• २ पुस २०८२, बुधबार

अदृश्य पीडा : मौनताभित्र कैद मानसिक स्वास्थ्य

blog

काठमाडौँ, पुस २ गते । नेपालमा मानसिक स्वास्थ्य समस्या र सेवा उपलब्धता तथा उपभोगको अवस्था चिन्ताजनक छ । नेपालमा १० जना मध्ये आठ जना भन्दा बढी मानिसले आफूले चाहेको स्वास्थ्य सेवा नपाएको गुनासो गर्ने गरेका छन् । 

नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा.पुमावती थापाले सामाजिक डर, लाज र गलत बुझाइ, लाञ्छना र अन्धविश्वासका कारण धेरै मौन बस्न बाध्य भएको बताउनु हुन्छ । 

गरिबी, बेरोजगारी, लैङ्गिक तथा सामाजिक भेदभाव समाजिक दबाब र अज्ञानताले मानसिक स्वास्थ्य समस्यालाई जटिल बन्दै गएको डा. थापाको बुझाइ छ । उहाँ भन्नु हुन्छ, “हाल नेपालमा जनसङ्ख्याको ४.३ प्रतिशत वयस्कमा कुनै न कुनै किसिमको मानसिक समस्या भए पनि सामाजिक डर, लाज र गलत बुझाइका कारण मौन बस्न बाध्ये छन् ।”

 सन् २०१९ को तथ्याङ्क अनुसार विश्वमा एक अर्ब मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्याबाट गुज्रिरहेका छन् । त्यसमध्ये, करिब ८० प्रतिशत भन्दा बढी मानिसहरू नेपाल जस्ता न्यून र मध्य आय भएका देशबाट छन् । 

नेपालमा सन् २०२० मा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले नेपालमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् ।

 सोही तथ्याङ्क अनुसार पाँच प्रतिशत बालबालिका तथा किशोर किशोरीहरू कुनै न कुनै किसिमको मानसिक समस्या हुने गरेको छ । 

‘मानसिक स्वास्थ्य समस्या कमजोरी होइन’ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले पूर्णरूपमा स्वस्थ र आरोग्य जीवनका लागि शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि उतिकै महत्त्वपूर्ण रहेको बताउनु हुन्छ ।

मानसिक स्वास्थ्य हाम्रो सोच व्यवहार सम्बन्ध र समग्र जीवनको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिने डा. देवकोटाको भनाइ छ। डा. देवकोटाले मानसिक स्वास्थ्य समस्या कमजोरी नभई अन्य शारीरिक रोगजस्तै उपचार योग्य रहेको बताउनु हुन्छ । मानसिक स्वास्थ्य बिग्रिएमा उत्पादकत्वमा ह्रास आउनुका साथै परिवार, समाज र राष्ट्रलाई नोक्सान पुग्ने गर्छ । मानसिक स्वास्थ्य समस्या भएकालाई भेदभाव नगर्न र हुन नदिन उहाँको आग्रह छ । 

मानसिक समस्या भएको कसरी थाहा पाउने ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानसिक स्वास्थ्य समस्या भनेको व्यक्तिको सोच भावना, व्यवहार र दैनिकीमा नकारात्मक असर पर्ने अवस्था हो ।यस्तो समस्याले सामान्य जीवनयापन गर्न कठिन बनाउँछ।

विश्व स्वास्थ्य सङ्गठनका मानसिक रोग विशेषज्ञ डा. केदार मराठ्ठका अनुसार मानसिक रूपमा स्वस्थ हुनु भनेको मानसिक रोग मात्र नभएर आफ्नो व्यक्तिगत क्षमता बुझेर जीवनको दैनिक तनावलाई सामना गर्दै ऊर्जाशील सामाजिक जीवन जिउन सक्नु हो । 

मानसिक रूपमा स्वस्थ हुनु भनेको शारीरिक रूपमा स्वस्थ हुनुका साथसाथै भावनात्मक, मनौवैज्ञानिक र सामाजिक रूपमा स्वस्थ हुनु हो । मानसिक स्वास्थ्यले शरीरको एक तिहाइ भाग ओगटेको उहाँ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ, “शारीरिक र मानसिक हिसाबले स्वस्थ हुन जरुरत छ । शारीरिक रूपमा बिरामी भएमा तुरुन्त अस्पताल जाने गर्दछन् । 

तर, सामान्य मानसिक समस्या उत्पन्न्न भयो भने समाजले थाहा पाउँछ कि भनेर समस्या लुकाउन प्रचलन छ । दम वा मधुमेह भएका बिरामीलाई डिप्रेसनको सम्भावना दुईदेखि तीन गुण बढी हुन्छ। जटिल प्रकारका मानसिक स्वास्थ्य समस्या हुँदा उपचार नपाएमा व्यक्तिको मृत्यु १० देखि २० वर्ष अगाडि हुने डा.मराठ्ठ बताउनु हुन्छ । 

मानसिक समस्या विशेषगरी जैविक, मनोवैज्ञानिक र सामाजिक कारणले गर्दा निम्तने उहाँ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ, “सामाजिक, आर्थिक, मनोसामाजिक, राजनीतिक, तनावग्रस्त जीवनशैली, लागु औषधको प्रयोग, एक्लोपन, वातावरणीय कारणले मानसिक समस्या उत्पन्न हुने गर्छ ।” 

चिन्ता, डर, उदासिनता, छारे रोग, मदिरा तथा सुर्तिजन्य पदार्थका समस्या, बालबालिकाको विकास, व्यवहार र भावना सम्बन्धी समस्या अल्जाइमर, आत्महत्या मानसिक समस्यामा पर्छन् । 

 लक्षण 

डा.मराठ्ठका अनुसार टाउको, ढाड, घाँटी, काध दुख्ने, पेट खराब हुनु, मांसपेशीहरू कडा हुनु, घाँटीमा केहि अड्किएको जस्तो हुने, छाती भारी हुने भोक नलाग्नु जस्ता लक्षण देखिन्छन् ।

मानसिक समस्या भएमा ध्यान केन्द्रित गर्न नसक्नु, सजिलै रिस उठ्नु, चुपचाप बस्न नसक्नु, रुनु, निन्द्रा नलाग्नु, दुःखी महसुस हुने, चिन्ता लाग्नु, थकान महसुस हुनु, खान मन नलाग्नु वा अत्याधिक खाना खानु।, विगतका नराम्रा कुरा वा भविष्यका बारेमा नसोच्नु, दैनिक क्रियाकलाप गर्न नसक्ने जस्ता लक्षण देखिने डा.मराठ्ठको भनाइ छ । 

उपचार 

मानसिक स्वास्थ्यका लक्षण दुई हप्ता भन्दा बढि समयसम्म देखा परेमा मनोचिकित्सकसँग परामर्श गर्न डा. मराठ्ठको सुझाव छ । मानसिक समस्या समयमानै पहिचान गरेर परामर्श वा उपचार गरेर नियमित औषधी सेवन गरेमा मानसिक स्वास्थ्य समस्या पूर्णरूपमा निको बनाउन सकिने डा. मराठ्ठ बताउनु हुन्छ । मानसिक स्वास्थ्यका लक्षण समानै पहिचान गरेर व्यवास्थापन गर्न सकेमा आत्महत्याका घटना रोक्न सकिन्छ ।

 बच्ने उपाय 

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले तनाव व्यवस्थापन गर्न सकिने बताउनु हुन्छ ।मानसिक समस्या भएका मानिसको कुरा ध्यानले सुनिदिँदा पनि उनीहरूको मन हल्का हुने उहाँको भनाइ छ । 

उहाँका अनुसार तनाव कम गर्न पर्याप्त निन्द्रा, नियमित स्वस्थ खाना र विश्राम गर्ने, नियमित रूपमा व्यायम योग, ध्यान वा आफूलाई मन पर्ने क्रियाकलाप गर्न उहाँको सुझाव छ । 

उहाँ भन्नुहन्छ,“समयको सदुपयोग गर्ने।, घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हुने, नियमित रूपमा शारीरिक व्यायाम तथा ध्यान गर्ने ।, मदिरा तथा लागु पदार्थ सेवन नगर्ने ।,पर्याप्त मात्र सुत्ने, नयाँ सिप सिक्ने र प्रयोग गर्ने गर्दा पनि मानसिक समस्याबाट बच्न सकिन्छ ।” 

तनाव व्यवस्थापन गर्न गाह्रो परेमा वा मानसिक समस्या देखिएमा मनोचिकित्सक वा मनोविदसँग परामर्श दिन उहाँको सुझाव छ । सरकारले मानसिक स्वास्थ्य समस्या भई मनोसामाजिक परामर्श चाहिएमा २४ घण्टा निःशुल्क परामर्श दिन ११६६ नम्बर उपलब्ध गराएको छ । मनमा नकारात्मक विषय आएमा यो नम्बर(११६६) मा फोन गर्दा निःशुल्क परामर्श दिने गरिन्छ ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।