• २१ असोज २०८१, सोमबार

चाडपर्व नजिकिएसँगै ग्रामीण सडक मर्मत

blog

गुणबहादुर रोका

सुलीकोट, असोज २१ गते । गोरखामा अविरल वर्षाका कारण भत्किएका ग्रामीण सडकहरू चाडपर्व नजिकिएसँगै धमाधम मर्मत हुन थालेका छन् । झण्डै ३ महिनादेखि सञ्चालनमा आउन नसकेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक अन्तर्गत खोर्लाबेशी देखि कालो दोभान भिरसम्म धार्चे गाउँपालिकाले सडक मर्मत गर्ने कार्य सम्पन्न गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।  

उत्तरी गोरखाको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकहरूमा अविरल वर्षाका कारण विभिन्न ठाउँमा ग्रामीण सडकहरू बाढी र पहिरोले सडक खण्डहरूमा ढुङ्गा, माटो र लेदोलो सडक नै बगाएपछि सवारी साधनहरू आवतजावत नै बन्द हुन पुगेको थियो । 

वर्षातका समय सकिएपछि धार्चे गाउँपालिकाको पहलमा उत्तरी गोरखावासीको मागलाई सम्बोधन गर्दै गाउँपालिकाले भत्किएका सडकहरू मर्मत सम्भार गरी सवारीसाधनहरू आवतजावतमा सहज बनाइएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरू जानका लागि सडक बाटो भएर जाने मुख्य सडक भएकाले पनि गाउँपालिकाको पहलमा सडक बाटो सुचारु गरिएको उहाँले बताउनुभयो । धार्चे गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम निरन्तर रूपमा चलिरहेकाले सडक भासिएको ठाउँमा नयाँ सडक खोली सडक बाटो सहज बनाई सवारीसाधन सञ्चालनमा ल्याएको धार्चे गाउँपालिकाले जनाएको छ । 

सडक मर्मत तथा सम्भार भएपछि सोमबार देखि सुचारु भएपछि  बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सम्म यात्रुवाहक सवारीसाधनामा कुनै समस्या नभएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । 

बर्खा लागेसँगै अवरुद्ध भएको सडक सोमबारदेखि सञ्चालनमा आएको छ, गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, “अब बेनी घाट-आरुघाट -लार्केभञ्ज्याङ सडक अन्तर्गत सडकहरूमा बस र अन्य सवारी साधन चल्ने सक्ने गरी बाटो मर्मत भएकाले धार्चेको कुनै पनि ग्रामीण सडकमा अवरुद्ध नभई सहज रूपमा सवारीसाधनहरू आवतजावत भइरहेको छ ।”

बर्खा सकिएसँगै नेपालीहरूको महान् चाड दसैँ र तिहारको लागि धार्चे गाउँपालिका भित्रका कच्ची सडकहरू मर्मत गर्ने कार्य सम्पन्न भएको धार्चे गाउँपालिकाले जनाएको छ । त्यस्तै गोरखाका ११ वटै स्थानीय तहहरूले पनि चाडपर्व नजिकिए सँगै धमाधम सडक बाटो मर्मत गरी सवारीसाधन सञ्चालनमा ल्याएका छन् ।