• १२ असोज २०८१, शनिबार

विपदबाट ७६ को मृत्यु, ७२ वेपत्ता : उद्धार कार्य जारी

blog

पहिरो पन्छाउने कार्य हुँदै । तस्बिर : सशस्त्र प्रहरी बल

काठमाडौं, असोज १२ गते । लगातार परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट शनिबार साँझसम्म मर्नेको सङ्ख्या ७६ पुगेको छ । यसैगरी, ७२ जना अझै वेपत्ता छन् भने उद्धार र राहत वितरणको कार्य पनि जारी रहेको छ । 

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, देशभरिबाट प्राप्त विवरण अनुसार मर्नेको सङ्ख्या ७६ र वेपत्ताको सङ्ख्या ७२ जना रहेको छ । 

१० हजार सुरक्षा फौज परिचालन

२०८१ असोज १० गतेदेखि सुरु भएको अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लामा भएको घटनामा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालित भएका छन । 

 फौजले बाढी, पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ भने ७६ जनाको मृत्यु, ७२ जना वेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ ।


उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छ भने ३४ जनाको मृत्यु, २१ जना वेपत्ता, १५ जना घाइते र २ स्थानहरुमा भौतिक क्षति पुगेको छ ।

यसैगरी, कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएका छन् ।

मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानमा भौतिक क्षति र १ जना वेपत्ता भएका छन् । 

यसैगरी, बागमती (उपत्यका बाहेक) काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् । यसैगरी, लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढीमा परी २ जना वेपत्ता भएका छन् ।