• १४ असोज २०८१, सोमबार

रगत अभाव भएपछि रक्तदान गरिंदै

blog

फाइल तस्बिर ।

बाँके समाचारदाता

बाँके, असोज १४ गते । बाँकेमा बिरामीका लागि माग अनुसारको रगत अभाव भइरहँदा विभिन्न सङ्घ संस्थाले रक्तदान कार्यक्रमलाई अघि बढाएका छन् । 

नेकपा एमाले बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा करिब दुईसय जनाले रक्तदान गरेका छन् । क्षेत्र नम्बर १ निर्वाचन समन्वय समितिको आयोजनामा कोहलपुरमा भएको कार्यक्रममा १५३ जनाले रक्तदान गरेको संयोजक कुश्माखर बस्यालले जानकारी दिनुभयो । यसैगरी नेकपा एमाले सम्वद्ध अनेरास्ववियु बाँकेले पनि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष प्रकाश बिश्वकर्माले बताउनुभयो । 

नेपालगञ्जको भेरी अस्पताल र शिक्षण अस्पताल रेफरल अस्पतालको रुपमा रहेकाले बाढीपहिरोका घाइतेहरुको उपचारमा रगत अभाव नहोस् भनेर पनि रक्तदान गरिएको एमाले बाँकेले जनाएको छ । नेपालगञ्जस्थित गोपाल निना फाउण्डेशनको आयोजनामा शनिबार नै रक्तदान गरिएको छ । 

नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले स्वच्छ भएपनि आफूले रक्तदान नगर्ने र रगत माग गर्ने बिरामीका नजिकका आफन्तलाई सम्झाई बुझाई गर्नुपरेको बताउनुभयो । बाँकेमा भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्त सञ्चार केन्द्र सञ्चालनमा छ ।