• ११ असोज २०८१, शुक्रबार

जैविक विविधता पर्या-पर्यटन सम्बन्धी चित्रकला प्रदर्शनी

blog

बिष्णुप्रसाद पोखरेल

दमक, असोज ११ गते । विश्व पर्यटन दिवसको सन्दर्भमा झापामा जैविक विविधता पर्या–पर्यटन सम्बन्धी चित्रकला प्रदर्शनी गरिएको छ । कोशी प्रदेशमा पाइने विभिन्न प्रजातिका चरा, रेडपाण्डा, हरियो विरालो, सर्प कछुवा, ठकठके, लगायतका ३९ वटा फोटो प्रदर्शनीमा राखिएको हो ।

पर्यटन कार्यालय काँकरभिट्टाको परिसरमा विहीबार र शुक्रबार फोटो प्रदर्शनीमा राखिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले बताउनुभयो । खरेलका अनुसार मेचीनगरमा मात्रै ३४२ प्रजातिका चरा रहेको पत्ता लागेको बताउदै चरा पर्यटनको सम्भावाना खोजी गरिनु पर्ने बताउनुभयो ।

शुक्रबार प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले कोशी प्रदेश पर्यापर्यटनको उर्वर भूमि रहेको बताउनुभयो । उहाँले जैविक विविधताका हिसाबले समेत कोशी प्रदेश पर्यटनको प्रमुख हव बन्ने भएकाले यसका लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले झापा सहित पुर्वी नेपाल पर्यटनको लागि धेरै नै सम्भावानायुक्त क्षेत्र भएकाले यसको प्रचारप्रसार आवश्यक रहेको जनाउनुभयो । पर्यटनको विकासका लागि कोशी प्रदेश सरकारले बिभिन्न कार्यक्रमहरु ल्याएको जनाउँदै यसको कार्यन्वयन गरिने उहाँको भनाइ थियो ।

यसैबिच पर्यटन कार्यालय काँकरभिट्टाले विश्व पर्यटन दिवसको अवसरमा विदेशबाट आउने पहिलो दुई जना पर्यटकलाई पूर्वी प्रवेशद्वारमा स्वागत गर्दै फुलमाला लगाएर सम्मान गरेको छ । शुक्रबार नेपाल प्रवेश गर्ने पहिलो पर्यटक भुटानी नागरिक टिवि मगर र मनमाया पुलामीलाई पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा र अध्यागमन कार्यालयका प्रमुख तुलसी भट्टराईले स्वागत गर्नुभएको थियो ।