• ११ असोज २०८१, शुक्रबार

लुम्बिनीमा पर्यटन विकासको प्रचुर सम्भावना छ : मुख्यमन्त्री आचार्य

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य।

लीलाधर ओली

घोराही, असोज ११ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश पर्यटन विकासका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ। 

४५ औं विश्व पर्यटन दिवसका अवसरमा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय र घोराही उपमहानगरपालिकाले संयुक्त रुपमा घोराहीमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटनको धनी क्षेत्र लुम्बिनी भएको बताउनुभएको हो। 

धार्मिक, प्राकृतिक एवं सांस्कृतिक विविधता सबै दृष्टिकोणले लुम्बिनी देशभरमै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको भन्दै मुख्यमन्त्री आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरेर पर्यटक भित्राउन आवश्यक रहेको बताउनुभयो। 

लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा रहेको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘लुम्बिनी प्रदेश पर्यटन विकासका लागि प्रचुर सम्भावना छ। यो क्षेत्र गौतम बुद्धसँगै स्वर्गद्वारी महाप्रभुुले तपस्या गरेको, जातीय तथा सांस्कृतिक विविधताले भरिएको र प्राकृतिक रुपमा बाँके र बर्दिया राष्ट्रिय निकञ्ज भएको क्षेत्र हो। यी विभिन्न जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ। यी क्षेत्रको विकास गर्दै पर्यटकलाई भित्राउन सकियो भने पर्यटन क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिन्छ।’ 

पर्यटन क्षेत्रबाट समृद्धि प्राप्त गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक बढाउन आवश्यक रहेको भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश भ्रमणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै क्षेत्रलाई आह्वान गर्नुभएको थियो। लुम्बिनी प्रदेशमा पर्यटकको आगमन बढाउनका लागि प्रदेश सरकारले ‘लुम्बिनी घुमौं अभियान’ सुरु गरेको भन्दै सबै मिलेर अभियानलाई व्यापक बनाउनुपर्ने बताउनुभयो। 

प्राकृतिक रुपमा लुम्बिनी समृद्ध रहेको र यसबाट विकासको आधार निर्माण गरिने मुख्यमन्त्री आचार्यको भनाइ थियो। कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटक क्षेत्रको विकासका माध्यमबाट प्रदेशको आर्थिक समृद्धिसँगै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले लुम्बिनी प्रदेश उत्कृष्ट रहेकाले सबै क्षेत्रको विकास गर्दै पर्यटक बढाउन सकिने बताउनुभयो।