• १३ असोज २०८१, आइतबार

प्रदेश सरकारले बेटी जिन्दाबाद महाअभियान सञ्चालन गर्छ : समाजकल्याण मन्त्री जयसवाल

blog

बालविवाह न्यूनीकरणका लागि जनकपुरधाममा भएको छलफल कार्यक्रममा बोल्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल । तस्बिर : धर्बेन्द्र झा, जनकपुरधाम

धर्बेन्द्र झा 

जनकपुरधाम, असोज १३ गते । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले मधेश प्रदेश सरकारले ल्याएको बालिका संरक्षण तथा सशक्तीकरण ऐन कार्यान्वयनका लागि प्रदेश सरकारले बेटी जिन्दाबाद महाअभियान सञ्चालन गर्न लागेको बताउनुभएको छ । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले आइतबार जनकपुरधाममा आयोजना गरेको बाल विवाह न्यूनीकरण सम्बन्धी संवाद र छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस अभियानले समाजमा विकृतिको रूपमा देखिएको बालविवाह न्यूनीकरणका साथसाथै दहेज प्रथाको उन्मुलन र बालिकाहरूलाई सशक्त बनाउनमा सहयोग पुग्ने बताउनुभयो । 

सन् २०३० सम्ममा बालविवाह मुक्त प्रदेश घोषणा गर्ने सरकारको लक्ष्य अनुसार प्रदेश सरकारले सबैभन्दा पहिले मधेश प्रदेशमा बालिका संरक्षण तथा सशक्तीकरण ऐन ल्याएको बताउनुभयो । उहाँले भूगोल र बाटोघाटोको मामिलामा अन्य प्रदेश भन्दा सुगम मानिएको मधेश प्रदेश मानवीय र सामाजिक विकासको क्रममा अन्य प्रदेश भन्दा पछाडि रहेको भन्दै वर्तमान अवस्थालाई हामी सबैले फेरिनु पर्नेमा जोड दिनुभयो । 

विगतमा मधेश प्रदेशसँग भएको भेदभावका कारण मधेश प्रदेशको अवस्था यस्तो रहेको भन्दै हिजो भएका कमीकमजोरीलाई समीक्षा गरी हामी अब जिम्मेवार भएर अगाडी बढ्नु पर्ने उहाँको भनाइ छ । उहाँले मधेश प्रदेशमा बालविवाह न्यूनीकरणका लागि कार्यविधि तयार भइरहेको र त्यसलाई चाँडै पारित गरी कार्यान्वयनका लागि अगाडी बढ्ने बताउनुभयो । उहाँले मधेश प्रदेशका दुई पालिका बालविवाह मुक्त घोषणा भइसकेको र केही घोषणा हुने क्रममा रहेको जानकारी दिँदै पालिकालाई बालविवाह मुक्त घोषणा गरेर मात्र जिम्मेवारी पुरा नहुने बताउनुभयो । उहाँले घोषणा भएका पालिकाहरूमा निगरानी अझै बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बालविवाह रोकनमा मात्रै केन्द्रित भयौँ भने चुनौती अझै थपिन सक्ने भन्दै बालविवाह किन हुन्छ त्यस विषयमा पनि छलफल हुनु आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रमको अध्यक्षता गर्नुभएका राष्ट्रिय बाल अधिकार परिषद्का पूर्व अध्यक्ष डिली राम गिरीले राज्यले बालबालिकाको क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साह, सेभ द चिल्ड्रेनका प्रतिनिधि मकर बहादुर कार्की, बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभएका सञ्जीव कुमार महतो सहितकाले उमेर नपुगी विवाह गर्नाले मान्छेको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकोले बालविवाह रोकथामका लागि सबैको साझा प्रयास आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशमा १८ वर्ष मुनिका २२.७ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।