• १४ असोज २०८१, सोमबार

बागमतीमा बाढीपहिरोको प्रभाव

सडक सम्पर्कविच्छेद, राहत र उद्धार तीव्र

blog

तामाकोशी नदीले कटान गरी बगाएको किर्नेस्थित सडकखण्ड ।तस्बिर :बाबुराम शर्मा

बागमती प्रदेश ब्युरो

हेटौँडा, असोज १४ गते । गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी र पहिरोले बागमती प्रदेशको जिल्लामा ठुलो सङ्ख्यामा धनजनको क्षति भएको छ । राष्ट्रिय, प्रादेशिक र ग्रामीण सडकहरू क्षति पुग्दा सडक सम्पर्क विच्छेद भएको छ ।

सङ्घीय राजधानी जोड्ने सबै जसो मार्ग अवरुद्ध बनेका छन् । सडक खुलाउने प्रयाससँगै राहत र उद्धार कार्य भइरहेको स्थानीय र प्रदेश सरकारले जनाएका छन् । 

बिपी राजमार्ग क्षतविक्षत

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार बिपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत भएको छ ।

उक्त राजमार्गको खुर्कोट–नेपालथोक खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित कानढुङ्ग्रीनजिकै करिब ३० मिटरभन्दा बढी सडक शनिबार राति भासिएर आवागमन नै नहुने अवस्थामा पुगेको छ । सुनकोशी नदीमा आएको बाढीले उक्त सडकको फाउन्डेसन (जग) भत्काएपछि सडक भत्किएको उक्त वडाका वडाध्यक्ष रेगनराज थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी शनिबार बेलुका ७ बजेतिर जाँदा त्यसको अवस्था ठिक थियो । बिहान जाँदा भासिरहेको रहेछ । त्यसको फाउन्डेसन कोशीले काटेछ । तल कोप्री रहेको हुनाले माथिको चापले त्यो झ¥यो ।” बिपी राजमार्गकै खुर्कोट बजारनजिकै करिब १५ मिटर सडक चर्र्किएको र त्यहाँ वैकल्पिक बाटो बनाउने ठाउँ पनि नभएको उहाँले सुनाउनुभयो । यता जिल्ला प्रशासन कार्यालयले सिन्धुली जिल्लामा बिपी राजमार्गको तेस्रो खण्ड खुर्कोट–नेपालथोक खण्ड अन्तर्गत मूलकोटदेखि नेपालथोकसम्म सात ठाउँमा क्षति भएको जनाएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले सडक भासिएको कानढुङ्ग्रीनजिकै नेपाली सेनाले अस्थायी ट्र्याक निर्माण सुरु गरेको बताउनुभयो । मेसिन लगाएर पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो । “अहिले हाम्रो प्राथमिक काम भनेको नेपालथोकसम्म बाटो खुलाउने हो, त्यसको लागि हामी लागिरहेका छौँ,” उहाँले थप्नुभयो । 

अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक अगाडि करिब ६० मिटर लम्बाइ सडक कालोपत्रेसहित भत्काएर पूरै बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले बिपी राजमार्ग सिन्धुलीको दुम्जाक्षेत्र र काभ्रे जिल्लामा वर्षाका कारण सडक धेरै क्षति भएकाले यातायात खुलाउन तीन÷चार दिन लाग्न सक्ने बताउनुभयो ।

काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अवरुद्ध

मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार कान्ति लोकपथसहित प्रादेशिक मार्ग र ग्रामीण सडकहरू पहिरो र बाढीले कटान गर्दा अवरुद्ध बनेको छ । कान्ति लोकपथको विभिन्न खण्डमा पहिरोका कारण बिहीबारदेखि नै अवरुद्ध रहेकोमा शनिबार बागमती नदीमा आएको बाढीले बागमती पुलमा क्षति पु¥याएको छ । कान्ति लोकपथ सडकखण्डको मकवानपुरको बकैया गाउँपालिका–११ स्थित घट्टेपाखा र लाम्राङ, आँपचौरमा पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कान्ति लोकपथ सडकखण्डकै मकवानपुरको भीमफेदी गाउँपालिका–८, बगुवास्थित बागमती नदीको पुल नदीले कटान गरी सडक पूर्ण रूपमा अवरोध भएको छ ।

यस्तै त्रिभुवन राजपथ सडकखण्डको थाहा नगरपालिका–४ दामनस्थितमा पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएकोमा पहिरो पन्छाएर आइतबारबाट सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले हेटौँडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौँ जाने छोटो दुरीको मार्ग पहिरोका कारण अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँका अनुसार दक्षिणकाली छैमले सिस्नेरी सडकखण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, रामचन्द्र भन्ज्याङमा पहिरो खसेर सवारीसाधन आवागमनमा पूर्ण रूपमा अवरोध पुगेको छ ।

साथै सोही सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै कुलेखानी मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङमा पहिरोका कारण बाटो पूर्ण रूपमा अवरोध भएको छ । उता हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–४, रातोमाटे र वडा नं. ६ ढोकाफेदीमा पहिरो खसेर यातायातका साधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ ।

उता फाखेल–हुमाने भन्ज्याङ र चखेल–मातातीर्थ–सतुङ्गल सडकखण्डको विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध छ । यसै गरी चित्लाङ–थानकोट (गणेशमान) मार्ग विभिन्न भागमा आएको पहिरोका कारण अवरुद्ध छ । प्रहरीका अनुसार विभिन्न निकायसँग समन्वय गरी पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

मन्त्रालयको आग्रह

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हेटौँडा हुँदै काठमाडौँ जाने तीन वटै छोटो दुरीको मार्ग प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले विगत केही दिनदेखि भइरहेको अविरल वर्षाका कारणले आएको बाढीपहिरोबाट बागमती प्रदेश सरकार अन्तर्गतका सडकहरू अवरुद्ध रहेको भन्दै छोटो दुरीको मार्ग प्रयोग नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै हेटाँैडादेखि काठमाडाँै जोड्ने सडक अर्को सूचना नभएसम्म प्रयोग नगर्नु हुन अनुरोध गरेको हो । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता चन्द्रदेव भट्टद्वारा जारी विज्ञप्तिमा हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकखण्ड, हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड र हेटौँडा भीमफेदी–कुलेखानी–चखेल–देउराली–मातातीर्थ सडकखण्डलगायतका सडकहरू अर्को सूचना नभएसम्म प्रयोग नगर्न भनिएको छ ।

राजमार्गका पहिरो हटाइँदै

धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक बिहीबार साँझदेखि अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्ड पनि अवरुद्ध बनेको हो । 

त्रिभुवन राजपथको नौबिसे–नागढुङ्गा खण्ड अन्तर्गत झ्याप्लेखोलामा खसेको पहिरो पन्छाउने काम सुरु भएको धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । केसीका अनुसार पृथ्वी राजमार्गमा रहेका केही पहिरो शनिबार साँभm हटाएको छ भने केही पहिरो आइतबार बिहानदेखि नै हटाउने कार्य थालिएको छ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका विभिन्न ठाउँमा दर्जनौँ पहिरो भएका कारण राजमार्ग आइतबार खुलाउन कठिन हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी गराउनुभयो । पाण्डेका अनुसार सबै सुरक्षाका सबै संयन्त्र र साधनलाई राजमार्गमा रहेका पहिरो हटाउन प्रयोग गरिएको छ । 

खिम्ती–१ अगाडिको सडक कटान  

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार तामाकोशी नदीमा आएको उच्च बहावले तामाकोशी गाउँपालिका–५, किर्नेस्थित खिम्ती–१ जलविद्युत् आयोजनाअगाडिको सडक पूर्ण रूपमा कटान गरेको छ  । तामाकोशी नदीको बाढीले धुलिखेल अस्पतालको सहयोगमा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिक भवनको आधा भाग बगाउँदा क्लिनिकको स्वास्थ्य सामग्री बगाउनुका साथै किर्ने प्रोजेक्ट स्कुलमा क्षति पुगेको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वर्षाले दोलखा–रामेछापको सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको र स्थानीयलाई आवतजावतका लागि गाउँपालिकाको पहलमा बाटो निर्माण गरिने छ । तत्कालका लागि रामेछापबाट किर्नेसम्म र दोलखाबाट किर्ने पुलसम्म यातायात सञ्चालन गर्ने वातावरण मिलाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष केसीले जानकारी दिनुभयो ।