अविनाश चौधरी
धनगढी, चैत २५ गते । सुदूरपश्चिममा प्रदेशमा चिकित्सकको एक टोली क्यान्सर परीक्षणमा अग्रसर भएको छ । क्यान्सर अस्पताल भक्तपुरको टोलीले प्रदेशको विभिन्न जिल्लामा महिलाको पाठेघर र स्तन क्यान्सरको परीक्षण गरेको हो ।
यो प्रदेशमा महिलामा देखा परिरहेको पाठेघर र स्तन क्यान्सरको विकराल समस्यालाई मध्यनजर गरेर मुख्यमन्त्री कमलबहादुर शाहले अस्पातलका चिकित्सक टोलीलाई क्यान्सर परीक्षणका लागि आग्रह गर्नुभएको थियो ।
उहाँको आग्रहमा आएको टोलीले अछाम, डडेल्धुराको केही पालिकामा परीक्षण गरिसकेको छ । यसैगरी, भोलि कैलालीको बर्दगोरिया गाउँपालिकामा स्वास्थ्य चेकजाँच गर्ने तयारी गरिएको छ ।
यसैबिच, दुई जिल्लामा परीक्षण गरेर फर्केको चिकित्सकको टोलीसँग आज भेटघाट गर्नुहुँदै मुख्यमन्त्री शाहले दुई जिल्लाको पाठेघर र स्तन क्यान्सरको अवस्थाबारे जानकारी लिनु भएको छ । अछाममा २६० को पाठेघर र ३५० को स्तन क्यान्सरको परीक्षण गर्दा पाँच जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सरको शंका लागेको डा. वर्षा प्रसाईले बताउनुभयो ।
उहाँका अनुसार डडेल्धुरामा १५० महिलाको पाठेघर र १७० जनाको स्तन क्यान्सरको परीक्षण गरिएको थियो । जसमध्ये २० जनामा पाठेघर र त्यति नै जनामा स्तन क्यान्सरको आशंका गरिएको डा. प्रसाईको भनाइ छ । क्यान्सरको शंका लागेका केसलाई टोलीले थप उपचारको लागि रेफर गरेको छ ।
शिविरमा जाँचका लागि आएका करिब ८० प्रतिशतलाई पाठेघर र स्तन क्यान्सरको साधारण लक्षण देखिएकाले एक हप्तासम्मको लागि निःशुल्क औषधी दिएको चिकित्सक टोलीले जानकारी दिएको छ ।