्षीय विनोद नाथ योगी र १८ वर्षीया विनीता नाथ योगी रहेका छन् । 

त्यसै गरी कुमाख गाउँपालिका १ निवासी २८ वर्षीया विष्णु चन्द, ३४ वर्षीय घनश्याम केसी, १३ वर्षीया सलिना शाही, २१ वर्षीय दीपक नाथ योगी, कुमाख गाउँपालिका ६ निवासी २५ वर्षीय हरि सुनार, कुमाख गाउँपालिका ४ निवासी २० वर्षीया सुजाता बुढाथोकी र २० वर्षीया बिन्दु लामिछाने घाइते भएका छन् । 

गाडी चालक सल्यानको कुमाख गाउँपालिका ३ बस्ने २२ वर्षीय वसन्त बुढाथोकी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गाडिको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।