• ९ पुस २०८१, मङ्गलबार

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दस प्रतिशतले वृद्धि

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज १६ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख १७ हजार ६९ जना पुगेको छ । 

गत आव सो अवधिमा कामको खोजीमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख छ हजार ४५९ थियो । चालु आवमा यो सङ्ख्या एक लाख १७ हजार ६९ पुगेको हो ।

यो गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार यो वर्षको साउन महिनामा ५९ हजार ५७५ र भदौमा ५७ हजार ४९४ जना युवाले श्रम स्वीकृति लिएका छन् । 

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण आन्तरिक रोजगारीमा सङ्कुचन आएको थियो । पछिल्ला वर्षमा भने वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्लो समयमा मलेसियाबाहेकका अन्य श्रम गन्तव्य देशबाट माग बढी आएको हुनाले पनि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जानकारी दिनुभयो । 

पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रम स्वीकृतिको सङ्ख्यामा वृद्धि भएको देखिन्छ ।

आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारी कोभिड सङ्क्रमणपछि लगातार उकालो लागेको विभागले जनाएको छ । श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुन परिमार्जन, श्रम स्वीकृति सेवा पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो । 

नेपालमा आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्य मुलुकमा श्रमिक अभाव भएका कारण पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको वैदेशिक रोजगार क्षेत्रका जानकार रामेश्वर नेपाल बताउनुहुन्छ । नेपाली श्रमिक अन्य देशको तुलनामा इमानदार, मेहनती र नेपालीलाई सस्तो पारिश्रमिकमा काम लगाउन पाइने भएकाले पनि श्रम गन्तव्य देशमा नेपालीको माग हुने गरेको उहाँको विश्लेषण रहेको छ । गएको तीन आव (२०७८/७९, २०७९/८० र २०८०/८१ मा २२ लाख ५४ हजार युवाले रोजगारी खोज्दै देश छोडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत हेर्दा वार्षिक सात लाख १३ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएका देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । 

विदेश जान श्रम स्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ । गत आवमा रोजगारी खोज्दै सात लाख ४१ हजारभन्दा बढी युवा विदेश गएका थिए ।