• ११ असोज २०८१, शुक्रबार

डेङ्गुबाट एकको मृत्यु, २४ मा सङ्क्रमण

blog

मीना कंडेल

कावासोती, भाद्र ५ गते । पूर्वी नवलपरासीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –७ का ६४ वर्षीय पुरुषको बुटवल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका किटजन्य रोग फोकल पर्सन डिल्लीराम तिवारीले असारको दोस्रो हप्तादेखि हालसम्म प्राप्त तथ्याङ्कअनुसार २४ जनामा यो रोगको पहिचान भएको बताउनुभयो । 

जिल्लाभित्रका स्वास्थ्य संस्थामा परीक्षण गराएकामध्ये १३ जना पुरुष र ११ जना महिलामा रोग पुष्टि भएको हो । जसमा बिनयीत्रिवेणीमा सात जना, हप्सेकोटमा आठ, देवचुलीमा तीन जना, मध्यविन्दुमा एक जना, गैडाकोटमा चार जना र बुलिङटारमा एक जनागरी २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नवलपुरबाट अधिकांश चितवनलगायत जिल्ला बहिर समेत परीक्षणका लागि जाने र जिल्लाभित्रका पोलिक्लिनिक लगायतका निजी अस्पतालको रेकर्ड प्राप्त हुन नसकेकाले यो अझै बढ्न सक्ने उहाँले बताउनुभयो । विशेषगरी भदौ र असोजमा डेङ्ग रोग बढी देखिने गर्दछ । 

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्छ । वर्षातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ । यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ । 

डेङ्गु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन् ।  यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो ।