• ९ मंसिर २०८१, आइतबार

आज मतदाताको परीक्षा

blog

आज वैशाख ३० गते । नेपाल र नेपालीका लागि लामो प्रतीक्षाको दिन अन्त्य भएको छ । सङ्घीय शासन व्यवस्थाअन्तर्गत स्थानीय तहका लागि दोस्रो निर्वाचनको दिन हो आज । नेपालीका लागि ठूलो पर्व, ठूलो महोत्सव र एक किसिमको ठूलो मेला पनि हो । नेपाली जनता यो महोत्सवमा सहभागी हुन उत्साहित रहेको पाइएको छ । प्रत्येक पाँच वर्षमा हुने यो निर्वाचन महोत्सवका लागि जनता कति उत्साहित छन् भन्ने राजधानीबाट मतदानका लागि बाहिरिएका मतदाताको सङ्ख्याले स्पष्ट पार्छ । एक अनुमानअनुसार स्थानीय निर्वाचनका सन्दर्भमा करिब पन्ध्रदेखि बीस लाख मतदाता उपत्यकाबाट बाहिरिएका छन् ।

निर्वाचन आयोगका अनुसार यस पटक स्थानीय तहमा मतदानका लागि एक करोड ७७ लाख ३३ हजार सात सय २३ नेपाली नागरिक योग्य छन् । यसमा ८७ लाख ४१ हजार पाँच सय तीसजना महिला छन् भने पुरुष मतदाताको सङ्ख्या ८५ लाख ५२ हजार दस छ । निर्वाचन आयोगले अन्यका रूपमा एक सय ८३ जना मतदाताको पहिचान गरेको छ । मतदाताको यो सङ्ख्यामा १६ देखि १८ वर्ष उमेर समूहलाई सामेल गरिएको छैन ।

यस उमेर समूहकाले नागरिकता प्राप्त गर्ने र नागरिकताका आधारमा नेपालको कानुनले दिएको अधिकार प्रयोग गरी अन्य सबै काम गर्न सक्ने ल्याकत राखे पनि मतदान गर्ने अधिकार भने राख्दैन । किन ? सम्बद्ध सरोकारवाला निकायसँग यस प्रश्नको समुचित जवाफ छैन । यो उमेर समूहलाई पनि सूचीकृत गरिएको अवस्थामा मतदाताको कुल सङ्ख्या बढ्ने कुरा त छँदैछ निर्वाचनको सम्भावित परिणाम नै पनि फरक ढङ्गले प्रभावित हुन सक्छ । 

यो निर्वाचनको महìव स्थानीय स्तरमा लोकतन्त्र र सङ्घीयताको संवद्र्धन तथा संस्थागत विकास गर्ने कुरासँग जोडिएको छ । यति मात्र होइन, स्थानीय तहको निर्वाचन स्थानीय स्तरमा वास्तविक अर्थमा विकासको लहर सञ्चालन गर्ने विषयसँग पनि सम्बन्धित छ । स्थानीय तहका लागि प्रस्तुत उम्मेदवारसँग मतदाताको प्रत्यक्ष सम्पर्क हुन्छ । प्रत्यक्ष चिनजान हुन्छ । यस आधारमा उम्मेदवार जनताप्रति प्रत्यक्ष जिम्मेवार हुने विश्वास गरिन्छ । स्थानीय तहको लोकतन्त्र प्रत्यक्ष लोकतन्त्र हो । यहाँ मतदानका माध्यमबाट मतदाता आफ्ना लागि आफैँ सरकार बनाउने प्रक्रियामा सहभागी हुन्छन् । जनताले चुनेका प्रतिनिधिले प्रत्यक्ष रूपमा शासन सञ्चालन गर्छन् ।

अन्य कुनै पनि तहको सरकार निर्माणमा जनता (मतदाता)को प्रत्यक्ष संलग्नता रहँदैन । प्रदेश र सङ्घीय तहमा गठन हुने सरकारमा मतदाताले चुनेका प्रतिनिधिले ती तहको सरकार निर्माणमा भूमिका निर्वाह गर्छन् । यसो गर्दा ती प्रतिनिधिले आफ्ना मतदातासँग कुनै सल्लाह र परामर्श गर्दैनन् र गर्न आवश्यक पनि ठान्दैनन् ।महत्त्वपूर्ण कुरा त के हो भने प्रादेशिक र सङ्घीय प्रतिनिधिले यी तहमा सरकार निर्माण गर्ने सन्दर्भमा मतदातासँग सम्पर्क गर्न चाहेछन् भने पनि संविधानले त्यसका लागि कुनै उपयुक्त संयन्त्रको परिकल्पना गरेको छैन । यस आधारमा विश्लेषण गर्ने हो भने नेपालको संविधानले स्थानीय तहमा मात्र प्रत्यक्ष लोकतन्त्रको कल्पना गरेको छ । बाँकीका दुई तह अर्थात् प्रदेश र सङ्घमा संविधानले अप्रत्यक्ष लोकतन्त्रलाई स्वीकार गर्दै सरकार निर्माणमा जनताको प्रत्यक्ष सहभागितालाई अस्वीकार गरेको छ ।  

माथिको विश्लेषणका आधारमा निष्कर्ष निकाल्न सकिन्छ, स्थानीय शासकीय संरचनाको संस्थागत विकासका लागि स्थानीय लोकतन्त्रको प्रत्याभूति आवश्यक छ । शासनलाई तल्लोस्तरसम्म विकेन्द्रित र संस्थागत गर्ने दिशामा स्थानीय निकायको निर्णायक भूमिका छ । नेपालको संविधान २०७२ अनुसार शासनको सर्वाधिक सशक्त र प्रभावकारी संरचना नै स्थानीय तह हो ।

संविधानले राष्ट्रिय सुरक्षा, विदेश नीति, मौद्रिक नीति र राजनीतिक प्रणालीमा फेरबदलबाहेकका सबै अधिकार स्थानीय सरकारलाई प्रत्याभूत गरेको छ । यसै आधारमा गाउँगाउँमा सिंहदरबार भनिएको हो । यसको अर्थ हो, स्थानीय जनतालाई स्थानीय स्तरमा आवश्यक सबैजसो सेवा स्थानीय सरकारकै माध्यमबाट उपलब्ध हुनु ।

आमजनता स्थानीय तहको सरकार गठनका सम्बन्धमा गभ्भीर हुनुपर्ने कारण यही नै हो । माथि उल्लेख गरिएका चार प्रकारका कामबाहेक सबै काम स्थानीय सरकारबाटै हुने सुनिश्चितताका कारण पनि यस तहको महìव बढेको हो र यही कारण हो स्थानीय निर्वाचनप्रति जनताको चासो अत्यधिक वृद्धि भएको देखिएको हो । उपयुक्त जनप्रतिनिधि चयनको अभावमा माथि उल्लेखित लक्ष्य प्राप्त हुन नसक्ने भएकाले मतदाताले स्थानीय सरकार सञ्चालकको चयनमा गम्भीर हुनु अपरिहार्य छ । 

यस सन्दर्भमा केही प्रश्नप्रति सबैको ध्यानाकर्षण हुनु जरुरी छ । यति महत्त्वपूर्ण निकायका रूपमा रहेको स्थानीय तहको निर्वाचन कति मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न हुन सक्छ ? यस्तै मतदानमा बढीभन्दा बढी मतदाता सहभागी गराउने कुराको सुनिश्चितता कसरी हुन्छ ? यसैगरी मतदानमा सहभागी भएकाको मत बढीभन्दा बढी कसी सदर बनाउन सकिन्छ ? यसबाहेक अन्य केही विषयमा पनि विज्ञहरूले ध्यानाकर्षण गराएका छन् । यस पटक मतदाता शिक्षालाई अभियानकै रूपमा सञ्चालन गर्न नसक्दा बदर मतको प्रतिशत बढ्न सक्ने सम्भावना व्यक्त गरिएको छ । यस्तै, थुप्रै मृतकको नाम मतदाता नामावलीबाट हटाउन नसकिएको अवस्थामा खसेको मत सङ्ख्याको प्रतिशतमा कमी आउन सक्छ । 

अर्को समस्या हो, जुन ठाउँको मतदाता नामावलीमा नाम छ त्यहीँ पुगेर मतदान गर्नुपर्ने बाध्यता । यस प्रावधानबाट विदेशमा रहेका, सरकारी र गैरसरकारी निकायमा कार्यरत कर्मचारी, विद्यार्थी र रोजगारीका सन्दर्भमा नेपालमै अन्यत्र रहन बाध्य मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउन छैनन् । जानकारले अर्को समस्याबारे पनि ध्यनाकर्षण गराएका छन् । त्यो हो अवैज्ञानिक मतपत्रको अल्झो । उम्मेदवार मनोनयनभन्दा पहिले नै मतपत्र छापिने प्रक्रियाका कारण मतपत्रमा अनावश्यक चिह्न छन् । यसबाट मतदाता भ्रमित हुन सक्ने सम्भावना छ ।

मतपत्रमा भएको अनावश्यक चिह्नको भीडबाट मतदाता थिचिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । यस पटक मतदानका दिन अर्थात् आज मौसम प्रतिकूल रहन सक्ने प्रक्षेपण गरिएको छ । साँच्चै यो प्रक्षेपण सत्य ठहरियो भने मतदानको प्रक्रिया प्रभावित हुन सक्ने ठूलो जोखिम छ । आजको वैज्ञानिक युगमा मौसमबारेको अनुमान निकै पहिले नै गर्न सकिन्छ । पहिलो कुरो त निर्वाचनको तिथि तय गर्ने सन्दर्भमै मौसमबारे सोचिनु उचित हुन्छ । अर्को, यस्तो सोचिएको छैन भने मौसमको प्रतिकूलतासँग जुध्ने रणनीतिबारे सोचिनु जरुरी हुन्छ तर नेपालका सन्दर्भमा सायद यस्तो केही सोचिएको छैन । 

माथि उल्लिखित विषय कसैको आलोचना वा कसैप्रति लक्षित गुनासासँग सम्बन्धित छैनन् । यस आलेखको उद्देश्य त मतदानमा बढीभन्दा बढी मतदातालाई कसरी सहभागी गराउने र मतदानको प्रतिशत कसरी बढाउने कुराबारे सम्बद्ध निकायको ध्यानाकर्षण गर्नु हो । आज मतदान हो । यस पटकलाई माथि उल्लिखित समस्याका सन्दर्भमा सम्बोधन गर्न सक्ने गुञ्जायस छैन । आगामी दिनमा हुने निर्वाचनका सन्दर्भमा यी कुराबारे निर्वाचन आयोगलगायत सम्बद्ध निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।  

कुनै शङ्का छैन, स्थानीय लोकतन्त्रको सञ्चालन स्थानीय व्यक्तिबाटै हुनुपर्छ । लोकतन्त्रले बहुलवादलाई स्वीकार गर्छ । यसको अर्थ हो, समाजमा भएका प्रत्येक व्यक्ति र वर्गको विचारलाई महत्त्व प्रदान गरिनुपर्छ । बहुलवादको अर्थ अयोग्य सत्तासीन हुनुपर्छ भन्ने कदापि होइन । बरु यसको अर्थ अयोग्य र कम क्षमता भएकालाई योग्य र क्षमता सम्पन्न बनाउनु हो । पछिल्लो समयमा नेपाली मतदातामा जातीयता, क्षेत्रीयता र साम्प्रदायिकताको भावना बढेको पाइएको छ ।

यो गलत हो । वास्तवमा यो जनताको दोष होइन । यो त लोकतन्त्रका हाम्रा सञ्चालक दल र नेताको त्रुटिको उपज हो । जे होस्, नेपाली जनताले स्थानीय स्तरमा लोकतन्त्रको अभ्यास गर्ने अवसर पाएका छन् । यस अर्थमा आजको दिन महत्त्वपूर्ण छ । मतदाताले कुनै पनि प्रकारको दबाब, प्रभाव, प्रलोभन र भ्रममा नपरी आफ्नो मतको सदुपयोग गर्नु वाञ्छनीय छ । यसो गर्दा नेपाली लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र जति बलियो हुन्छ नेपाली नागरिक, समाज र समग्रमा देश त्यति नै बलियो हुनेछ । आफ्नो ठाउँमा आफ्नो प्रत्यक्ष र सशक्त सरकार गठनका लागि सबैलाई शुभकामना । 


Author

धर्मेन्द्र झा