• २१ असोज २०८१, सोमबार

साझा मुद्दामा महिला एक ठाउँमा उभिनुपर्छ

blog

कार्यक्रममा सहभागी हुनुभएका महिला नेताहरु ।

काठमाडौँ, असोज २१ गते । महिला आन्दोलनका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन् ।सोमबार नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घ, नेकपा (एमाले) निकट अनेमसङ्घ र नेकपा (माओवादी केन्द्र) निकट अनेमसङ्घ क्रान्तिकारीले संयुक्त रूपमा काठमाडौँमा आयोजना गरेकाे सञ्चारकर्मीसँगको अन्तरक्रियात्मक कार्यक्रममा उनीहरूले सो सुझाव दिएका हुन् ।

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले विगतमा संविधान सभामा महिलाका साझा सवाल उठानका लागि ककस गठन भएको भन्नुहुँदै अहिले निर्वाचनसम्बन्धी एकीकृत विधेयक, संविधान संशोधन, महिलामाथि हुने विभेदका विधेयक लगायतका विषय साझा मुद्दाका रूपमा उठेको बताउनुभयो ।

उपाध्यायले भन्नुभयो, “अबको चुनावमा केन्द्र, प्रदेश र स्थानीय तहमा गठबन्धन हुँदा पनि महिला उम्मेदवार, समानुपातिकमा कम्तीमा दुई तिहाइको मर्म बुझाउनुपर्छ । संविधान संशोधनको विषय बाहिर आएको छ । समानुपातिक समावेशी हट्छ कि भन्ने छ, यसलाई अझ बुलन्द बनाउनुपर्ने हाम्रो आवाज हो । कतिपय महिलामाथि हुने विभेदको विधेयक साझा मुद्दा हुन सक्छ ।”

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले आउँदो कात्तिक ९ गते उपत्यकामा उपलब्ध सम्पूर्ण सभासद्सँग महिलाका साझा मुद्दा के के हुन सक्छन् भन्ने विषयमा विस्तृतमा छलफल हुन लागेको जानकारी दिनुभयो ।

डा. पाण्डलेले भन्नुभयो, “अहिले महिला आन्दोलनको विषय साझा हुन सक्छ कि सक्दैन ? निर्वाचनसम्बन्धि एकीकृत कानुन के भन्ने विषयमा हाम्रो सुझाव के छ ? मिसन ८४ मा ५० प्रतिशत महिला प्रतिस्पर्धामा जान पाउनुपर्छ भन्ने हो ।” अनेमसङ्घका अध्यक्ष टुका भद्र हमालले विधेयकको कानुन निर्माणका लागि सबै महिला सङ्गठनको संयुक्त दबाब आवश्यक रहेको बताउनुभयो ।

हमालले भन्नुभयो, “विधेयकलाई कानुन बनाउन दबाब दिनेदेखि अहिले आवश्यकता एकताबद्ध हुन जरुरी छ । हिंसाले विभिन्न रूप लिइरहेका छन् । यी सबै कुरालाई मध्यनजर गरी साझा सवालमा एक ठाउँमा उभिन आवश्यक छ ।”

यस्तै, अनेमसङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापाले अब महिलाले नेतृत्व लिनुपर्ने युगमा पुगेको भन्नुहुँदै नेतृत्व निर्माणको विषय मुख्य रूपमा उठेको बताउनुभयो । थापाले भन्नुभयो, “अबको युग महिलाले नेतृत्व लिने हो । नेतृत्व निर्माण कसरी गर्ने भनेर मुख्य बनेर गइरहेको सन्दर्भमा हामी एक भएर गइरहेका छौँ । नेतृत्व निर्माणमा कूटनीतिक नियोगदेखि सबैतिर कसरी नेतृत्व गर्ने भन्ने सवालमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने विषय छ ।” आजको दिनमा महिलालाई आरक्षण वा कोटामा मात्र सीमित राख्ने या प्रतिस्पर्धा जाने भन्ने विषय पनि तड्कारो रूपमा उठ्ने गरेको उहाँको भनाइ छ ।

यस्तै नेपाल महिला सङ्घका अध्यक्ष उषा राउतले महिलाका साझा सवालमा सबै एक भएर जानुपर्ने विषयमा जोड दिनुभयो । कार्यक्रममा, कांग्रेस सांसद सीता गुरुङ, संविधान सभा सदस्य सुनिलबाबु पन्त, सञ्चारिका समूहका पूर्व अध्यक्षद्वय निर्मला शर्मा र नितु पण्डितलगायत सहभागी हुनुहुन्थ्यो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।