• ६ पुस २०८१, शनिबार

अझै तीन हप्ता डेंगुको जोखिम कायमै, दशैँमा भयावह हुन सक्ने आँकलन

blog

काठमाडौं, असोज ७ गते । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ ।

यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।

यो पनि पढ्नुहोस

डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०÷२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो  

 उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

यो पनि पढ्नुहोस

डेङ्गुबाट एकको मृत्यु, २४ मा सङ्क्रमण

अबको २०-२२ दिन लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुले महामारीको रुप नलिने उहाँको भनाइ छ ।  


उपत्यकामा सङ्क्रमण बढ्दै 

पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । कीटजन्य शाखाका प्रमुख डा.दाहालले सङ्ख्यात्मक हिसाबले काठमाडौं उपत्यकामा पनि डेंगु सङ्क्रमण क्रमिक रुपमा बढ्दै गएको बताउनुभयो ।  

उहाँ भन्नुहुन्छ,“बिरामी सामान्य उपचार गराउन पनि काठमाडौं आउने भएकाले होला पछिल्लो समय उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या बढेको छ ।” पछिल्ला केही हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । 

अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले पछिल्लो केही हप्तादेखि अस्पतालमा डेंगु सङक्रमण भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो । 

दुई तीन दिनमा नै डेंगुका दर्जनौ बिरामी थपिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ,“डेंगु सङ्क्रमण भएर अस्पतालमा आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । दुई दिनमा नै दर्जनौं बिरामी थपिएका छन् । डेढ हप्तामा १४० भन्दा बढी डेंगु भएर बिरामी आएका छन् ।”

उहाँका अनुसार अस्पतालको इमर्जेन्सीमा बिरामी तारन्तार वान्ता भई, शरीर सहनै नसक्ने गरी दुखेर, बेहोस भएर आउने र परीक्षण गर्दा डेंगु पुष्टि हुने गरेको छ । डा.पुन भन्नुहुन्छ,“डेंगुका बिरामीको भर्नादर धेरै नभए पनि,जोर्नी दुखेर, शरीर धेरै दुखेर बिरामी आउने गर्दछन् । रगत परीक्षण गर्दा डेंगु पुष्टि हुने क्रम बढ्दो छ ।” धेरै सङ्क्रमित अस्पतालसम्म नपुगेको हुनसक्ने उहाँको तर्क छ । 

 यही तरिकाले डेंगु बढ्दै गएमा दशैंमा डेंगु भयावह हुन सक्ने उहाँको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन उहाँको सुझाव छ ।  दशैँको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुको जोखिम नबढ्ने डा.दाहाल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ,“लगभग सबै जिल्लामा डेंगु पुष्टि भइसकेको छ । दशैँमा सबै एकै ठाउँमा भेला भएको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्छ ।”


डेंगु कस्तो रोग हो ?

डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताउनुभयो । उहाँ भन्नुहुन्छ,“डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ ।” एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन ।  सङ्क्रमण भएको चारदेखि १० दिनसम्माम सामान्यतया डेंगुका लक्षण देखिन्छन् । 

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरु दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन् ।  डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः सङ्क्रमित गराए विगतको भन्दा थप घातक लक्षण देखिने डा.पुन बताउनुहुन्छ । 

डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्ने हो । डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाह बिना कुनै पनि औषधीको सेवन नगर्ने डा.पुनको सुझाव छ ।  बिरामीलाई असाध्यै जोर्नीमा अत्यन्त दुःखाइ भएमा, तारन्तार वान्त भएमा, आलस्य धेरै भएमा गम्भीर स्वास्थ्य समस्या निम्तिने हुँदा तुरुन्तै अस्पतालमा जान डा. पुनको सुझाव छ । 

घरमानै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम जीउ दुख्न कम गर्नको लागी प्यारासिटामोल खान डा.पुनको सुझाव छ । बिरामीले झोलिलो खानेकुरा प्रसस्थमा खान उहाँको आग्रह छ । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन,सुत्दा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।