• ८ पुस २०८१, सोमबार

उपत्यकाका नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह

blog

लगातार वर्षापछि काठमाडौँ उपत्यकाको नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह । फाइल तस्बिर

काठमाडौँ, असोज ११ गते । जल तथा मौसम विज्ञा विभागले काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ ।

मौसम विभागले शुक्रबार दिउँसो सूचना जारी गर्दै उपत्यकास्थित बागमती नदीको खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तहपार गरेको जनाएको छ ।

विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने विभागले जनाएको छ ।


 बागमती नदीले खतराको तह पार गर्‍यो

राससका अनुसार, बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । 

यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले भोलि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालका विभिन्न ३२ वटा बाढी मापन केन्द्रमा जल सतह चेतावनी तहमा पुगेको जानकारी गराएको छ । प्राधिकरणले आजै सूचना जारी गरी कुलेखानीको ड्याम भरिनसक्ने र खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले तल्लो क्षेत्रका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरेको छ । 

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कुलेखानी बाँधदेखि तलका क्षेत्र र रौतहट सर्लाहीसम्मका बागमती तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।