• २९ कात्तिक २०८१, बिहिबार

गाउँबाट हराउन थाल्यो पिङ

blog

रमेशकुमार बोगटी

कालीकोट, असोज २३ गते । नेपालीहरुको घरमा महान पर्व दसैँ बिहीबारदेखि सुरु भएको छ । घटस्थापनासँगै यस वर्षको दशैँ घर–घरमा प्रवेश गरेको छ । घटस्थापनाको सङ्घारमा कतिपय देवी देवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यक पर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । 

बजार र गाउँघरको चहल–पहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गरिसकेको छ । यद्यपि दसैँको पर्यायवाचीजस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । दसैँ प्रवेशको दिन घटस्थापना भइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार खासै देखिएको छैन ।  

नरहरिनाथ गाउँपालिका ५ का ९० वर्षीया ज्येष्ठ नागरिक अमरबहादुर सहकारीले पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बजारमा पाउने लठ्ठा, नभए बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो, अहिले भने गाउँघरमा पिङ (चइ) राख्ने त के दसैँको चहलपहल नै घट्दै जाँदा आफुलाई साह्रै दुःख लागेको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, “अहिलेका मान्छे टिभी, युटुब, फेसबुक, टिकटक लगायतका अन्य सामाजिक सञ्जालमा रमाउन थाले” सहरबजारका मानिसको दैनिकी पनि आफैंमा व्यस्त हुन्छ, तर गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको छ ।

शान्ति माध्यमिक विद्यालय रातिमाटा माल्कोटका शिक्षक भीमबहादुर सहकारीले विद्यालयले पनि विद्यार्थीलाई आफ्नो रीतिरिवाज, परम्परा, संस्कार संस्कृति संरक्षणको विषयमा सिकाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँका अनुसार पछिल्लो समय, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय लगायतका मौलक परम्परा हराउँदै जाँदा नेपालीको महान पर्वको महत्व पनि बिस्तारै हराउँदै गएको हुनाले स्थानीय सरकारले आफ्नो मौलिकता र परम्परालाई बचाइराख्न आवश्यक छ । 

खाँडाचक्र नगरपालिका –१ का धनबहादुर बटालाले पहिले पहिले गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नुअघि पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो हुन्थ्यो भन्नुभयो । बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुन्थ्यौ, वर्षौँसम्म पनि भेट नभएका साथीसँगी दसैमा पिङ खेल्ने ठाउँमा जम्मा हुने बहाना बन्थ्यो ।”

बालबालिकाको उत्साह उस्तै पनि हुन्थ्यो, अहिले पिङमात्र हराएनन् पिङसँगै दसैँको रमाइला दिन पनि हराएजस्तो लाग्न थाल्यो, उहाँले भन्नुभयो । नरहरिनाथ गाउँपालिका –९ का वडा अध्यक्ष प्रदीप बोहोराले अहिलेको युगको आफ्नो परम्पराभन्दा पनि सामाजिक सञ्जाल प्रभावकारी सूचना र सञ्चारको माध्यम बनेको हुनाले यसमा देखिने केही चुनौतीलाई सबै पक्षबाट व्यवस्थापन गर्न र सामाजिक सञ्जालको सही प्रयोग गर्नुपर्ने बताउनुभयो ।

अझ गाउँघरमा दशैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ । नेपाली संस्कृति बोकेको पिङ आफैमा गाउँघरबाट हराउने अवस्थामा पुगेको स्थानीयको चिन्ता छ ।