• २६ चैत २०८१, मङ्गलबार

आठराई त्रिवेणी पालिका पूर्ण खोप सुनिश्चित घोषणा

blog

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रमको उद्घाटन गरिदै । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङ्लिङ, चैत २५ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमसाथ पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको पाँचवटै वडालाई पूर्ण खोप वडा घोषणा गरिएसँगै गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) ले बताउनुभयो । उहाँका अनुसार पालिकाको वडा नं १, वडा २ र ५ लाई गत चैत १३ गते पूर्ण खोप वडा घोषणा गरिएको थियो। 

यस्तै वडा ३ लाई चैत १४ गते र वडा ४ लाई चैत १२ गते पूर्ण खोप वडा घोषणा गरिएको थियो । वडा ५ भएको गाउँपालिकाले पूर्ण खोप पालिकाको घोषणा कार्यक्रममार्फत वडा र विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने अभियानको भूमिका निर्वाह गर्ने पाँच वटै वडालाई सम्मान गरिएको छ । 

यो सँगै सम्बन्धित स्वास्थ्य संस्था, प्रत्येक वडाका एक–एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र एक जना खोप स्वास्थ्य कार्यकर्तालाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष पोमूको अध्यक्षतामा सम्पन्न भएको पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ, जनस्वास्थ्य प्रमुख कुलबहादुर पौडेललगायतको उपस्थित थियो ।

एउटा नगरपालिका र आठवटा गाउँपालिका भएको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेको छ । यो सँगै ताप्लेजुङका दुईवटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको हो ।