• ६ पुस २०८१, शनिबार

शिलान्यास भएको चार वर्षमा आठ आधारभूत अस्पताल

blog

फाइल तस्विर

काठमाडौं, असोज ४ गते । शिलान्यास भएको  चार वर्ष पुग्दा पनि निर्माण हुन सकेनन् आधारभूत अस्पताल । आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसङ्ख्याका आधारमा हरेक स्थानीय तहमा पाँच देखि १५ शय्याका आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्ने उल्लेख भएबमोजिम २०७७ साउन २८ गते  ३९६ र पुस १२ गते २६१ गरी ६५७ वटा अस्पताल निर्माण गर्न सुरु गरिएको थियो । 

आधारभूत अस्पताल नभएका ७५३ मध्ये ६५७ स्थानीय तहमध्ये पहिलो चरणमा ३९६ वटा र दोस्रो चरणमा २६१ स्थानीय तहमा पूर्वाधार र तयारी बिना तामझामका साथ शिलान्यास गरिएको थियो। आधारभूत अस्पतालबाट दुई वर्षमा निर्माण सम्पन्न गरी सेवा दिने सरकारको उद्देश्य थियो। 

मन्त्रालयको नीति योजना महाशाखाका अधिकृत सूर्यबहादुर थापाले ६५७ आधारभूत अस्पतालमध्ये आठवटा मात्रै निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । ४२३ वटा अस्पताल निर्माणाधीन अवस्थामा रहेको उहाँको भनाइ छ । 

निर्माण सम्पन्न भएका आठ अस्पतालमध्ये चार वटा १० शय्याका,  तीन वटा १५ शय्याका र एक वटा पाँच शय्याका रहेका छन् ।

उहाँका अनुसार हरेक वर्ष निर्माणाधीन आधारभूत अस्पताललाई बजेट छुट्याउने गरिए पनि विभिन्न कारणले गर्दा लक्ष्यअनुसार ती अस्पताल बन्न नसकेको थापाले जिकिर गर्नुभयो । 

निर्माण सम्पन्न अस्पताल 

निर्माण सम्पन्न भएका आठ अस्पतालमध्ये चार वटा १० शय्याका,  तीन वटा १५ शय्याका र एक वटा पाँच शय्याका रहेका छन् । योजना शाखाका अधिकृत थापाका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिकाको खोकु स्वास्थ्यचौकीलाई १० शय्याको अस्पतालमा रुपान्तरण गरी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको पाँच शय्याको खिजीफलाटे स्वास्थ्य चौकी अस्पताल, नुवाकोटको तारकेश्वर नगरपालिकाको तत्कालीन दानसिंह १० शय्याको स्वास्थ्यचौकी निर्माण गरी हस्तान्तरण गरिएको छ। 

यस्तै, स्याङजाको आँधीखोला गाउँपालिकाको सेतिदोभान १५ शय्याको स्वास्थ्यचौकी, सिन्धुपाल्चोकको सुनकोशी नगरपालिकामा १० शय्याको आधारभूत अस्पताल, कञ्चनपुरको लालझाडी गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल, कैलालीको बर्दगोरिया गाउँपालिकामा दोधारा आधारभूत अस्पताल र दाङको राप्ती गाउँपालिकामा सिसहनिया आधारभूत अस्पताल निर्माण सम्पन्न भएर स्थानीय तहमा हस्तान्तरण भइसकेको छ।

यी आठवटा अस्पतालमध्ये दुई वटा (भारतीय दूतावासको र पुनर्निर्माण प्राधिकरणको सहयोगमा) निर्माण सम्पन्न भएका छन् । छ वटा अस्पताल स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएर स्थानीय तहमा हस्तान्तरण भएको थापाले जानकारी दिनुभयो । 

३९६ वटालाई मात्र बजेट सुनिश्चितता

मन्त्रालयको योजना शाखाका अधिकृत सूर्यबहादुर थापाका अनुसार स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना (३९६) तथा स्तरोन्नती गर्न सरकारले ५१ अर्व ८४ करोड ५५ लाख  ८९ हजार बजेट सुनिश्चितता गरेको छ । 

यसरी स्रोत सुनिश्चित भएकामध्ये ८ वटा अस्पतालको निर्माण सम्पन्न भएर स्थानीय तह सरकारलाई हस्तान्तरण गरिएको हो ।  ३८८ वटा अस्पतालको स्रोत सुनिश्चित भए पनि निर्माण सम्पन्न भएको छैन। हालसम्म अझै पनि २६१ वटा अस्पतालको निर्माणका लागि स्रोत सुनिश्चितता भएको छैन। यी अस्पतालहरूलाई तीन अर्ब २४ करोड ५६ लाख ९७ हजार रुपियाँ बजेट आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । 

आधारभूत अस्पतालको दरवन्दी 

यी अस्पतालको भौतिक संरचना पूरा नभए पनि सरकारले हाल निर्माण भइरहेका स्थानीय तहका आधारभूत अस्पतालको संगठनात्मक संरचना र दरबन्दी भने स्वीकृत गरिसकेको छ। उक्त दरबन्दीमा पाँच शय्याको आधारभूत अस्पतालका लागि एक मेडिकल अधिकृत, चार स्टाफ नर्स, डेन्टल हाइजिनिस्ट, नायब सुब्बा र सरसफाइकर्मी १-१ जना, तीन जना हेल्थ असिस्टेन्ट, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन‚ रेडियोग्राफर र फार्मेसी सहायक गरी १८ जनाको दरबन्दी व्यवस्था गरिएको छ। 

अस्पतालको भौतिक संरचना पूरा नभए पनि सरकारले हाल निर्माण भइरहेका स्थानीय तहका आधारभूत अस्पतालको संगठनात्मक संरचना र दरबन्दी भने स्वीकृत गरिसकेको छ।

१० शय्याको आधारभूत अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा स्टाफ नर्स पाँच, अधिकृत दुई, हेल्थ असिस्टटेन्ट तीन र कार्यालय सहयोगी चार, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन‚ रेडियोग्राफर‚ फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट र नायब सुब्बा १-१ जना र सरसफाइकर्मी दुईजना गरी २२ जनाको दरबन्दी रहने उल्लेख छ।

१५ शय्याको अस्पतालका लागि भने नवौँ वा दशौँ तहको मेडिकल अधिकृतको नेतृत्वमा दुई मेडिकल अधिकृत, ६ स्टाफ नर्स र चार हेल्थ असिस्टेन्ट रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।