• ११ असोज २०८१, शुक्रबार

सञ्चालन नहुँदै जीर्ण बन्यो विश्वविद्यालयको रेडियो

blog

सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयपरिसरमा जीर्ण अवस्थामा रहेको रेडियोको टावर ।

नवीन सुवेदी

सुर्खेत, असोज १० गते । मध्यपश्चिम विश्वविद्यालयले आमसञ्चार अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रमा राखेर अघि सारेको रेडियो (एफएम) स्थापनाको योजनाले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन । 

आर्थिक वर्ष २०७३/७४ बाटै स्थापनाको तयारी भए पनि अहिलेसम्म सञ्चालन भएको छैन । बनाइएका संरचना जीर्ण हुनुका साथै रेडियो टावर, अन्य सामग्री, उपकरण प्रयोगमा नआईकनै खिया लाग्न थालिसकेका छन् । अहिले टावर ढल्किएको अवस्था छ । 

विश्वविद्यालयको केन्द्रीय कार्यालयपरिसर वीरेन्द्रनगरको कुइनेपानीको पश्चिमतर्फ रेडियो स्थापनाको काम अघि बढेको थियो । विश्वविद्यालयका तत्कालीन रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल भन्नुहुन्छ, “मेरो कार्यकालमा रेडियो स्थापना गर्ने भनेर काम अघि बढेको हो । हामीले स्थापनाका लागि स्वीकृतिसमेत ल्याइसकेका थियौँ तर सबै अलपत्र पर्‍यो ।”

उहाँका अनुसार त्यो बेला एक वर्षमै स्थापना गर्ने लक्ष्यका साथ काम अघि बढेको थियो । स्टेसनका लागि जग खन्ने काम भइसकेको थियो भने अन्य उपकरण पनि खरिद भइसकेका थिए । आफू बाहिरिएपछि उक्त कामले निरन्तरता नपाएको मल्लको गुनासो छ । त्यो बेला रेडियोका उपकरण खरिद गर्ने र अन्य कामका लागि करिब दुई करोड रुपियाँसम्म लगानी भएको थियो । मल्लका अनुसार आमसञ्चारका विद्यार्थीलाई अध्ययन सजिलो होस् भन्ने उद्देश्यका साथ आफ्नै रेडियो सञ्चालनमा ल्याउने काम भएको हो । साथै विश्वविद्यालयका समग्र सूचना तथा जानकारीलाई आफ्नो रेडियो (एफएम) बाट प्रसारण गर्न सजिलोका लागि पनि उक्त योजना अघि बढाइएको उहाँले बताउनुभयो । 

यस्तै पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई ल्याबको काम गर्न सजिलो होस् भन्ने थियो । त्यसपछि टावर निर्माणको काम र ट्रायल गर्ने काम भए पनि रेडियो सञ्चालनका लागि पछिल्लो नेतृत्वको खासै चासो दिएन । यसका कारण अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । रेडियोको छुट्टै भवन निर्माणका लागि समेत बजेट विनियोजन गरिएको थियो । पछिल्लो नेतृत्वको प्राथमिकतामा उक्त काम नपर्दा भने योजना अलपत्र परेको मल्ल बताउनुहुन्छ ।

विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डा. नारायणप्रसाद पौडेलले उक्त कामलाई पूर्णता दिन नसकिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “सञ्चालनका लागि हामी प्रस्ताव लिएर सञ्चार मन्त्रालयमा पनि पुगेका थियौँ तर भएन । धाउँदा धाउँदा हैरान भइयो तर सञ्चार मन्त्रालयबाट कोही आएर हेरेर निर्णय गरिदिएनन् ।”

उहाँका अनुसार रेडियोको ट्रायल गर्ने काम भने भएको थियो । त्यसपछि नवीकरण गर्नुपर्ने भयो । त्यस क्रममा चाहिनेभन्दा धेरै रकम माग भएपछि काम रोकिएको पौडेलले बताउनुभयो ।