• १४ असोज २०८१, सोमबार

स्मार्ट बन्ने दौड गोपनीयतामाथि प्रश्न !

blog

तपाईंले केही समययता उपकरणहरू कसरी स्मार्ट बन्दै गएका छन् भन्ने कुरा याद गर्नुभएको छ ? सूचना प्रविधि क्षेत्रका दिग्गज कम्पनी एप्पल, माइक्रोसफ्ट, गुगललगायतका विभिन्न कम्पनी अहिले कृत्रिम बुद्धि (एआई) उपकरण र टुल निर्माणमा जुटेका छन् । 

एआई टुलले जन्मदिन सम्झाउने, फोटो एडिट गर्ने, स्वास्थ्य सल्लाह दिने, मन पर्ने गीत तथा सङ्गीत सुनाउने, स्पाम कल पत्ता लगाउनेसम्मका काम गर्छन् । यी कुरा सुन्दा निकै रमाइलो र आनन्ददायी छ, हैन त ! तर तपाईंलाई थाहा छ यी सबै कुरा गर्न तपाईंको व्यक्तिगत सूचना आवश्यक पर्छ । एआईले तपाईंबाट पाएका व्यक्तिगत सूचनाका आधारमा यी सबै गर्न सकेको हो ।

तपाईंको कम्प्युटरले तपाईंले गर्ने सबै कुराको स्क्रिनसट लिन सक्छ । तपाईंको स्मार्ट फोनले तपाईंको मोबाइल फोनमा रहेका सबै जानकारी एपबाट निकाल्न सक्छ । तपाईंको स्मार्ट फोनले स्पाम कल सुन्न सक्छ । यो सुपर स्मार्ट सहायक जस्तो हो । यसरी एआईले सूचना प्रविधिका क्षेत्रमा ठूलो प्रश्न उब्जाएको छ । यस परिवर्तनले हाम्रो गोपनीयतामा ठूलो असर पुर्‍याउन सक्छ । 

एआईका अनगन्ती यस्ता नवीन र व्यक्तिगत सेवा प्रयोगकर्तालाई दिन यी कम्पनीलाई निरन्तर रूपमा व्यक्तिगत सूचना र डाटा आवश्यक हुन्छ । सूचना प्रविधिविज्ञहरूका अनुसार विगतमा कम्प्युटर उपकरण र एप, फाइल, फोटो अलग र पृथक् रहन्थे तर अहिले एआईले गर्दा उपकरण, एप, फाइल, वेबसाइट र सञ्चारसँग जोडिएर आए छन् । त्यसैले यस विषयमा समग्र दृष्टिकोण आवश्यक पर्छ । हामी यो नयाँ एआई युगतर्फ अगाडि बढ्दै गर्दा हामीले हाम्रा सुविधा र गोपनीयताका विषयमा कुन रोज्ने वा कसरी अगाडि बढ्ने भन्ने विषयमा चिन्तन गर्नु पर्छ । 

सूचना प्रविधि क्षेत्रमा यो परिवर्तन ओपन एआईको च्याटजिपिटीको आगमनपछि भएको हो । जसले करिब दुई वर्षअघि सूचना प्रविधि उद्योगमा नयाँ तरङ्ग ल्याइदियो । त्यसपछि गुगल, माइक्रोसफ्ट र अन्य कम्पनीले एआई टुल विकास गर्न अर्बौं लगानी गरिसकेका छन् । विशेषज्ञका अनुसार सबैभन्दा ठूलो सम्भावित सुरक्षा जोखिम हाम्रा उपकरणको काम गर्ने तरिकामा भर पर्छ । 

एआईले जटिल कार्यलाई स्वचालित बनाउन सक्छ । यस कामका लागि हाम्रो फोनले गर्न सक्ने भन्दा धेरै शक्ति आवश्यक पर्छ । यसको अर्थ हाम्रो थप डाटा हाम्रो फोनबाहिर प्रशोधनका लागि पठाइन सक्छ । यस्ता डाटा क्लाउडमा पठाइन्छ । यस्तो काम सम्पन्न गर्न सर्भरको एक नेटवर्कमार्फत क्लाउडमा पुगिसकेपछि हाम्रा जानकारी अन्य व्यक्तिको पहुँचमा पर्न सक्छ । 

अहिले हाम्रो व्यक्तिगत डाटा जस्तै फोटो, सन्देश र इमेल कम्पनीहरूले आफ्ना सर्भरसँग जोडेर विश्लेषण गर्न सक्छन् । तथापि टेक कम्पनीहरूले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न महत्वपूर्ण प्रयास गरेको दाबी गर्ने गर्छन् । 

एआई उपकरणहरू प्रयोग गर्दा हाम्रो जानकारीसँग के हुन्छ भनेर बुझ्नु अत्यन्त जरुरी छ । यस्ता उपकरण प्रयोग गर्दा पहिला कम्पनीले प्रयोगकर्ताका डाटा लिने अभ्यास र नीतिका बारेमा जानकारी राख्नु पर्छ । यी प्रविधि पर्याप्त मात्रामा राम्रोसँग काम गर्छन् कि गर्दैनन् भनेर हेर्नु पर्छ । त्यसपछि मात्र यस्ता टुल प्रयोग गर्नु पर्छ । 


के कुरामा ध्यान दिने ?

एआई उपकरण र टुलको प्रयोग गर्नुअघि केही महत्वपूर्ण कुरामा ध्यान दिनु आवश्यक छ : 

१) गोपनीयता र डाटा सुरक्षा :

एआईले प्रयोगकर्ताको व्यक्तिगत जानकारी जस्तै स्थान, सम्पर्क, नम्बर र गतिविधि, सङ्कलन गर्न सक्छ । यी जानकारी कसरी भण्डारण र प्रयोग गरिन्छ भन्ने कुरा बुझ्नु पर्छ । साथै प्रयोगकर्ताले एआईको गोपनीयता नीतिलाई ध्यानपूर्वक पढ्नु पर्छ । आफ्नो जानकारी कसरी सार्वजनिक गरिन्छ भन्ने कुरा बुझ्नु पर्छ । यति भएपछि मात्र एआईसँग प्रयोगकर्ताले डाटा सेयर गर्नु पर्छ । 

२) नैतिकता र जवाफदेहिता :

एआईको प्रयोगले समाजमा नैतिकताका प्रश्न उठ्न थालेका छन् । जस्तै एआईको प्रयोगले कुनै विशेष समूहलाई अन्यायपूर्ण व्यवहार वा पक्षपाती निर्णय हुन सक्छ । एआईले गरेका निर्णयमा को जवाफदेही हुने भन्ने कुरा स्पष्ट हुनु पर्छ । समाजमा जस्तै एआईको प्रयोग गर्दा भर्चुअल समाजमा समेत नैतिकता र जवाफदेहिता आवश्यक पर्दछ । 

३) तथ्याङ्क र पूर्वाग्रह :

एआईले सार्वजनिक रूपमा उपलब्ध डाटामा आधारित निर्णय लिने गर्छ । यो डाटा पक्षपाती भएमा एआईले पनि पक्षपाती निर्णय लिन सक्छ । त्यसैले एआईका लागि प्रयोग गरिएको डाटा सही र अद्यावधिक हुनु पर्छ । यसतर्फ एआई निर्माता कम्पनी र प्रयोगकर्ता एकदमै चनाखो रहनु जरुरी छ ।  

४) कानुनी व्यवस्था र पालना :

एआई प्रयोग गर्नुअघि प्रयोगकर्ताले आफ्नो देशमा एआई प्रयोगसम्बन्धी नीति, नियम र कानुन के छ भन्ने जान्नु पर्छ । यस्तै प्रयोगकर्ताले अन्तर्राष्ट्रिय मापदण्डको पनि पालना गर्नु पर्छ । कानुनको अनभिज्ञता क्षम्य हुँदैन । कानुन सबैले जान्नु र मान्नु पर्छ भन्ने कानुनको आधारभूत मान्यता हो । 

५) सामाजिक र सांस्कृतिक प्रभाव :

एआईको प्रयोग गर्दा स्थानीय संस्कृतिलाई सम्मान गर्नु पर्छ । यसको प्रयोगले समाजमा के असर पार्न सक्छ भन्ने कुरा पनि विचार गर्नु पर्छ । 

६) प्रयोगकर्ताको जानकारी र शिक्षा :

एआईको सही प्रयोगका लागि प्रयोगकर्ताले आवश्यक तालिम र जानकारी लिनु पर्छ । यसले कसरी काम गर्छ भन्ने कुरा बुझ्नु पर्छ  । 

एआईले जीवनका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यसको प्रयोगले हाम्रो जीवनलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाइरहेको छ । यद्यपि एआईको प्रयोग गर्दा गोपनीयता, नैतिकता र कानुनको पनि ध्यान राख्न आवश्यक छ । यी सबै कुरा विचार गरेर मात्र एआई उपकरण र टुलहरूको सुरक्षित र प्रभावकारी प्रयोग गर्न सकिन्छ । 

–युवामञ्च