• २३ असोज २०८१, बुधबार

मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु

blog

खानेपानीमन्त्री प्रदीप यादव

काठमाडौं, असोज २२ गते । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ ।

मंगलवार मेलम्चीबाट काठमाडौं पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी वितरण गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

उहाँले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भने पनि अहिले मानिसहरुको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताउनु भयो । 

उहाँले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताउनु भयो । 

उहाँले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं उपत्यकामा आउने जनाउनु भयो । पानी ल्याउन धेरै चुनौति र कठिनाइ व्यहोर्नुपरेको भन्दै स्थानीयहरुको माग दशैँपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकावासीको जुन सपना थियो, हिमालको पानी, मेलम्चीबाट निस्किएको पानी खान पाउँछ र त्यसको लागि मेलम्ची विकास समितिले अर्बौं रुपैयाँ लगाएर ट्रनेल बनाएको थियो । शुद्ध खानेपानी काठमाडौंवासीलाई दिइरहेको थियो । तर २०७८ सालको बाढीले र पहिरोले गर्दा धेरै क्षति भयो । स्थानीयवासीको पनि अवरोध भयो । त्यसले गर्दा कहिले खुल्ने र कहिले बन्द हुने अवस्था भयो । वर्षाको कारणले गर्दा ४ महिना बन्द हुने स्थिति आयो । यो ४ महिनादेखि बन्द नै थियो । आज दशैँअघि प्रतिवद्धता गरेका थियौँ, पानी काठमाडौं पथान्तरण गर्ने त्यो वाचार पूरा गरेका छौँ । अब काठमाडौं उपत्यकावासीको घरघरमा यो पानी पुग्छ । त्यसको लागि केयुकेएललाई अनुरोध गरेका छौँ । सबै मोनिटर गरेर जनताको घरघरमा पानी वितरण गर्नुस् भनेका छौँ । यसमा १७ करोड लिटर पानी आउँछ । यो सबै काठमाडौं उपत्यकामा जान्छ । यो पानीले गर्दा खास गरेर काठमाडौं उपत्यकावासीको लागि कमसेकम दुई दिन बिराएर दिने योजना छ । मैले एक दिन बिराएर दिन आग्रह गरेको छु । पानी ल्याउन धेरै चुनौति र कठिनाइ भयो । हेलम्बुका प्रभावितहरु आन्दोलनमा थिए । स्थानीय जनप्रतिनिधिहरु आन्दोलनमा थिए । उहाँहरुसँग वार्ता गरेर, उहाँहरुलाई विश्वासमा लिएर पानी ल्याएका छौँ । अब अर्को वर्षात नआउन्जेल निरन्तर पानी आउँछ । आन्दोलन त उहाँहरुले आंशिक रुपमा स्थगित गर्नुभएको छ । उहाँहरुले माग पूरा भएन भने तीन महिनामै आन्दोलन गर्छौं भनेका छन् । उहाँहरुको जायज माग हामी दशैँपछि बोलाएर राय, सल्लाह लिएर गर्नसक्ने कुरा अघि बढाउँछौँ ।’

मन्त्री यादवसँग स्थानीयवासीले तीन महिनाभित्र मागहरु सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवले हेलम्बु र मेलम्चीवासीले आन्दोलन गर्नुपर्ने स्थिति आउन नदिने बताउनुभएको छ ।