• १४ असोज २०८१, सोमबार

सडक भत्किएपछि यातायात एकतर्फी सुचारु

blog

तुलसीपुर उपमहानगरपालिका –१३ दमारगाउँमा भत्किएको सडक । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, असोज १४ गते । दाङको तुलसीपुर–अमिलिया सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका –१३ दमारगाउँमा पक्की सडक भत्किँदा एकतर्फी यातायात सुचारु भएको छ । वर्षाका कारण उक्त सडकअन्तर्गत नालाको पानी निकासका लागि राखिएको हुमपाइप दबेपछि सडक भत्किएको थियो ।

सडकको आधा जति भाग भत्किए पनि एकतर्फी रुपमा सवारी साधनहरु सञ्चालन भइरहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । सडक भत्किएको स्थानमा यातायातका साधनहरु सञ्चालन भइरहेको भन्दै वडाध्यक्ष पौडेलले भन्नुभयो, ‘सडक भत्किएका कारण ठुला गाडीहरु सञ्चालन हुँदा जोखिम देखिन्छ, तर सवारी साधनहरु सञ्चालन भइरहेका छन् ।’ 

सडक डिभिजन कार्यालय दाङले भत्किएको सडक मर्मतका लागि प्रयास गरे पनि बर्षाका कारण काम हुन नसकेको जनाएको छ । सडक भत्किएको ठाउँमा पर्खाल उठाएर सडक मर्मत गर्नुपर्ने अवस्था रहेको सडक डिभिजन कार्यालय दाङका सबइन्जिनियर नारायण दाहालले जानकारी दिनुभयो ।    

शनिवार मात्र राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडक खण्डको राम्रीमा सडक भासिएको थियो । अविरल वर्षाका कारण सल्यान कपुरकोट र दाङको सीमामा पर्ने राम्रीनजिक सडक भासिएपछि अवरुद्ध भएको थियो । जेसिभीको सहायतामा भित्ता काटेर कामचलाउ सडक निर्माण गरेपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो । 

भासिएको स्थाननजिक तथा आसपासका क्षेत्रमा अहिले पनि उच्च जोखिम भएकाले यातायातका साधन सञ्चालन गर्दा सतर्कता अपनाउँदै गाडी चलाउन सबइन्जिनियर दाहाल बताउनुहुन्छ ।