• २४ मङ्सिर २०८२, बुधबार

आठमध्ये एक बालबालिका अनलाइन यौन शोषणको जोखिममा

blog

राष्ट्रिय महिला आयोगले निःशुल्क हेल्पलाइन (११४५)सेवाको आठौँ स्थापना दिवसमा आयोजित कार्यक्रममा सहभागी।

काठमाडौँ, मङ्सिर २४ गते । अनलाइन प्रयोगकर्ता आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको शिकार हुने गरेका छन् । 

राष्ट्रिय महिला आयोगले १६ दिने लैङ्गिक हिंसाको अन्तिम दिनको अवसरमा निःशुल्क हेल्पलाइन (११४५) सेवाको आठौँ स्थापना दिवसमा आयोजित कार्यक्रममा साइबर ब्युरोका प्रहरी निरीक्षक राधिका  ठकुरीले अनलाइन प्रयोगकर्ता आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको शिकार हुने जानकारी दिनुभयो । 

उहाँ भन्नुहुन्छ, “अनलाइन यौन शोषण विश्वव्यापी समस्याका रुपमा देखिएको छ । नेपालमा उजुरी तथा पछिल्ला अध्ययनबाट हामीले के थाहा पायौँ भने अनलाइन प्रयोगकर्ता आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको शिकार हुन्छन् । ”

उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ जनाले साइबर हिंसा सम्बन्धी उजुरी दर्ता भएका थिए । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा हालसम्म छ हजार ८२६ जनाले उजुरी दर्ता भएका छन् । यस किसिमको अपराधबाट बढि बालबालिका प्रभावित हुने गरेको उहाँको भनाइ छ । 

उहाँका अनुसार यस्तो समस्याले पीडितलाई लामो समयसम्म गम्भीर प्रभाव पार्न सक्छ । अनलाइन यौन दुर्व्यवहार र शोषणका घटनापछि बालबालिका तनाव तथा चिन्तित अवस्थामा देखिने, उदासीपन र खिन्नता महसुस हुने, अनुहार मलिन तथा थाकेको जस्तो हुने, आत्मविश्वासमा कमी, डराउने र तर्सिने, एकोहोरो हुने, अरूलाई घृणा गर्ने र झस्कने, रुने तथा कराउने र अस्वाभाविक व्यवहार देखाउने, आक्रामक व्यवहार देखाउने, झर्कने र रिसाउने, बोल्दै नबोल्ने वा धेरै बोल्ने जस्ता समस्या देखिने गरेको उहाँको भनाइ छ । 

बालबालिकालाई लक्षित दुर्व्यवहार, ब्यालकमेल, अनुचित सामग्री पठाउन जस्ता क्रियाकलाप बढ्दै गएकाले यस्ता जोमिखबाट बचाउन अभिभावक, विद्यालय सचेत रहन उहाँले आग्रह गर्नुभयो । 

आयोगले सञ्चालनमा ल्याएको निःशुल्क हेल्पलाइन ११४५ आर्थिक वर्ष २०८२/८३ साउन महिना देखि असोज मसान्तसम्म ७३९ वटा महिला हिंसा विरुद्धका उजुरी दर्ता भएको आयोगका सविता बडालले जानकारी दिनुभयो ।

घरेलु हिंसाका ९७ वटा उजुरी दर्ता भएको उहाँको भनाइ छ । सोही क्रममा आयोगले ११५ जनालाई परामर्श सेवा प्रदान गरेको थियो । आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक हिंसा, दाइजो, योनजन्य हिंसा, साइबर हिंसा पिडित महिला, अवसरबाट बञ्चित महिला, बालबालिकाको लागि आयोगले आठ वर्ष अगाडी निःशुल्क हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 

आयोगले निःशुल्क हेल्पलाइन सेवाबाट ३६५ दिन नै २४ घण्टा यो सेवा प्रवाह गरेको उहाँको भनाइ छ । आयोगले विशेषगरी उजुरी तथा उजुरी व्यवस्थापन शाखामा हेल्पलाइनमा आएका समस्या पहिचान गरेर समास्याको समाधान गर्ने गरेको उहाँका भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “जातिय ,धनी गरिब सबैले लैङ्गिक हिंसा सम्बन्धी उजुरी आउने गरेका छन् । उजुरी शाखामा हिंसाबाट विक्षिप्त मानसिक लिएर आएका दर्जनौँ समस्या सुनेर यो शाखामा कार्यरत साथीहरुले आफ्नो समस्या जस्तै गरेर समाधान गर्नुहुन्छ । ” 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।