• १४ असोज २०८१, सोमबार

दाताको सहयोगले चलेको वेद विद्याश्रम

blog

अमरगढी समाचारदाता

डडेलधुरा, असोज १४ गते । संस्कृत विषय पढाइ हुने उग्रतारा वेद विद्याश्रम दाताको सहयोगबाट सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाम अमरगढी–८, उग्रतारा मन्दिर परिसरमा स्थापना गरिएको विद्याश्रमबाट गत वर्षको एसइई परीक्षामा पाँच जना बटुक सहभागी भएका थिए । तीन जना नियमित र एक जना ग्रेड सुधार गरेर चार जना उत्तीर्ण भएसँगै विद्याश्रमको पहिलो वर्षको उत्तीर्ण दर ८० प्रतिशत पुगेको छ । संस्कृत व्याकरणसहित अङ्ग्रेजी, गणित र विज्ञान विषय पढाइ हुने विद्याश्रमको मासिक खर्च एक लाख २० हजार रुपियाँ हुने गरेको छ तर आम्दानीको सुनिश्चित नहुँदा दाताको भर पर्नुबाहेकको विकल्प नभएको प्रधानाध्यापक प्रेमराज भट्टले बताउनुभयो । 

२०७५ सालमा स्थापना गरिएको विद्याश्रममा कक्षा ६–१० सम्मको पढाइ हुने गरेको छ । संस्कृत व्याकरणमा आचार्य गरेका चार जना र अङ्ग्रेजी, गणित, विज्ञानका तीन जना जिल्लाबाहिरका गुरुद्वारा अध्यापन गराइने भएकाले मासिक खर्च बढेको छ । उहाँले भन्नुभयो, “दाताको सहयोग र निजी स्रोतले खर्च धानिरहेको छ । हाललाई विश्व हिन्दु महासङ्घ महर्षीबाट मासिक ५५ हजार रुपियाँ दिँदै आएकाले केही सहज भएको छ । निजी आम्दानीको स्रोत उग्रतारा मन्दिरको दान, दक्षिणा हो । दक्षिणा कम भए शिक्षक गुरुले मासिक तलब नपाउने अवस्था रहन्छ । मासिक २२ हजार रुपियाँसम्म मात्रै न्यूनतम तलब दिने गरेर शिक्षकले अध्यापन गराउँदै आइरहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १० लाख रुपियाँ बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । यसले केही सहज हुने उहाँको भनाइ छ ।

विद्याश्रममा हाल ३४ जना बटुक अध्ययनरत छन् । संस्कृत व्याकरण र कर्मकाण्डसहितका विषय अध्यापन गराइने विद्याश्रममा बटुकलाई पूर्ण निःशुल्क रूपमा पढाइँदै आएको उहाँले बताउनुभयो । वेद विद्याश्रम सञ्चालनका लागि एक सभा कक्षासहित १४ कोठे भवन निर्माण गरिएको छ । २०७६ सालदेखि निर्माण थालिएको भवनमा करिब डेढ करोड रुपियाँ खर्च भएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनुभयो । उहाँका अनुसार पर्यटन मन्त्रालय, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लको सांसद विकास कोषबाट सो रकम खर्च भएको हो ।