• १ असोज २०८१, मङ्गलबार

पीडित परिवारले पाए राहतको रकम

blog

राजु लामिछाने

रुकुमपश्चिम, असोज १ गते । रुकुमपश्चिममा मनसुनजन्य विपत्मा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता (राहत) वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विपत्मा परी ज्यान गुमाएका छ जनाका परिवारलाई ११ लाख बराबरको राहत प्रदान गरेको हो । बाढी तथा पहिरोका कारण मृत्यु भएका पाँच जना र एक जना बेपत्ता व्यक्तिका परिवारका नजिकका कानुनी हकवालालाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

आठबिसकोट नगरपालिका–१२ की मनीषा सार्की, सोही वडाकै एकै घरका धनिसा पुन र हितमाया पुन, चन्द्रबहादुर पुन, मुसीकोट नगरपालिका–७ का तेजबहादुर बुढाका परिवारलाई नियमानुसारको राहत प्रदान गरिएको हो । प्रजिअ पन्तका अनुसार खोलाले बगाएर बेपत्ता हुनुभएका आठबिसकोट नगरपालिका–१२ का डिल्लीबहादुर बुढाथोकीका परिवारलाई पनि दुई लाख रुपियाँ राहत उपलब्ध गराइएको छ । एकै घरका दुई जनाको हकमा तीन लाख र अन्य चार जनाको हकमा जनही दुई लाखका दरले गरी कुल ११ लाख रुपियाँ राहत प्रदान गरिएको उहाँको भनाइ छ । यी सबै व्यक्ति खोलामा आएको बाढीले बगाएर ज्यान गुमाएका तथा बेपत्ता भएका हुन् । 

विपत् पीडित राहत र उद्धारसम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ को दफा २ को (क) बमोजिम र बेपत्ताको हकमा राहत उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१ असार ३१ गतेको निर्णय अनुसार राहत उपलब्ध गराइएको हो । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले समेत राहत वितरण कार्यलाई अनुमोदन गर्नुका साथै बाढीका कारण मृत्यु भएका थप दुई जनालाई तत्काल राहत दिने निर्णय गरेको छ । भदौ २३ गते मुसीकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रम्माखोलाले मोटरसाइकल बगाउँदा ज्यान गुमाएका वडा नं. ६ कानेवाङकी ३२ वर्षीय निर्मला केसी थापा र वडा नं. ४ ठाराढुङ्गाका ५२ वर्षीय सर्जन पुनका परिवारलाई जनही दुई लाखका दरले राहत प्रदान गरिने भएको हो ।