• १९ असोज २०८१, शनिबार

गाउँमै डेरा खोज्दै छन् बाढीपहिरोपीडित

blog

काभ्रेपलाञ्चोक, असोज १९ गते । सहकारीबाट लिएको ऋणले अटो चलाएर पाँच जनाको परिवारको लालनपालन गर्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ का कान्छा खत्रीको घर बाढीले पल्टाएको छ । उहाँ अटो पनि बगाएपछि पनौती बजार सरेर परिवार पाल्न कोठा खोजी रहनुभएको छ । असोज ११ गते आफ्नो एक तलाको पक्की घर र गरी खाने अटो पुरिएपछि खत्रीलाई दैनिकी धान्नै समस्या भइरहेको छ । 

उहाँले असह्य पीडा व्यक्त गर्दै भन्नुभयो, “बाढीले पल्टाएको घर अब कहिले बन्ला र ! कति दिनसम्म स्कुलमा बस्नु आफन्तसँग सरसापट गरेको पैसाले केही सामान किनेर डेरा खोज्न लागेका हौँ ।” स्थानीयवासी नवराज केसी पनि साढे दुई तलाको घर बाढीले भत्काएपछि पनौतीमा डेरा खोज्ने सुरसारमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “खोलाको बिचमा बस्न सकिँदैन ।  खोपासीतिर पुगेर कोठा खोज्दै छु ।” उहाँले असोज ११ गतेको बाढी आउँदा आफूसँग भएको एकसरो लुगाबाहेक सबै घरसँगै पुरिएको बताउनुभयो । उहाँले बाढी पहिरोपीडित बनेर आफ्नै गाउँमा डेरा खोज्नुपर्ने दिन आएको भन्दै पीडा व्यक्त गर्नुभयो । उहाँका अनुसार सडक र खोलाको सबै मापदण्ड छाडेर निर्माण गरेको घर पनि बाढीले पल्टाइदिएको छ । 

माया सुनारका तीन दाजुभाइका लहरै बनाएको चिटिक्कै पक्की घर बाढीले पुरिएपछि सुकुमवासी बन्नुभएको छ । उहाँहरूसँग लगाएको लुगाबाहेक केही छैन । घरभन्दा टाढा अर्काको गोठमा आश्रय लिएकी मायाका परिवारसँग डेरा खोज्नेबाहेक अर्को विकल्प छैन । जीवनभरिको कमाइ र सहकारीबाट ऋण लिएको पैसाले बनाएको घर बाढीपहिरोले पुरेपछि उहाँहरू डेरा खोज्न पनौती बजारमा जाने सुरसारमा हुनुहुन्छ । 

भूमिडाँडाबाट ४० परिवार विस्थापित

असोज ११ यता पनौती–१२, भूमिडाँडाका ४० घर परिवार डेरा खोजेर पनौती बजारमा सरिसकेका छन् । वडासचिव लालबहादुर तामाङका अनुसार केहीको घर पनौती बजारमा रहेको र आफन्तकामा गएर बस्न ४० घरपरिवार स्थानान्तरण भएका छन् । 

रोसीमा आएको बाढीपछि स्थानीय विद्यालयमा बसेका बाढीपहिरोपीडितले सधैँ त्यहाँ बस्न सम्भव नभएको बताउँदै डेरा खोज्न थालेका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार पनौतीमा मात्रै एक हजार घर बाढी र पहिरोले बस्न अयोग्य भएपछि त्यहाँका स्थानीय विद्यालय र सामुदायिक भवनमा आश्रय लिइरहेका छन् । आफ्नै गाउँमा बाढीपहिरोपीडित भएर डेरा खोज्नु पर्ला भन्ने उनीहरूले सपनामा पनि सोचेका थिएनन् । केही दिनअघिसम्म आफ्नै घर भाडामा लगाएका उनीहरू अहिले डेरा खोज्दै भौँतारिरहेका छन् । 

बेथानचोकमा पनि उस्तै पीडा

रोसीले सुकुमवासी बनाएका मात्रै हैनन्, बेथानचोक गाउँपालिका–४, सलान्दु खोलाले जीवनको सबै कमाइ घरमा लगाएका स्थानीय पनौतीमा डेरा खोज्न थालिसकेका छन् । सलान्दु किनारमा लहरै रहेका दर्जनौँ घर बगाएको छ । अहिले त्यो बजार नै खण्डहरमा परिणत भएको छ । 

डेरा खोज्न सजिलै पाइने भए पनि आफ्नो थातथलो छाडेर डेरामा गएर जीविकोपार्जन गर्न भने निक्कै अप्ठ्यारो पर्ने देखिन्छ  । कृषि र पशुपालन गर्दै आएका परिवारलाई सानो कोठामा बस्न र जीविकोपार्जनमा समस्या भएको स्थानीय बताउँछन् । 

तत्काल राहतको सामानले घर गुजारा चले पनि डेरामा बसेर परिवार चलाउन मुस्किल छ । स्थानीय मदन परियारले आफ्नो सबै सम्पत्ति छाडेर डेरा खोज्ने बाध्यता आइलागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब यता बस्ने अवस्था छैन, आफ्नै गाउँमा डेरा खोज्ने समय आएको छ ।”

गाउँ नै विस्तापित हुँदै

काभ्रेपलाञ्चोकमै सबैभन्दा धेरै बसाइँसराइ भएको चौँरीदेउराली गाउँपालिकाका स्थानीय दसैँको मुखमा पहिरोका कारण विस्थापित भएका छन् । उनीहरूले सहरमा डेरा खोज्न थालेका छन् । स्थानीय ओम पन्तले चौँरीदेउराली–८, बिर्तादेउराली पाटीगैराका स्थानीय गाडी नै रिर्जभ गरेर सहर पलायन भएको जानकारी दिनुभयो । 

उहाँले भूकम्पपछि आधाभन्दा धेरै मानिस सहर पलायन भएको र पहिरोले गाउँ नै रित्तिने अवस्था आएको बताउनुभयो । दसैँमा सहरबाट गाउँमा मानिस आउने क्रम हुने भए पनि सो गाउँबाट स्थानीयवासी गाउँबाट सहर निस्कने लागेका हुन् ।