• ११ असोज २०८१, शुक्रबार

पत्रकारिता विभागमा एआईसम्बन्धी कार्यशाला

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ११ गते । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एक दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी जानकारी गराउने उद्देश्यसाथ कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ । 

केन्द्रीय पत्रकारिता विभाग, बिजनेस पत्रिका तथा क्याटालिष्ट संस्थाको संयुक्त सहकार्यमा भएको ‘बज एण्ड बट्सः पिआर इन दि एज अफ एआई’ कार्यक्रममा श्रीलङ्काबाट आएका विज्ञ चन्ना फर्नान्डोपुलेले एआई बारेमा जानकारी गराउनुभयो । उहाँले एआईसम्बन्धी जानकारी गराउँदै त्यसको प्रयोग र फाइदा र बेफाइदा बारेमा चर्चा गर्नुभयो । 


कार्यशाला गोष्ठीमा वरिष्ठ पत्रकार कुबेर चालिसे, विनोद भट्टराई, सानिया शाह र चन्नाले प्यानल छलफल चलाउनुभयो । ‘प्यानल डिस्कसन’ मा नेपाल र श्रीलङ्काको अहिलेको पत्रकारिता प्रवृत्तिबारेमा धारणा राख्नुभयो । 

गोष्ठीको उद्घाटन मानविकी तथा सामाजिकशास्त्र संकायका निमित्त डिन प्राडा. दुविनन्द ढकालले गर्नुभयो । उहाँले पाठ्यक्रम परिमार्जनमा यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गर्नुभयो । 

पत्रकारिता केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले अन्तरक्रिया कार्यक्रमले पत्रकारिताका विषयका विद्यार्थीहरु लाभान्वित भएको र विभागको कोर्स अफ स्टडी परिमार्जनमा पनि यसले सहयोग पुगेको धारणा राख्नुभयो । अहिलेको युग सूचना प्रविधिको युग भएकाले विभागका पाठ्यक्रमलाई समजअनुसार परिमार्जन गर्न पनि कार्यक्रमले सहयोग पुगेको उहाँको भनाइ छ । 


कार्यक्रममा पत्रकारिता विभागका दर्शनाचार्य, स्नातकोत्तर तहका विद्यार्थी तथा सेन्ट जेभियर्स कलेजका विद्यार्थी र मिडिया पेशाकर्मीसहित करिब एक सय जनाको सहभागिता थियो ।