• ११ असोज २०८१, शुक्रबार

मुग्लिन–नारायणगढ सडक राति बन्द

blog

फाइल तस्विर

शालिग्राम नेपाल 

चितवन, असोज ११ गते । निरन्तर वर्षा भएपछि मुग्लिन–नारायणगढ सडक खण्ड शुक्रबार साँझदेखि शनिबार बिहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

सम्भावित जोखिमलाई ध्यान दिएर बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

भारी वर्षाले गर्दा पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला सुरक्षा समितिले नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा गाडी चलाउन नपाइने भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिनेछ । यो सडक खण्डको कालिखोला, घुमाउने, सिमलताल लगायतको स्थानमा पहिरोको जोखिम छ । साना पहिरो गए पनि अहिले सडक अवरुद्ध हुनेगरी पहिरो नखसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

साँझ ७ बजेदेखि बिहानसम्म पूर्णरुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । आपतकालीनका सवारी साधन बाहेक कुनै पनि साधन चलाउन नपाइने उहाँले बताउनुभयो । 

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी चन्द्रेश्वर साहले पहिरो जाने जोखिम स्थानमा डोजर, लोडरलगायतका सामग्री तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । सिमलताल, १७ किलो र मुग्लिनमा पहिरो पन्छाउने साधन राखिएको बताउनुभयो ।