• १४ असोज २०८१, सोमबार

संस्कृत पढ्दै, विद्यालय छाड्दै दलित विद्यार्थी

blog

बैतडीको सरस्वती संस्कृत मावि नकतडीमा संस्कृत पढ्ने विद्यार्थी । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, असोज १४ गते ।  गाउँकै विद्यालयमा कक्षा ६ देखि १० सम्म संस्कृत विषयको पढाइ हुन्छ । संस्कृत पढ्ने आधा जति दलित समुदायका विद्यार्थी छन् । तल्लो कक्षामा जेनतेन टिकाएर संस्कृत पढाए पनि कक्षा १० उत्तीर्ण गरेपछि अधिकांश दलित विद्यार्थी माथिल्लो कक्षाको पढाइ छाडेर रोजगारी खोज्न भारत जाने गरेका छन् । 

दशरथचन्द नगरपालिका–६, नकतडीमा गुरुकुलसहितको संस्कृत पढाइ हुने सुदूरपश्चिमकै अग्रणी सरस्वती संस्कृत मावि नकतडीमा हरेक वर्ष संस्कृत पढ्ने ३० देखि ४० जना विद्यार्थी दलित विद्यार्थी हुन्छन् । यो वर्ष कक्षा ६ देखि १० सम्म संस्कृत पढ्ने ८६ जना विद्यार्थीमध्ये ३२ जना दलित समुदायका विद्यार्थी छन् । 

२०८० सालमा संस्कृत भाषा पढेर एसइई दिने १३ जनामध्ये आठ जना विद्यार्थी उत्तीर्ण भए जसमध्ये दलित समुदायका पाँच जना विद्यार्थी थिए । उत्तीर्ण भएका पाँच जना दलित विद्यार्थीमध्ये दुई जना रोजगारीका लागि भारत हिँडेका छन् भने अन्य तीन जना विद्यार्थी साधारण विषयको पढाइ गर्न अरू विद्यालयमा भर्ना भएका छन् । 

संस्कृत पढेर कक्षा १० उत्तीर्ण गरेका महेश टमटा घरको आर्थिक अवस्था कमजोर भएकाले रोजगारीका लागि भारत जान्छु भनेर हिँडेको विद्यालयका प्रधानाध्यापक हरिशरण उपाध्यायले बताउनुभयो । 

सरस्वती संस्कृत माविमा कक्षा ६ देखि १० सम्म संस्कृत, व्याकरण, साहित्य, श्लोक, मन्त्रलगायत नेपाल सरकारले तयार गरेको पाठ्यक्रम अनुसार पढाइ हुने गरेको प्रधानाध्यापक उपाध्यायले जानकारी दिनुभयो । उहाँले सरस्वती संस्कृत माविमा कक्षा १० सम्म भएकाले ११ र १२ मा संस्कृत पढ्न चाहने विद्यार्थीको सपना पूरा हुन नसकेको बताउनुभयो ।  

सरकारले कक्षा ६ देखि १० सम्म संस्कृत पढाउन विद्यार्थीमाथि ठुलो लगानी गरेको भए पनि आर्थिक अभावकै कारण माथिल्लो तहमा पढाइ गर्न नसक्ने विद्यार्थीलाई स्थानीय तह र दलित अधिकारको क्षेत्रमा काम गर्ने कुनै पनि संस्थाले सहयोग नगरेको उहाँको गुनासो छ । 

दलितलाई गाउँको विद्यालयमा २०४३ सालदेखि नै संस्कृत पढ्ने सुविधा भए पनि माथिल्लो कक्षा पढ्न कता जाने भन्ने कुराको अन्योल हुने स्थानीय दलित अगुवा बुद्धिवल्लभ धानुकले बताउनुभयो । उहाँले दलित विद्यार्थीलाई गुरुकुलमा बसेर पढ्न सहज वातावरण नभएकाले कतिपयले बिचमै पढाइ छाडेर भारत जाने गरेको गुनासो गर्नुभयो । “आफ्ना छोराछोरीलाई गाउँकै विद्यालयबाट कक्षा १० सम्म संस्कृत पढाएँ,” बुद्धिवल्लभले भन्नुभयो, “माथिल्लो कक्षा कहाँ पढ्ने भन्ने कुराको अन्योल भएपछि अरू विषय पढ्न लगाएँ । गाउँकै विद्यालयमा पनि गुरुकुलमा बसेर पढ्न कठिनाइ छ भने बाहिर सहज वातावरण हुँदैन ।” 

संस्कृत पढेर पनि विभेद 

बैतडीमा सरस्वती संस्कृत मावि नकतडी, शङ्कर संस्कृत मावि मुलखटालीमा करिब चार दशकदेखि संस्कृत विषयको पढाइ हुँदै आएको छ । नकतडीमा २०४३ सालदेखि हालसम्म हजारौँ दलितले संस्कृत विषय पढे पनि जातीय विभेद भने हट्न सकेको छैन । संस्कृत पढेका दलितलाई नै गाउँमा अहिले पनि समाजले अछुतको व्यवहार गरिरहेको दलित समुदायको गुनासो छ । दलित अगुवा बुद्धिवल्लभले भन्नुभयो, “गाउँमा अहिले पनि दलित समुदायको घिउ चल्छ, दुध चल्दैन, श्रम चल्छ, पानी चल्दैन ।”  

सामाजिक कुरीतिका रूपमा रहेको जातीय विभेद हटाउन सामाजका प्रबुद्ध वर्ग, धर्मगुरु र नागरिक समाजलगायत स्थानीय सरकारले तदारुकता देखाउनुपर्ने संस्कृत मावि नकतडीका प्रधानाध्यापक उपाध्यायले जोड दिनुभयो ।