• १४ वैशाख २०८१, शुक्रबार

जीवनयात्राको मीठो अनुभूति

blog

सुदर्शन अधिकारी

साहित्यकार सुधा भट्टराई ‘संस्मरण : यात्रा’ कृति लिएर पाठकसामु आउनुभएको छ । यो उहाँको दोस्रो कृति हो । यसभित्र उहाँले बाल्यकालदेखि हालसम्मका प्रमुख घटना, घुमघामका सम्झना सरल भाषामा रोचक तरिकाले प्रस्तुत गर्नुभएको छ । २००९ सालमा जन्मनुभएकी सुधाले पढाइको थालनी इलामको फिक्कलमा रहेको स्कुलबाट गर्नुभयो । त्यसबेला उहाँको परिवार जमिनदारको रूपमा चिनिन्थ्यो । 

सुधाको विवाह २०२८ सालमा भएको थियो । सत्र वर्षसम्म आफू खेलेको, हुर्के बढेको घर आँगनबाट बिदा हुनुपर्दाको क्षणले ज्यादा पीडा भएको अनुभूति उहाँले गर्नुभएको छ । उहाँ कक्षा ६ मा अध्ययन गर्दा गर्दै पढाइ छाड्नुपर्दा पनि निकै दुःखी हुनुभयो । यो दुःखको अनुभूति पाठकलाई सविस्तार वर्णन गर्नुभएको छ । उहाँको पहिलो सन्तानको जन्म २०३१ सालमा भयो । सुधाको श्रीमान् राजनीतिमा संलग्न भएकाले काम विशेषले बनारसमा बस्नु हुन्थ्यो । उहाँको श्रीमान्ले बनारसमा तरुण नामक पत्रिकाको सम्पादन गर्नुहुन्थ्यो । सुधा बाइस वर्ष हुँदा धेरै बिरामी हुनुभयो । यही कारण उहाँको वैतरणी दानसमेत गर्नुप¥यो । बाइस वर्षकै उमेरमा वैतरणी दान गर्नुपरेको घटनाले पाठकको मन भने खिन्न तुल्याउँछ । सुधालाई क्यान्सर भएको र यो रोग सहजै निको भएको रोचक घटनाले अचम्मित बनाएको प्रसङ्ग पनि समेटिएको छ । 

उहाँको शैक्षिक यात्रा पनि निकै अनौठो रहेको छ । उहाँले बीचमा नै पढाइ छाडे पनि पछि एमएसम्मको अध्ययन पूरा गर्न सफल हुनुभयो, तर एमए अध्ययनका क्रममा ज्यादै असहज अवस्थाको सामना गर्नुपरेको घटना सविस्तार वर्णन गरिएको छ । डिल्लीबजारबाट कीर्तिपूरसम्म पुग्नुपर्ने तर यातायातको सुविधा नभएको अवस्थामा अनेकौँ कठिनाइ भोग्दै दुई वर्ष लगातार धाएर पढाइ पूरा गरेरै छाड्नु भयो । 

स्नातकोत्तर पूरा भएपछि उहाँले शिक्षण पेसा अँगाल्नु भयो । उहाँले लगभग दुई दशक शिक्षण गर्नुभयो । सिद्धार्थ वनस्थली विद्यालयमा नेपाली विषय शिक्षणका क्रममा उहाँ मलेसिया पुग्न सफल भएको प्रसङ्ग पनि पुस्तकमा समेटिएको छ । श्रीमान्को राजनीतिक भेटघाटको प्रभाव सुधामा पनि परेको पाइन्छ । २०४६ सालको जनआन्दोनपछि श्रीमान् तुलसी भट्टराई साझा प्रकाशनको महाप्रबन्धक भएको घटनालाई रमाइलो तरिकाले समेटिएको छ । सुधाले पहिलो पटक रेलमा यात्रा गर्दाको क्षण निकै पीडादायी रहेको जसले पाठकलाई समेत दुःखित बनाउँछ । छोरीको विवाहसम्बन्धी विषय पनि ज्यादै मार्मिक र पाठकलाई कौतूहल जगाउने खालको छ । पहिले नै भेटघाट गरिसकेको केटासँग पुनः केटी हेर्ने समय मिलाउँदा छोरी निकै रिसाएको प्रसङ्ग ज्यादै रोचक छ । 

यसैगरी आमा र बुबाको निधनले टुहुरो बनाएको तीतो यथार्थतालाई सुधाले मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएको छ । २०६५ सालमा दमक जाँदा बसमा ठगिन पुगेको घटनालाई पनि देखाइएको छ । पाल्पाको गोष्ठीमा जाँदाको रोमान्चक घटनाले पाठक पनि रोमान्चित हुन्छन् । जीवनको परिभाषा नै मीठा र नमिठा घटनाको योग हो । सुधाले जीवनका अनेकौँ उकाली ओरालीको यात्रामा आफू सफल भएको देखाउनुभएको छ । चितवनको सौराहामा हात्तीमा सवार हुँदा भएको रमाइलो घटना र माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गरेको क्षणले निकै प्रफुल्ल बनाएको अनुभूति पनि कृतिमा समेटिएको छ । 

अनुभूतिलाई सरल भाषामा पस्किएको छ । पाठकलाई आकर्षित गर्ने कला उहाँमा पर्याप्त छ । लगभग तीन दशकसम्म कार्य गरेको विद्यालयबाट बिदाइ हुँदाको क्षणले पाठकलाई पनि भावविह्वल बनाउँछ । त्यसै गरी बहत्तर सालको भूकम्पले ज्यादै दुःखित बनाएको सन्दर्भ पनि जोडिएको छ । वनभोजको रमाइलो वातावरणमा रहेको बखत आएको त्यो कहालीलाग्दो भूकम्पले सबैलाई निकै त्रसित बनाएको पक्षलाई प्रस्तुत गरिएको छ । पाथीभरा मन्दिरको यात्राका क्रममा देखिएका मनोरम दृश्य, पहाड, हिमाल आदिको वर्णन गरिएको छ । एउटा शैक्षिक कार्यक्रममा मलेसियामा सहभागी हुँदा त्यहाँको सरसफाइ, अनुशासन, सुन्दरता आदि देखेर ज्यादै प्रभावित भएको तथा यिनै कारणले देशको विकास भएको निष्कर्ष पनि उहाँले निकाल्नु भएको छ । 

छोरीज्वाइँ क्यानडामा रहेकाले त्यहाँ पुग्दा त्यस देशको शिक्षा, सेवा, सुविधा, बेरोजगारी भत्ता, सुन्दरता, नागरिकको सुरक्षा आदिले मन छोएको वास्तविकतालाई पनि कृतिमा समेटिएको छ । त्यसैगरी कान्छी छोरी रहेको अस्टे«लियामा जाँदा देखिएको तास्मानियाको आइफल, ओपेरा हाउसलगायत स्थानको अवलोकनले रोमाञ्चित भएको सन्दर्भलाई उठाइएको छ । भानु जयन्तीमा भएको आसाम यात्रा अविस्मरणीय रहेको उल्लेख गरिएको छ । भान्छाको महिमा वर्णन गर्दै ‘अहो मेरो प्रिय भान्छा’ नामक शीर्षकमा बडो रमाइलो पाराले घर र माइतीमा भान्छामा घटेका घटनालाई मीठो तरिकाले पस्किएको छ । तरकारी डढेको, चिया उम्लेर गएको अनि ग्यासमा खाना बनाउँदाको सहजता आदिको वर्णन यहाँ गरिएको छ । समग्रमा भन्नुपर्दा सुधाको जीवन यात्राको संस्मरणमा कथा–व्यथा पस्किएको छ, स्वदेश तथा विदेश घुम्दाका रमाइला क्षण र रोचक जानकारी पस्किएको छ । पुस्तकको नाम ‘संस्मरण : यात्रा’ रहेकाले कुनै ठाउँ विशेषको यात्राको वर्णन हो कि भन्ने पाठकलाई लाग्न सक्छ तर कुनै ठाउँ विशेषको यात्रा नभएर जीवन यात्राको अनुभूति र घटनाहरू पुस्तकले समेटेको छ । ओरिएन्टल पब्लिकेसन, बागबजार प्रकाशक रहेको यस कृतिको मूल्य तीन सय रुपियाँ राखिएको छ ।