लेखक मोहन मैनालीको ‘मुकाम रणमैदान’ पुस्तकले २०८० सालको मदन पुरस्कार पाएको छ । मैनालीका ‘उपल्लो थलो’, ‘नदेखेको देश’, ‘मान्ठा डराएको जुग’, ‘आकाशमुखी’ (अनुवाद) लगायत पुस्तक प्रकाशित छन् । ‘जोगिमाराका ज्यूँदाहरू’, ‘पुनेको प्यान्ट’, ‘आउलाकि टिम्बर टु तिब्बत’, ‘बुढीगण्डकीको सेरोफेरो’ लगायत वृत्तचित्रको निर्देशन गरेका मैनाली खोज पत्रकारिता, अनुसन्धानमूलक लेखन र भाषानुवादका क्षेत्रमा समेत प्रशस्त काम गर्नुभएको छ । प्रस्तुत छ, लेखक मैनालीसँग सुकृत नेपालले गर्नुभएको कुराकानी–
‘मुकाम रणमैदान’ ले मदन पुरस्कार पाउला भन्ने सोच्नुभएको थियो ?
यो अप्रत्याशित हो, किनभने नेपालमा धेरै पुस्तक छापिन्छन् । त्यसमाथि कविता, आख्यान, गैरआख्यान सबैबाट छानिनुपर्दा यो छानिन्छ जस्तो लागेको थिएन । अर्को कुरा लेखकले साह्रै धेरै छानिएला भन्ने लोभ पनि गर्नुहुँदैन भन्ने लाग्छ किनकि यसले अलिकति नराम्रो मोडतिर लिएर जान्छ । त्यसैले मलाई मेरो पुस्तक पाँच वटामा छानिनु अप्रत्याशित नै लाग्यो ।
एउटा अन्तर्वार्तामा तपाईंले ‘मुकाम रणमैदान’ ले मदन पुरस्कार पाउँदैन भन्ने धारणा व्यक्त गर्नुभएको थियो, किन ?
जब श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक छानिए । त्यो पाँच वटामध्ये कुनै एउटाले पाउने हो भनेपछि मेरो २० प्रतिशत मात्र सम्भावना भयो भन्ने मलाई लाग्यो । त्यहाँ आएका पुस्तक कुनै क्रम अनुसार राखेको होइन । नाम अनुसार हो । यो भएपछि त मेरो चान्स त त्यति नै त हुने भयो नि । त्यो २० प्रतिशत मात्र सम्भावना भएको कुरा सयमा पुग्न अफ्ठ्यारो हो र यो सबैलाई नै गाह्रो हुने कुरा पनि हो ।
तपाईंका पुस्तक सबै गैरआख्यान छन्, ‘मुकाम रणमैदान’ र अन्य पुस्तकमा के फरक छ ?
योभन्दाअघिको मेरा तीन वटा किताब ‘उपल्लो थलो’, ‘मान्ठा डराएको जुग’, ‘देखेको देश’ यी सबै पत्रकारिताका सिलसिलामा जेजति जानकारी र विश्लेषण मैले पाएँ तिनकै बारेमा लेखिएको हो । यो पत्रकारिताभन्दा बाहिर होइन । एउटा जुन मैले अनुवाद गरेँ मैले पढेका राम्रा अङ्ग्रेजी निबन्ध त्यसमध्ये पनि जुन लेखक बितेको पचास वर्ष भइसकेको छ अर्थात् कपिराइट छैन । त्यो पनि एक किसिमले भन्दा पत्रकारिताको सिलसिला किन पनि हो भने आफूसित भएको सिप सिक्ने क्रममा जे पढेँ त्यसको आधारमा हो तर यो अहिलेको किताब मैले पत्रकारिताको विषय भनेर खोजेको एउटा पनि कुरा छैन ।
एकदमै नौलो क्षेत्रमा प्रवेश गरेको थिएँ । किनभने एकदमै रुचि लाग्दो जानकारी पाइए जुन मैले खोज्नका लागि होइन यत्तिकै आकस्मिक रूपले फेला परे र त्यसले मलाई किताब लेख्नेतिर डोरायो । त्यसले गर्दा अगाडिका चारवटै पुस्तक मेरो पेसासँगै सम्बन्धित भए तर यो एकदमै नितान्त नौलो संयोग हो । अन्य पुस्तक विषयका हिसाबले गर्दा पनि फरक भए । तीन वटा पुस्तक मेरो समकालीन हुन् । मैले जुन कुरा अहिलेको कालमा भोगेको थिएँ, भेटेको थिएँ, तिनीहरू हुन् र त्यसमध्ये धेरै जानकारी सङ्कलन मैले आफ्ना आँखाले देखेर आफूले पढेर र आफूले घुमेर सङ्कलन गरेको हुँ । मुकाम रणमैदान म जन्मिनुभन्दा पनि धेरै अघि अहिले यो हिसाब गरेको झन्डै झन्डै आठ/नौ पुस्ताअघिको रहेछ । आठ/नौ पुस्ताअघिका मान्छेले भोगेको जो सम्झनाका भरमा हो भने त्यति पुस्तान्तर भएर आइपुग्दा कहाँबाट कहाँ पुग्छ । यसको दृष्टिगत हिसाबले पनि यो पहिलाको हो भने अन्य जति पनि कुरा छन् तीमध्ये धेरै मेरा आफ्ना समयका हुन् ।
तपाईंले पढ्नुभएको पहिलो पुस्तक कुन थियो ? नेपालमा अहिले पठन संस्कृति बढेको हो ?
मैले एसएलसी र आइए दिइसकेपछिको समयमा मभित्र पढ्ने रुचि बसेको हो । मैले पढेको पहिलो पुस्तक तुलसीराम कुँवरको ‘रोनी’ भन्ने थियो । धेरै पहिलाको तुलनामा हेर्ने हो भने पठन संस्कृति घटेको भन्ने छ । १० वर्षअघि जुन किसिमको माहोल मैले पाएको थिएँ त्यो अहिले अलिकति घटेको छ । यसको कारण भनेको मान्छे बाहिर पनि गए र अन्य कुरा जस्तै प्राविधिक कुरा जस्तै मोबाइल, ल्यापटपलगायत कुरामा मान्छे अलमलिन पनि थाले । अथवा अहिलेका पुस्ताले किताबमा जे पाइन्छ भन्ने सोच्छन् अहिले त्यता पनि गएका छैनन् तर मलाई किताबले दिने कुरा त्यताबाट दिँदैन भन्ने हुनाले अहिले पनि हाम्रो जुन खालको जनसङ्ख्या, पढाइ छ र यस्तो बेलामा अलिकति पढ्ने चाहिँ युवाले रहेछ । पुस्तकमा धेरै बानी नबसेको हुनाले जे पनि पढौँ भन्ने हुँदो रहेछ । त्यसकारण पहिलाको तुलनामा बढेको हो तर बिचमा जुन किसिमले माथि गएको हो त्यो अहिले अलिकति घटेको जस्तो लाग्छ ।
‘मुकाम रणमैदान’ कस्तो पुस्तक हो ?
आज हाम्रो दिमागलाई जे जे कुराले दोहोर्याएको छ त्यो दोहोर्याउने एउटा घटना । नेपाल र अङ्ग्रेजबिच भएको युद्धका घटनाका बारेमा लेखिएको हो । अहिले हाम्रो जुन सीमा छ त्यो सीमाभन्दा उता हामी नेपाल भन्दैनौँ अर्को कसैले भन्यो भने उग्र विरोध गर्छौं । त्यो सीमा निर्धारण गर्ने विलम्ब र अहिलेको स्वरूप निर्धारण गर्ने घटना त्यसको बारेमा । त्यो लडाइँ कसरी लडेका रहेछन् भन्ने कुरा हो । यसले भोगेको लडेको सबैभन्दा ठुलो र लामो लडाइँका बारेमा हो । दिनभरि लड्यो र बेलुका चिठी लेखेको आधारमा यो लडाइँ कसरी लड्यो भन्ने कुरा पुस्तकमा बताउन खोजेको छु ।