• ११ असोज २०८१, शुक्रबार

झरीले जनजीवन प्रभावित

blog

फाइल तस्बिर : गाेरखापत्र ।

राधा लुइटेल

फिदिम, असोज ११ गते । तीन दिनअघिदेखि भइरहेको वर्षाका कारण पहाडी जिल्ला पाँचथरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण जिल्ला सदरमुकाम फिदिमसँग गाउँपालिका केन्द्र र वडाहरुमा जोड्ने अधिकांश सडक अवरुद्व भएका छन् । 

धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने तमोर करिडोर दुई दिनदेखि ठप्प छ । तमोर करिडोर अन्तर्गत धनकुटा र पाँचथरको सिमावर्ती नावा खोलामा बाढी आएका कारण धरानबाट पाँचथर ताप्लेजुङ र ताप्लेजुङ पाँचथरबाट मुलघाट हुँदै धरान विराटनगर जाने सवारी र ढुवानी साधन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डिएसपी) हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, पहिरो गएका कारण पाँचथरको राँकेदेखि रवि छ नम्बर बुधवारे हुँदै धनकुटाको भेडेटार निस्किने सडक पनि अवरुद्व भएको छ । हेवा खोलामा आएको बाढीले डाइभर्सनको सतह पार गरेपछि सदरमुकामदेखि फालेलुङ गाउँपालिका तर्फ जाने सवारी र ढुवानीका साधन आवागमन बन्द भएको छ ।

फालेलुङ ३ र ७ को सिमावर्ती हेवा खोला स्थित घुमाउनेटारमा बिहिबार  सॉझदेखि डाइभर्सनमा माथिबाट पानी बग्न थालेपछि यातायात ठप्प भएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगूले जानकारी दिनुभयो । उहाँका अनुसार हेवा खोलामा बाढी आएपछि डाइभर्सनको सतह पार गरेको हो । 

गाउँपालिकाले निरन्तरको झरीसँगै ठाउँ ठाउँमा पहिरोको जोखिम बढेको भन्दै तत्काल यात्रा तय नगर्न स्थानीयलाई सुचित गरेको छ । २०८० साल असार २ गते आएको बाढीले हेवा खोलामा पर्ने घुमाउनेटार लुमाङदिन र सोमबारे घाटका पुल बगाएपछि स्थानीय सरकारले नागरिकसँग श्रमदान र आर्थिक सहयोग आह्वान गर्दै डाइभर्सन बनाएको थियो ।

बनाइएका मध्ये सोमबार घाटको डाइभर्सन गने जेठ १ गते नै पुरिएको छ । ती खोलामा पक्की पुल नबन्दा सम्म डाइभर्सनबाट पानी तर्काएर वारपार गर्नुपर्ने अवस्था आइपरेको हो।