• १ असोज २०८१, मङ्गलबार

मनकामना केबुलकार आजबाट सञ्चालनमा

blog

गुणबहादुर रोका

सुलीकोट, असोज १ गते । मनकामना केबलकार आजबाट पुनः नियमित रुपमा सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले असार ३१ गतेबाट केबुलकार स्तराेन्नतिको लागि भन्दै २ महिना लामो मर्मत सभ्भारपछि आज मङ्गलबारबाट सञ्चालनमा आएको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो । 

उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तराेन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य भएकाले असार ३१ गतेदेखि भदौ मसान्तसम्म मनकामना केबलकार बन्द गरेको थियो । 

२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तराेन्नति गर्ने कार्य सम्पन्न भई सञ्चालनमा ल्याइएको मनकामना केबलकार प्रालिले जनाएको छ । 

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई दृष्टिगत गर्दै अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष इन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्रणालीमा रुपन्तरण गर्ने कार्य सम्पन्न भई मनकामना केबुलकार नियमित सुचारु भएको नायब महाप्रबन्धक उज्जल सेरचनको भनाइ छ ।