• १३ असोज २०८१, आइतबार

बाढी पहिरोबाट बागमतीमा ७४ जनाको मृत्यु, ६० जना घाइते र ३० जना बेपत्ता

blog

अविरल वर्षाको कारण पहिरो तथा रुख ढलेर हेटौँडा-भैँसे-भीमफेदी-कुलेखानी सडकको मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित सडकखण्डको अवरोध हटाउँदै प्रहरी।

राममणि दाहाल

हेटौँडा, असोज १३ गते। बाढी र पहिरोका कारण बागमती प्रदेशका १० जिल्लामा ७४ जनाको मृत्यु भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा शुक्रबार र शनिबार गरी ७४ जनाको बाढी पहिरोमा परेर मृत्युभएको हो। 

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बाढी पहिरोमा परेर हालसम्म ६० जना घाइते भएको र ३० जना बेपत्ता रहेको आइतबार दिउँसोसम्ममा विभिन्न जिल्लाको तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो।

उहाँले विभिन्न जिल्लामा विद्युत् लाइन विच्छेद भएको र टेलिफोन सम्पर्क हुन नसकेकोले विपत् प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पुग्न नसकेको बताउँदै बाढी पहिरोबाट भएको धनजनको क्षतिको थप विवरण आउने क्रम जारी रहेको बताउनुभयो। 

बाढी पहिरोबाट प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्रभित्रका जिल्लामध्ये सबैभन्दा मानवीय क्षति धादिङ र त्यसपछि काभ्रेमा भएको छ।हालसम्म धादिङ जिल्लामा ३४ र काभ्रे जिल्लामा २१ जनाको मृत्युभएको छ। साथै काभ्रेमा सबैभन्दा बढी घाइते ३४ जना र बेपत्ता १९ जना भएका छन्।

हालसम्म मकवानपुरमा सात जना, सिन्धुपाल्चोकमा छ जना, दोलखामा तीन जना, सिन्धुलीमा दुई जना र रामेछापमा एक जनाको बाढी पहिरोमा परेर मृत्युभएको प्रहरीको तथ्याङ्क छ।

नुवाकोट, चितवन र रसुवामा मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।