• ११ असोज २०८१, शुक्रबार

नेपालगन्जमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन

blog

ट्राफिक व्यवस्थापनका लागि छलफल गर्दै सुरक्षा निकायका प्रमुखलगायत । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ११ गते । दसैँ, तिहार र छठ लगायतका चाडपर्वलाई विचार गर्दै नेपालगन्ज सहरको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने निर्णय गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवाला निकायको बैठकले सवारीसाधन र सर्वसाधारणको चाप हुने सहरका विभिन्न ठाउँमा नवरात्र सुरु हुनु अगाडि नै वान–वे (एकतर्फी बाटो) सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ । 

स्थानीय गणेशमान चोकदेखि चारबाहिनी चोकसम्म जाने मात्र र फर्किंदा त्रिशक्ति मार्गबाट मात्र फर्किन गरी वन–वे बाटो सञ्चालन गर्ने निर्णय भएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँले यसका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीले एकआपसमा समन्वय गरेर काम गर्ने बताउनुभयो। 

यसैगरी नेपालगन्जको मुख्य बजारभित्र सञ्चालन हुने ठेला, इ–रिक्सा लगायत अन्य सवारीसाधन ट्राफिक अवरोध नहुने गरी प्रचलित ट्राफिक नियम अनुसार सञ्चालन गर्ने गराउने, ट्राफिक प्रहरी कार्यालयले नेपालगन्ज उद्योग बाणिज्य सङ्घसँग समन्वय गरी त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्म तीन–तीन दिन पालो गर्ने गरी वन–वे बाटो चलाउन पहल गर्ने, सार्वजनिक बाटोमा यत्रतत्र निर्माण सामग्री राखी बाटो अवरुद्ध गर्ने र ट्राफिक व्यवस्थापनमा असहजता उत्पन्न गराउने कार्यलाई निरुत्साहित गर्ने, निर्माणलगायतका अन्य सामग्री बाटोमा राख्न नदिने सडकपेटी फुटपाथ तलदेखि माथिसम्म पूरै खाली गर्ने लगायतका निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

उता, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले चाडबाडका बेला हुने भिडभाड र ट्राफिक चापलाई व्यवस्थित गर्ने गरी विभिन्न निर्णय गरेर कार्यान्वयन सुरु गरिएको बताउनुभयो । उहाँले सवारी साधनबाट जहाँसुकै यात्रु चढाउने र ओराल्ने कार्य गर्दा दुर्घटनाको जोखिम बढेकाले त्यसलाई निरुत्साहित गर्ने, सडकका छाडा पशुचौपायालाई शनिबारको दिन नियमित काञ्जी हाउस पुर्‍याउँदै आएकोमा त्यसलाई निरन्तरता दिने, चाडपर्वका बेला बजार क्षेत्रमा अनुगमनलाई सघन बनाउँदै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सरोकारवाला सबै सक्रिय हुने निर्णय पनि गरिएको बताउनुभयोे । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्वको समयमा ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षा प्रमुख प्राथमिकताका विषय भएको जनाउँदै दुबैका लागि सुरक्षा निकाय र सम्बन्धित निकायसँग छलफल गरेर योजना बनाइएको बताउनुभयो । उहाँले विभिन्न कारणले नेपालगन्जको ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको जनाउँदै त्यसलाई सही तरिकाले व्यवस्थापन गर्न सबैको सहयोग आवश्यक रहेकोले सहयोग गर्न आग्रह गरिएको बताउनुभयो ।