• २६ चैत २०८१, मङ्गलबार

लोकतन्त्र र गणतन्त्रको रक्षा गरौँ : अध्यक्ष केसी

blog

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।

काठमाडौं, चैत २५ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नुपर्ने तर सङ्घीयता हटाउनुपर्ने मुख्य नाराका साथ चैत २४ गतेदेखि काठमाडौं केन्द्रीत प्रदर्शन जारी राखेको छ । 

अध्यक्ष केसीले गोरखापत्र अनलाइनसँग कुरा गर्दै लोकतन्त्र कसैले बक्सिस दिएको नभइ नेपाली जनताले ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्र बचाउनुपर्छ, गणतन्त्रलाई रक्षा गर्नुपर्छ र सङ्घीयता हटाउनुपर्छ । यही बेलामा राजावादीले प्रदर्शन गर्ने, लोकतन्त्र, गणतन्त्रलाई सिध्याउने किसिमले आँट गरिरहेका छन् । लोकतन्त्र नेपाली जनताले ल्याएको हो । कसैले बक्सिस दिएर ल्याएको लोकतन्त्र, गणतन्त्र होइन ।”

उहाँले गणतन्त्र प्राप्तिमा सङ्घर्ष गरेका राजनीतिक दल र नेताहरुले सत्ता र शक्तिको दुरुपयोग गरेको बताउनुभयो । यी दलहरु सच्चिनुपर्ने दबाब नेपाली जनताले दिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “लोकतन्त्र, गणतन्त्र प्राप्तिमा सङ्घर्ष गरेका साथीहरुले सत्ता, शक्तिको दुरुपयोग गरेको कुरा सत्य हो । हामीले त्यसको आलोचना, विरोध गरेका छौं । उहाँहरु सच्चिनुपर्छ भन्ने कुरामा जनताको दबाब पनि छ ।”

उहाँले सङ्घीयता नेपालका लागि धेरै बोझिलो भएकोले संविधान संशोधन गरेर हटाउनुपर्ने विचार राख्नुभयो । 

उहाँले भन्नुभयो, “सङ्घीयता नेपालको लागि धेरै बोझिलो भयो, राज्यले यो धान्न सक्दैन । त्यसकारण, संविधान संशोधन गरेर प्रदेश हटाउनुपर्छ । प्रदेशको प्रशासनिक संरचना राखेर चाहिँ केही फरक पर्दैन ।”

उहाँले आफूहरुको आन्दोलन ध्वंसात्मक नभइ वैचारिक सङ्घर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आन्दोलन विल्कूलै शान्तिपूर्ण छ । राज्यलाई पनि हामीले जानकारी गराएका छौं । हाम्रो ध्वंसात्मक होइन, वैचारिक सङ्घर्ष हो । राष्ट्रिय जनमोर्चाले संविधान बनाउने बखतमै खर्चिलो हुन्छ, यो सकिन्न, त्यसहुनाले संविधानमै यो नराखौं भनेर दुइटै संविधानसभामा मत राखेको हो । संविधान जारी गर्ने कुरामा हामी पनि लाग्यौं र हाम्रो हस्ताक्षर पनि छ ।”

राष्ट्रिय जनमोर्चाको आन्दोलन अहिलेको गणतान्त्रिक सङ्घीय व्यवस्थाविरुद्ध नै हो कि भन्ने जिज्ञासामा उहाँले सङ्घीयताको विरोध गर्नुको अर्थ गणतन्त्र र लोकतन्त्रको विरोध गर्नु नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली जनतालाई भ्रममा पार्न के भन्छन् भने सङ्घीयताको विरोध गर्नु भनेको गणतन्त्र, लोकतन्त्रको विरोध भनेर झुट्टा कुरा पनि गर्छन् । सङ्घीयता त नेपाली जनतालाई २०६२/६३ देखि जर्बजस्त भिडाएको न हो ।”

राष्ट्रिय जनमोर्चाले सोमबार काठमाडौंको सुकेधारा चोकमा भेला भइ निलोपुल–मिलनचोक–गोपीकृष्ण–चुच्चेपाटी–बौद्धमा जुलुससहित निकालिएको प्रदर्शन चाबहिल चोकमा सभामा परिणत भएको थियो । राष्ट्रिय जनमोर्चाले आन्दोलनको कार्यक्रम चैत ३० गतेसम्म जारी राख्ने बताएको छ ।