• १८ असोज २०८१, शुक्रबार

एकै परिवारका छ जनाको मृत्यु र दुई बेपत्ता,अस्पतालको बेडमा आँसुको बाढी

blog

काभ्रेपलाञ्चोक (धुलिखेल), असोज १८ गते । तेमाल गाउँपालिका–२, ढडेन पाखाका ५० वर्षीय माइला तामाङ धुलिखेल अस्पतालमा उपचाररत हुनुहुन्छ तर उहाँ शøयामा नै झस्किरहनुहुन्छ । 

धेरैजसो समय एकोहोरो टोलाएर ‘बाढी खाजी ब्योङ्जी लु दिम फुब्जी लुजी लुजी’ (बाढी आयो बगायो घर भत्कियो पु-यो, पु-यो) भनेर चिच्याउँदै सहायता माग्नुहुन्छ । बुबाआमा, श्रीमती र नातिनातिनीको खोजी गर्नुहुन्छ । कोही नभेटेपछि भक्कानिएर आँसुको बाढी बगाउनुहुन्छ । 

आफूसँगै एउटै घरमा बस्ने छ जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको खबरले उहाँ अझै भावुक बन्नुहुन्छ । चिनेको मान्छे भेट्न आएपछि उहाँ गाउँको हालखबर सोध्नुहुन्छ । 

आफ्नो घरलाई संसारले नै थिचेको भन्दै बिलौना सुनाउने गर्नुुहुन्छ । हराएका नातिनीबारे पटक पटक सोधिरहनुुहुन्छ । आफू पनि सँगै मरेकोे भए पीडा भोग्नुनपर्ने भन्दै अनेकौँ बिलौना गर्नुहुन्छ  ।

तेमाल गाउँपालिका–२, ढडेन पाखामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीय माइला तामाङको घर वरिपरिको जमिन खोस्रिइरहेका छन् । असोज ११ को अविरल वर्षापछि आएको पहिरोले एकै परिवारका नौ जनालाई पुरेको खबरलगत्तै पुगेको टोलीले एक जनाको उद्धार गरेको छ भने छ जनाको शव निकालेको छ । 

माइलाको भने घाइते अवस्थामा उद्धार गरेर सेनाको हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ । उहाँ खतरामुक्त हुनुहुन्छ । घरमाथि लेदोसहितको पहिरोमा ठुलो ढुङ्गा आएर घर नै थिचेपछि एकै परिवारका नौ जना पहिरोमा पुरिनुभएको थियो । 

सोही वडाका अध्यक्ष देव तामाङका अनुसार पहिरोले पुरिएका माइला तामाङको सकुशल उद्धार गरिएको हो । पहिरोमा पुरिएर माइलाका बुवा सानु तामाङ, आमा जिरामाया तामाङ, श्रीमती माइली तामाङ, भाइ मानदीप तामाङ, बुहारी कविता तामाङ र भतिजो सरोज तामाङको मृत्यु भएको छ । बेपत्ता भतिजी रिया तामाङ र प्रिया तामाङको खोजी कार्य भइरहेको छ । 

सो गाउँले हालसम्म यस्तो विपत्तिको सामना कहिल्यै पनि गरेको थिएन । वडाध्यक्ष तामाङका अनुसार पहिरोले उहाँहरूको पूरै जमिन नै बगाएको छ । त्यो ठाउँबाहेक अरू ठाउँमा बस्ने केही अवस्था छैन । घरसँगै १५ वटा खसी र बाख्रा, एक हलगोरु, भैँसी र कुखुरा पुरेको छ । परिवारका केही सदस्य सहरमा भएकाले बाँचेका छन् । घरपरिवारका अरू सदस्य सहरमा बसेकाले बाँचेको अध्यक्ष तामाङले बताउनुभयो । 

पहिराले थिलथिलो भएको गाउँमा सहयोगको माग गरिएको छ । वडाध्यक्ष तामाङले सामाजिक सञ्जालमा मृतकका परिवारलाई राहत तथा पुनस्र्थापनाका लागि सहयोगको माग गर्नुभएको हो । सो वडा काभ्रेपलाञ्चोक जिल्लामा नै धेरै मानवीय र भौतिक क्षति हुने वडामा पर्छ ।