• ११ असोज २०८१, शुक्रबार

भैरहवा र पोखरा विमानस्थल सञ्चालन भए दोब्बर पर्यटक नेपाल भित्रिन्छन् : अध्यक्ष शाह

blog

नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाह पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, असोज ११ गते । नेपाल होटल सङ्घ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ । पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल सङ्घलगायत सम्बन्धित सङ्घसंस्थाहरु टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरु तयार रहेको जानकारी दिनुभयो । उहाँले सबै मिले देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्थाभन्दा दोब्बर हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पनि पर्यटन नै हो । राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन, राज्यले अवलम्बन गरेका नीति र कार्यक्रमहरुमा होटल सङ्घलगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरु टुगेदर फर टुरिजमको नाराका साथ सम्बन्धित सङ्घसंस्था सबैले काँधमा काँध मिलाएर सहकार्य गरी यो देशको उन्नति र प्रगतिको लागि अघि बढेका छौँ । नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पनि पूर्णरुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्थाभन्दा दोब्बर हुन सक्छन् ।’’

अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढीकरण जोड दिनेगरी बन्नेमा आशावादी रहेको बताउनुभयो ।